गभर्नर अधिकारीका विषयलाई लिएर गगनको प्रश्न: अनुरोध एमालेका मिस्टर एम अधिकारीलाई हैन



बिजमाण्डू
२०७९ असार २९ गते १२:१० | Jul 13, 2022

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आर्थिक मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने सुझाव दिएका छन्। आज संसदमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन्।

Tata
GBIME
Nepal Life

'आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलयमान हुने गरी ल्याउनुपर्छ। तरलतालाई अभाव, चुलिँदो व्यापार घाटा, घट्दो वैदेशिक मुद्रा सञ्चिति, आकाशिदो मूल्यवृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ,' थापाले भने।

उनले प्रणाली बाहिर रहेका पैसा सिस्टममा ल्याउनुपर्नेसमेत बताए। 'परियोजनामा आधारित कर्जा बैंकिङ प्रणाली बाहिर रहेका पैसालाई सिस्टममा ल्याउने कुरा, केही घरनाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौजुदा नीतिमार्फत गरिनुपर्छ,' थापाले भने।

उनले सेयर बजारमा ल्याएको सुधारको नीति काम नलागेको उल्लेख गर्दै यसले ठूलोलाई पोस्ने र सानालाई कस्ने काम भएको तर्क गरे। 'सेयर बजारमा सुधार गर्ने भनेर ४/१२ को नीति ल्यायो। यसले ठूलोलाई पोस्ने सानोलाई कस्ने काम भएको छ,' थापाले भने, 'राष्ट्रिय बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआएपछि यसलाई सच्याइनुपर्छ। यसलाई सच्याइएन हटाइएन बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लगानीकर्ताहरु सडकमा आइपुग्छन्।'

आफ्नो सुझाव गभर्नर महाप्रसाद अधिकारीलाई भएको उल्लेख गर्दै थापाले एमालेका नेता एम अधिकारीलाई भने नभएको भन्दै व्यङ्ग्यसमेत गरे। 'मैले गरेका सबै सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो,' थापाले भने, 'नेपाल कम्युनिस्ट पार्टी एमालेका अर्थयोजना विभागका सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर उहाँले बुझ्नुभएमा क्षमा चाहन्छु।'