
काठमाडौ । गैरआवासीय नेपाली संघको सातौ क्षेत्रीय सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै अष्ट्रेलियाको सिड्नीमा शनिबार सकिएको छ । सरकारले घोषणा गरेको लगानी वर्षको स्वागत गर्दै विश्वभर रहेका सबै नेपालीलाई सामेल हुन आह्वान गरेको छ । सम्मेलनले सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा समेत सामुहिक लगानीका माध्यमबाट गैरआवासीय नेपालीको लगानी भित्र्याउने प्रतिवद्धता समेत गरेको छ ।
सम्मेलनले नेपालमा रहेको उर्जा संकट कम गर्न गैरआवासीय नेपालीबाट सय मेगावाट जलविद्युत आयोजना निर्माणको लागि रकम संकलन कार्यलाई जारी राख्ने प्रतिवद्धता सम्मेलनले गरेको छ । सम्मेलनले विदेश जाने र पठाउने प्रक्रिया अव्यवस्थित हुँदा महिला दिदीबहिनीहरु विभिन्न शोषणमा परेको निष्र्कष निकाल्दै संघले तयार पारेको वैदेशिक रोजगारी गाइडबुक नेपालका सबै गाविसहरुमा निशुल्क वितरण गर्ने प्रतिवद्धता समेत गरेको छ ।
सम्मेलनले वैदेशिक रोजगारका क्षेत्रमा नीतिगत सुधारका लागि धेरै नेपाली जाने मुलुकमा श्रम सम्झौता गर्न सरकारलाई आग्रह गर्दै विदेशबाट ल्याएको सीपको उचित उपयोगको वातावरण बनाउन आग्रह गरेको छ । सम्मेलनले नेपालीहरु धेरै भएको देशमा आवासीय कुटनीतिक नियोग स्थापना गर्न आग्रह गर्दै गैरआवासीय नेपाली सम्वन्धी विषयहरु हेर्न सबै दूतावासमा एनआरएन डेक्स बनाउने सरकारको निर्णयको स्वागत गरेको छ ।
सातौं गैर आवासीय नेपाली संघ क्षेत्रीय सम्मेलनद्धारा जारी सिड्नी घोषणापत्र २०१२
गैर आवासीय नेपाली संघको सातौं क्षेत्रिय सम्मेलन २०६९ भाद्र १४ देखि भाद्र १६ (३० अगष्ट – १ सेप्टेम्बर २०१२) सम्म अष्ट्रेलियाको सिड्नी शहरमा भब्य रुपमा सम्पन्न भयो । समृद्ध नेपालका लागि लगानी र सृजनशीलता भन्ने मुल नारा रहेको यस सम्मेलनमा सहभागी अष्ट्रेलियन सरकारका अध्यागमन तथा नागरिकता मन्त्री क्रिस बावेन लगायतका उच्चपदस्थ अधिकारीहरु, नेपालका माननीय शिक्षा मन्त्री दिनानाथ शर्मा तथा उद्योग मन्त्री अनिल कुमार झा, भूतपूर्व गृहमन्त्री भिम रावल, नेपाल राष्ट्र बैंकका गर्भनर डा युवराज खतिवडा, राष्ट्रपतिका सल्लाहकार, प्रधानमन्त्रीका सल्लाहकार, अष्ट्रे्लियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपाल, नेपालका उच्च सरकारी अधिकारीहरु, नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकार लगायतका पदाधिकारीहरु, सञ्चारकर्मीहरु तथा गैर आवासीय नेपाली संघका १८ ओटा देशका झण्डै ५ सय प्रतिनिधिहरुका बिचारहरुलाई सम्मान गर्दै यो सम्मेलन निम्न प्रतिवद्धता सहितको सिड्नी घोषणापत्र–२०१२ जारी गर्दछ ।
१ नयाँ संविधान जारी नगरी संविधानसभा भंग भएको यस जटिल अवस्थालाई ह्दयगंम गर्दै निरन्तर संवाद, सहमति र सहकार्यको बाटोबाट नेपाल राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता, लोकतन्त्र एवं गणतन्त्रको संस्थागत विकास, मानव अधिकार र मौलिक अधिकारको प्रत्याभुति गर्ने संविधान जारी गर्न र शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षमा पु¥याउन यो सम्मेलन सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गर्दछ ।
२ नेपाल सरकारले सन् २०१२÷१३ लाई लगानी वर्षका रुपमा गरेको घोषणाको स्वागत र सम्मान गर्दै गैर आवासिय नेपालीहरुद्धारा सय मेघावाटसम्मको जलविद्युत आयोजना निर्माण गर्न रकम संकलन गर्ने काम भइरहेको छ । यस अभियानमा सामेल हुन बिश्वभरका सम्पुर्ण नेपालीहरुलाई यो सम्मेलन हार्दिक आह्वान गर्दछ । साथै सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रहरुमा समेत सामुहिक लगानीका माध्यमबाट गैर आवासिय नेपालीको लगानी भित्र्याउने प्रतिबद्धता ब्यक्त गर्दछ ।
