काठमाडौं। टाटा मोटर्सले भारतमा नेक्सन इभीको नयाँ सेगमेन्ट 'नेक्सन इभी प्राइम' सार्वजनिक गरेको छ।
उक्त नयाँ सेगमेन्टको गाडीमा टाटाले सफ्टवेयर अपडेट गरेर ल्याएको छ। यो सफ्टवेयर हालसम्म बिक्री भएका सम्पूर्ण पुराना नेक्सन इभीहरुले पनि सफ्टवेयर अपग्रेड गर्दा अपडेट हुनेछ। यसका लागि कम्पनीले निशुल्क सुविधा दिने बताएको छ। यो सफ्टवयर अपग्रेड जुलाई २५ देखि सुरु हुने कम्पनीले जानकारी दिएको छ।
हालको नेक्सन इभीहरुमा रिजेनेरेटिभ ब्रेकिङ र क्रुज कन्ट्रोलका लागि अतिरिक्त कन्ट्रोल र स्विचगियरहरू कम्पनीको सर्भिस सेन्टरमा थपिने छन्। यद्यपि अतिरिक्त हार्डवेयर फिट गर्न भने शुल्क लाग्न सक्छ। यस्ता सफ्टवेयरहरु समय समयमा अपडेट भइरहने कम्पनीले जनाएको छ।
टाटा नेक्सन प्राइम सेगमेन्टमा हाल बिक्री भइरहेका मोडल जस्तै ३०.२ किलोवाट आवर क्षमताको लिथियम-आयोन ब्याट्री उपलब्ध छ। यसले प्रदान गर्ने रेन्ज पनि पुरानै मोडलको जतिनै रहेको छ। एक पटकको फुल चार्जमा ३१२ किलोमिटरको दुरी तय गर्न सक्छ।
नेक्सन प्राइममा थपिएका नयाँ फिचरहरु मल्टी मोड रि-जेनेरेशन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभीटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशनको समयमा अटोमेटिक ब्रेक ल्याम्प बल्ने जस्ता फिचर थपिएको हो। टायर प्रेसरिङ मोनिटरिङ सिस्टम मोबाइल फोनको एपबाट चेक गर्न सकिन्छ।
यो नयाँ नेक्सन इभीको प्राइममा पनि लङ रेन्ज नेक्सन इभी म्याक्सको जस्तै ४ लेभल रिजेनेरेटिङ ब्रेरकिङ सिस्टम उपलब्ध छ। यसले गाडीमा भएको ब्याट्रीलाई रिचार्ज गर्न मद्दत गर्छ। खास गरी ट्राफिकमा र ओरालो बाटो यात्रा गर्दा लगाइने ब्रेकिङले ब्याट्री रिचार्ज हुने गर्छ।
यो गाडीको मूल्य भारतमा पुराना मोडलको भन्दा भारु ४५ हजार रुपैयाँ बढेर आएको छ। जस्तै पुरानो एक्सएम मोडलको भारु १४ लाख ५४ हजार थियो भने यो नयाँ सेगमेन्ट प्राइमको १४ लाख ९९ हजार तोकिएको छ। यस्तै पुरानो टप सेगमेन्ट डार्क एक्सजेड प्लस लक्सको भारु १७ लाख १५ हजार रहेको छ भने अब यो नयाँ सेगमेन्टको भने १७ लाख ५० हजार तोकिएको छ।
यसले गर्दा नेपालमा पनि यसको मूल्य बढेर आउँछ। टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार यदि उत्पादक कम्पनीले नेपालमा सप्लाई राम्रोसँग दिन सक्ने भयो भने यो गाडी नेपाल छिट्टै आउँछ। नेक्सन इभीको लङ रेन्ज नेक्सन इभी म्याक्स को पनि आपूर्ति कम भएको तथा कर बढेका कारण नेपाल ल्याउन समस्या भइरहेको कम्पनीको भनाइ छ।











