एकैदिन बढ्यो बैंकको निक्षेप ८ अर्ब रुपैयाँले, ऋण भने घट्दो, सीडी रेसियो ८८.२५% मा झर्‍यो



बिजमाण्डू
२०७९ भदौ १३ गते १९:११ | Aug 29, 2022

काठमाडौं। विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप र ऋण स्थिर रहँदा बाणिज्य बैकहरुको भने निक्षेपमा सुधार देखिएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका अनुसार, शुक्रबारको तुलनामा आइतबार निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ। शनिवार बिदा हुने भएकाले यो एकै दिनको अन्तरमा बढेको निक्षेप हो।

बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब २५ अर्ब रुपैयाँबाट बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरु सबैको गरेर निक्षेप ५० खर्ब २२ अर्ब रुपैयाँबाट बढेर ५० खर्ब ३० अर्ब पुगेको छ।

यता बाणिज्य बैंकहरुको ऋण भने एक अर्बले घटेको छ। विकास बैंक र फाइनान्स कम्पनीहरुको भने स्थिर छ। ४१ खर्ब ७३ अर्ब रुपैयाँ रहेको बाणिज्य बैंकहरुको ऋण लगानी ४१ खर्ब ७२ अर्बमा झरेको हो।

बैंक तथा वित्तीय संस्था सबैको ऋण लगानी ४७ खर्ब ५ अर्बबाट ४७ खर्ब ४ अर्बमा आएको छ। निक्षेप बढ्ने र ऋण घट्ने हुँदा बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८८.३९ प्रतिशतबाट ८८.२५ प्रतिशतमा आएको छ। यो औषत सीडी रेसियो हो। केही बैंकको ९१ प्रतिशत नाघेको छ।