३ गैर आवासीय नेपाली संघको योगदानको कदर गर्दै खुला विश्वविद्यालय निर्माण पुर्वाधार विकास समितिमा संघको प्रतिनिधिलाई समावेश गरेकोमा यो सम्मेलन नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दछ । संघ र समिति वीच यसै सम्मेलनमा हस्ताक्षर गरिएको सझौंतापत्रले दुवै पक्षको सहकार्यलाई अझ अगाडि बढाउने र खुला विश्वविद्यालय निर्माणमा गैर आवासीय नेपालीहरुको समान अवसर र निर्णायक भूमिका रहने विश्वास यस सम्मेलन गर्दछ ।
त्यस्तै नेपालमा खुला विश्वविद्यालय निर्माणमा प्राज्ञिक, प्राविधिक र भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्न गैर आवासीय नेपाली संघको मध्यस्थतामा खुला विश्वविद्यालय पुर्वाधार निर्माण विकास समिति र आथाबास्का विश्वविद्यालय क्यानाडाबीच यस सम्मेलनमा हस्ताक्षर भएको समझदारीपत्र र सम्मेलनमा उपस्थित भएर नेपालमा खुला विश्व विद्यालय स्थापन गर्न सहयोगको प्रतिबद्धधता गर्नु हुने अष्ट्रेलिया, क्यानाडा तथा बेलायतका खुला विश्व विद्यालयका प्रतिनिधिहरु प्रति यो सम्मेलन हार्दिक आभार व्यक्त गर्दछ । नेपाल सरकारले खुल्ला विश्वविद्यलयको स्थापनालाई छिटो अगाडि बढाउन भौतिक संरचना प्रदान गर्न गरेको प्रतिवद्धताको यो सम्मेलनले स्वागत गरेको छ ।
४ नेपालको विज्ञान र प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्याउन एक एन आर एन विज्ञान तथा प्रविधी स्थायि समितिको स्थापना गर्न र त्यस समिति अन्तर्गत एक साइन्स फाउण्डेशनको स्थापना गर्न यो सम्मेलन निर्णय गर्दछ । यस फाउण्डेसनका लागि आर्थिक सहयोग गर्नेहरु प्रति हार्दिक आभार व्यक्त गर्दै नेपालको विज्ञान तथा प्रविधि क्षेत्रसंग संबन्धित विभिन्न निकायहरुसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछ ।
५ गैर आवासीय नेपाली संघका विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदद्वारा नेपालमा लोककल्याणकारी र सामाजिक क्षेत्रमा यस वर्ष दुई करोड भन्दा बढीको योगदान गर्ने राष्ट्रिय समन्वय परिषदहरु तथा सहयोगदाताहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछ । साथै आफ्नो कार्यकालमा कम्तिमा एक सामजिक तथा लोककल्याणकारी परियोजना सम्पन्न गर्न सबै राष्ट्रिय समन्वय परिषदहरुलाई अपील गर्दछ । यहि आउदो अक्टोवर महिनामा गैर आवासीय नेपाली दिवस मनाउने क्रममा नेपालका पाचै विकास क्षेत्रमा सामाजिक र कल्याणकारी कार्यक्रमहरु घोषणा गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।
६। नेपाल लगानी बोर्ड, गैर आवासीय नेपाली सल्लाहकार बोर्ड, प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद् लगायतमा यस संघका अध्यक्षलाई सदस्यको रुपमा मनोनित गर्ने नेपाल सरकारको निर्णयलाई यो सम्मेलन हार्दिक स्वागत गर्दछ । यस्तो भुमिकाले संसारभरि छरिएका गैर आवासीय नेपालीहरुलाई समृद्ध नेपाल बनाउने अभियानमा सामेल हुन थप हौसला मिलेको ठहर गर्दै देशले दिएको यो सम्मानलाई सार्थकतामा परिणत गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।
७ देश बाहिर बस्ने नेपालीहरुका लागि नेपालको निर्वाचनमा विदेशी भुमीबाटै मतदानको ब्यवस्था गर्ने संभावनाको अध्ययन गर्न निर्वाचन आयोगले थालेको पहलको स्वागत गर्दै यो सम्मेलन उक्त कदमलाई पूर्ण रुपले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ र उक्त संभावनाको अध्ययन गर्न बनेको समितिमा संघको अध्यÔलाई सदस्यमा मनोनित गर्ने आयोगको निर्णयको लागि धन्यवाद व्यक्त गर्दछ ।
