ग्यासको भाउ बढ्दा उपभोक्ता इन्डक्सनतर्फ तानिए, खाद्यले फेरि बेच्न थाल्यो विद्युतीय चुल्हो



सरला सुवेदी/बिजमाण्डू
२०७९ भदौ ८ गते १७:४८ | Aug 24, 2022

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले फेरि इन्डक्शन चुल्हो बेच्न थालेको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले भ्याटसहित ४ हजार रुपैयाँमा 'माइडिया' कम्पनीको इन्डक्शन चुल्हो बिक्री गर्न थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । अहिले खाद्य कम्पनीबाट दैनिक २ देखि ४ वटा सम्म चुल्हो बिक्री हुने गरेको उनले जानकारी दिए।

कम्पनीले हाल स्थानीय बजारबाट इन्डक्शन चुल्हो खरिद गरेर बिक्री गर्दै आएको छ। कम्पनीले एक पटकमा डेढ सय देखि २ सय थान चुल्हो किन्ने गरेको नायब महाप्रबन्धक खनालले बताए। 

'बजारको माग हेरेर कम्पनीले चुल्हो खरिद गर्छ । एकै पटक धेरै खरिद गर्दा बिक्री हुँदैन। त्यसैले थोरै थोरै परिमाणमा किनेर बेचिरहेका छौं।'- उनले भने ।

कम्पनीले २ वर्षअघि ग्यास आपूर्ति असहज भैरहेको अवस्थामा इन्डक्शन चुल्होको बिक्री सुरु गरेको थियो। कम्पनीले ग्यास अभावको समयमा सुरु गरेको विद्युतीय चुल्होको उच्च माग हुँदा दैनिक ४ हजारभन्दा बढीसम्म चुल्हो बिक्री भएको थियो ।

२०७१ सालमा भारतले नाकाबन्दीको समयमा ग्यास आपूर्ति असहज हुँदा चीनले नेपाल सरकारलाई करिब १२ हजार थान चुल्हो अनुदान दिएको थियो। त्यही चुल्हो कम्पनीले बेच्दै आएपनि २ वर्ष अघि सबै बेचेर सकिएको थियो। अनुदानको इन्डक्शन सकिएपछि पनि उपभोक्ताको माग पूरा गर्न कम्पनीले स्थानीय बजारबाटै बाल्ट्रा कम्पनीको चुल्हो बिक्री गरेको थियो।
इन्डक्शनको माग कम हुन थालेपछि भने कम्पनीले बिक्री रोकेको थियो।

पछिल्लो समय ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ पुगेको छ। ग्यासको मूल्य उच्च भएपछि उपभोक्ताहरु विद्युतीय इन्डक्शनप्रति फेरि आकर्षित हुन थालेका छन्। यसले गर्दा कम्पनीले पनि विद्युतीय इन्डक्शन चुल्हो बिक्री गर्न थालेको हो।  लोडसेडिङ नहुने र ग्यासको अभाव झेल्न नपर्ने भएका कारण पनि कोभिडपछि इन्डक्शन चुलो प्रभावकारी मानिन थालेको छ ।
उपभोक्ताले बजारमा विभिन्न ब्रान्डका न्युनतम २५ सय देखि ५४ सय माथिका इन्डक्शन चुल्हो खरिद गर्न सक्छन् ।