विद्युतीय चार्जिङ स्टेसनलाई चिनियाँ कम्पनीले ल्याएको ट्रान्सफर्मर गुणस्तरहीन, फिर्ता पठाइयो



बिजमाण्डू
२०७९ भदौ १५ गते ०६:४५ | Aug 31, 2022
विद्युतीय चार्जिङ स्टेसनलाई चिनियाँ कम्पनीले ल्याएको ट्रान्सफर्मर गुणस्तरहीन, फिर्ता पठाइयो

काठमाडौं। चिनियाँ कम्पनीले चार्जिङ स्टेशनका लागि 'गुणस्तरहीन' ट्रान्सफर्मर ल्याएपछि नेपाल विद्युत प्राधिकरणले आफ्नै ट्रान्सफर्मर राख्न थालेको छ।

Tata
GBIME
Nepal Life

यसअघि झण्डै १५ वर्ष अघि चिनियाँ कम्पनीसँग ७ अर्ब खर्चिएर किनेको ४ हजार ६ सय ५७ वटा ट्रान्सफर्मर गुणस्तरहीन देखिएपछि अख्तियारले ५० भन्दा बढी कर्मचारीमाथि मुद्दा हालेको थियो। 

प्राधिकरणले ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीले दिएको थियो। सो कम्पनीले चार्जिङ स्टेशनका लागि ल्याएको ट्रान्सफर्मरमा तोकिएको भन्दा धेरै लस(नोक्सानी) प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

'उहाँहरुले चीनबाट ल्याएका ट्रान्सफर्मरमा लस धेरै आयो।  हाम्रो स्ट्याण्डर्ड अनुसार नभएपछि राख्ने कुनै भएन,' उनले बिजमाण्डूसँग भने,' चीनबाट पुन: ल्याएर राख्छौं भनेका थिए। ढिला हुने भएर हामीसँग भएका ट्रान्सफर्मर तत्कालका  प्रयोग गरेका छौं। उताबाट आएपछि रिप्लेस हुन्छ।' चीनबाट ल्याएको ट्रान्सफर्मर मापदण्ड अनुसारको नभएपछि नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) को ट्रान्सफर्मर ल्याउन खोजिएको थियो।

तर निकले दिन सक्ने अवस्था नै नभएपछि प्राधिकरणले आफैंसँग भएको ट्रान्सफर्मर तत्कालका लागि प्रयोग गरिएको हो। 'चीनबाट ल्याउन ढिला हुन्छ भनेर हामीले नेपाल इकरात इन्जिनियरिङ (निक) को ट्रान्सफर्मर ल्याउन भनेका थियौं। त्यो गुणस्तरको छ। हामीले प्रयोग गरिरहेका छौं,' घिसिङले भने,'निकसँग यति काम छ हाम्रै तीनवटा( ७००० ट्रान्सफर्मर) ठेक्का छ। चार्जिङ स्टेशनका लागि समयमा दिन नसक्ने बताएपछि हामीसँगै भएकै प्रयोग गरिएको हो।'

चीनबाट ट्रान्सफर्मर आइपुग्न कम्तीमा दुई/तीन महिना लाग्छ। चार्जिङ स्टेशनहरु तत्काल संचालनमा ल्याउन प्राधिकरणले रिप्लेस गर्ने गरी ट्रान्सफर्मर प्रयोग गरेको घिसिङ भनाइ छ। चार्जिङ स्टेशनमा २०० केभीए क्षमताका ट्रान्सफर्मर प्रयोग गरिएको छ। 

चिनियाँ कम्पनीसँग भएको सम्झौता अनुसार गत असार ८ गतेसम्म सबै चार्जिङ स्टेशन संचालनमा आइसक्नुपर्ने थियो। तर, ल्याइएका ट्रान्सफर्मरमा नै समस्या देखिएपछि ढिलाइ भएको हो।

आयोजनाका एक इन्जिनियरले पछिल्लो संशोधित तालिका अनुसार आगामी दुई महिनामा सबै चार्जिङ स्टेशन संचालनमा आउने दाबी गरे। उनका अनुसार बल्खु, साझा पेट्रोलपम्प, खुर्कोट लगायत ५ स्थानमा चार्जिङ स्टेशन तयार भइसकेको छ। तर संचालनमा भने आइसकेको छैन। 

५१ वटामध्ये मंगलबार प्राधिकरणले आफ्नै प्रांगणमा एउटा चार्जिङ स्टेशन संचालनमा ल्याएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले उद्घाटन गरेर चार्जिङ स्टेशन संचालनमा ल्याइएको हो। यो स्टेशनमा ६० किलोवाटका दुईवटा डीसी र २२ किलोवाटको एसी चार्जर गन छ। यद्यपि १२० किलोवाट सिंगल डीसी गनले चार्ज गर्न सक्छ।

सवारीसाधन अनुसार आधादेखि एक घण्टामा फुल चार्ज गर्न सकिन्छ। अन्य अधिकांश स्थानमा अन्तिम निर्माणको काम धमाधम चलिरहेको बताइएको छ।


कहाँ कहाँ बन्दैछ चार्जिङ स्टेशन ?
प्राधिकरणले सातै प्रदेशका प्रमुख राजमार्ग र बसपार्क क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो। वाग्मती प्रदेशमा काठमाडौं उपत्यकाभित्र ७, मुग्लिन-कुरिनटारमा ४, मलेखु, सिन्धुली, हेटौंडा र भरतपुरमा २/२ वटा र बनेपामा एउटा गरी  २० वटा निर्माण गर्न लागिएको छ।

प्रदेश १ मा दमक, भद्रपुर, कन्काई, विराटनगर र इटहरी गरी ५ स्थानमा निर्माण गर्न लागिएको छ।

मधेस प्रदेशको वीरगंज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, बर्दिबास र राजविराज गरी ७ ठाउँमा निर्माण हुँदैछ। गण्डकीको पोखरामा ३, नवलपुर, दमौली र स्याङ्जामा १/१ गरी ६ वटा निर्माण गरिँदैछ। लुम्बिनीमा बुटवलमा ३, बर्दघाट र सुनवलमा २/२ वटा गरी ८ वटा, नेपालगन्ज, भालुवाङ  र  दाङमा १/१ स्टेशन निर्माण हुँदैछ। 

कर्णालीमा सुर्खेतमा एउटा निर्माण हुनेछ। सुदूरपश्चिम प्रदेशमा महेन्द्रनगर, धनगढी र डडेलधुरामा १/१ गरी तीनवटा निर्माण हुनेछ।
त्यसैगरी प्राधिकरणले २५ स्थानमा चार्जिङ स्टेशन निर्माणका लागि नेपाल प्रहरीसँग द्धिपक्षीय सम्झौता (एमओयु) गरेको छ। प्रहरी कल्याण कोषद्धारा हाल सञ्चालित ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थानहरु गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिनेछ। 

सशस्त्र प्रहरीसँग १७ स्थानमा चार्जिङ स्टेशन निर्माणका लागि सम्झौता भएको छ। प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा संचालित २ वटा पेट्रोल पम्प र मातहतका कार्यालयहरुका १५ उपयुक्त स्थानहरु गरी १७ ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्ने गरी सम्झौता भएको छ।