८ नेपाल सरकारले आर्थिक कुटनीतिलाई आफ्नो परराष्ट्र नीतिको एक अभिन्न अंगको रुपमा अघि सारेको परिपे्रक्षमा विदेशस्थित नेपाली नियोगहरुले नेपालको पर्यटन, व्यापार, लगानी तथा वैदेशिक रोजगार प्रवद्र्धन जस्ता क्षेत्रमा गैर आवासीय नेपालीको संलग्नता सशक्त र दिगो पार्दै लैजान निर्वाह गरिरहेको भुमिकाको यो सम्मेलन हार्दिक प्रशंसा गर्दछ । नेपालको आर्थिक कुटनीतिलाई सफल बनाउन गैर आवासीय नेपाली संघको संजाललाई पूर्णरुपमा परिचालन गर्ने प्रतिवद्धता ब्यक्त गर्दछ ।
९ नेपालको पर्यटन प्रवर्धनमा गैर आवासीय नेपालीहरुको विशेष भुमीका रहने कुरालाई आत्मसात गर्दै गैर आवासीय नेपाली संघका शाखा रहेका सबै देशमा पर्यटन प्रवद्धन सम्बन्धी कार्र्यक्रम गर्न र नेपालको पर्यटन बिकासमा सहयोग गर्न सबैमा यो सम्मेलन आह्वान गर्दछ । यसै क्रममा यस सम्मेलन पछि सिड्नीमा सम्पन्न हुन गइरहेको नेपाल महोत्सवको सफलताका लागि शुभकामना ब्यक्त गर्दै यो सम्मेलन अन्य देशहरुमा पनि यस्तै खालका कार्यक्रमको आयोजना गर्न संघका राष्ट्रिय समन्वय परिषद्हरुलाई आग्रह गर्दछ ।
१० वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सले नेपाली अर्थतन्त्रको गतिशिलतालाई कायम राख्नुका साथै मुलुकको गरिवी निवारणमा समेत उल्लेख्य योगदान दिइरहेता पनि अल्पकालीन रोजगारीकालागि विदेश जाने र पठाउने प्रक्रिया अव्यवस्थित रहेको तथा महिला दिदीबहिनीहरु विदेशमा विभिन्न खाले शोषणको शिकार हुनुपरिरहेका घटनाहरुप्रति यो सम्मेलन गम्भीर चासो र चिन्ता व्यक्त गर्दछ । गैर आवासीय नेपाली संघले विदेशमा अलपत्र परेका, ठगिएका नेपालीहरुको उद्दारमा सक्दो भुमिका निर्वाह गर्दै आईरहेको र विशेषतः आफु जाने देशका बारेमा आवश्यक सूचनाको अभावमा नै धेरै नेपालीले विदेशमा दुःख पाएको देखिएकाले त्यस्तो समस्याको न्युनिकरणका लागि संघले तयार गरेको वैदेशिक रोजगारी गाइडबुक नेपालका सबै गाविसहरुमा निःशुल्क वितरण गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ ।
११ वैदेशिक रोजगारका क्षेत्रमा नीतिगत सुधारका लागि नेपालीहरु ठूलो संख्यामा रोजगारीमा जाने सवै देशसंग दुईपक्षीय श्रम सम्झौताको लागि सरकारसंग पहल गर्नुकासाथै राज्यको कुनै योगदान बिना नै विदेशको अल्पकालीन रोजगारीबाट सीप आर्जन गरेर फर्किएको दक्ष जनशक्तिको उचित उपयोग गर्ने वातावरण बनाउन यो सम्मेलन नेपाल सरकारसंग आग्रह गर्दछ र नेपालीहरुको संख्या धेरै भएका देशमा आवासीय कुटनीतिक नियोगको स्थापना गर्ने सरकारको प्रतिवद्धता स्मरण्ँ गराउदै गैर आवासीय नेपाली सम्वन्धी विषयहरु हेर्न सबै दुतावासमा एन आर एन डेक्स बनाउने परराष्ट्र मन्त्रालयको कदमलाई हादिर्क स्वागत गर्दछ ।
१२ विश्वभरिका नेपाली समुदायको आग्रह बमोजिम अन्य मुलुकको नागरिकता लिंदा नेपालको नागरिकता खारेज हुने अहिलेसम्मको कानुनी प्रावधान अन्त्य गरी संबैधानिक रुपमानै एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्था गर्न यो सम्मेलन सम्पुर्ण राजनीतिक दलहरुलाई पुनः आग्रह गर्दछ ।
१३ गैर आवासीय नेपालीहरुको महान अभियानलाई दिगो बनाई राख्न दोस्रो पुस्ताका एन आर एनहरुलाई समेटिने गरी गैर आवासीय नेपाली संघको युवा संयोजक मार्फत कार्यक्रमहरु अघि बढाउन सवै राष्ट्रिय समन्वय परिषदहरुलाई अनुरोध गर्दछ ।
१४ अष्ट्रेलियन सरकारका अध्यागमन तथा नागरिकता मन्त्री क्रिस बावेनले यस सम्मेलनमा उपस्थित भई अष्ट्रेलियामा रहेका नेपाली समुदाय प्रति देखाउनु भएको सद्भावको प्रसंसा गर्दछ ।
१५ यस सम्मेलनलाई भव्यतापुर्वक सम्पन्न गर्न मुख्य भुमिका निर्वाह गर्ने गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद अष्ट्रेलिया तथा स्थानीय नेपाली समुदायप्रति यो सम्मेलन हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।
धन्यवाद ।
१ सेप्टेम्वर, २०१२