सिप्रदी टाटाको इभी बिक्रीमा आक्रामक, बेच्यो ६०८ वटा नेक्सन र टिगोर, ११६ ठाउँमा चार्जिङ स्टेशन



बिजमाण्डू
२०७९ जेठ २६ गते १८:०० | Jun 9, 2022
सिप्रदी टाटाको इभी बिक्रीमा आक्रामक, बेच्यो ६०८ वटा नेक्सन र टिगोर, ११६ ठाउँमा चार्जिङ स्टेशन

काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ विद्युतीय गाडी बिक्रीमा आक्रामक देखिएको छ। यसको इभी नेपालमा सबैभन्दा धेरै रुचाइएको बिक्री आँकडाले देखाएको छ।

Tata
GBIME
Nepal Life

सिप्रदी ट्रेडिङले हालसम्मा नेपालमा ६०८ वटा विद्युतीय गाडी बिक्री गरेको जनाएको छ। कम्पनीका अनुसार यसमा ५७९ वटा नेक्सन इभी र २९ वटा टिगोर इभी बिक्री भएको हो।

यो संख्या चालु आवको हालसम्म आयात भएका विद्युतीय कार, जीप र भ्यानको लगभग आधा हो। चालु आवको हालसम्म जम्मा १५०० वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्।

विद्युतीय गाडी आयातमा तुलनात्मक रुपमा कम भन्सार लाग्नुका साथै इन्धनको बढ्दो विश्वव्यापी मूल्यका कारण नेपालमा पनि विद्युतीय सवारीतर्फको आकर्षण बढ्दै गएको छ। टाटाले यसको राम्रो लाभ उठाएको छ।

कम्पनीका अनुसार टाटा नेक्सन इभी मात्रै अहिले ७०० वटा बुकिङ भएको छ। यस्तै, टिगोर इभीको २०० युनिट बुकिङ भएको छ। तर कम्पनीले ग्राहकले भनेको समयमा गाडी उपलब्ध गराउन भने सकिरहेको छैन। वेटिङ समय नै ३ महिनादेखि ६ महिनासम्म पुगेको छ। यसो हुनुमा उत्पादक कम्पनीले नै सप्लाई गर्न नसकिरहेको भएको बताइएको छ।११६ वटा चार्जिङ नेटवर्क विस्तार

यस्तै, सिप्रदीले १६ वटा फाष्ट चार्जिङ (डीसी) र १०० वटाभन्दा बढी एसी चार्जिङ नेटवर्कको विस्तार गरेको छ।

बजार बढ्दा इभीलाई चाहिने पूर्वाधारका लागि सिप्रदीले योजनाबद्ध काम थालेको हो। पेट्रोल-डिजल इन्जिनका गाडीहरुका लागि निश्चित दुरीमा पेट्रोल पम्प छन्, अब चार्जिङ स्टेशन बढ्दै गए इभी प्रयोगकर्तालाई धेरै सजिलो हुनेछ। चार्जिङ स्टेसनको अभावका कारण धेरै जसो ग्राहकले रेन्जको एन्जाइटी खेपी रहेका छन्।

कम्पनीले गाडी आयातसँगै आवश्यक पूर्वाधार विस्तारलाई ध्यान दिएर चार्जिङ स्टेशन र पोर्ट विस्तार गरिरहेको सिप्रदीले बताएको छ। 'गाडीसँगै पूर्वाधार सहज गराउँदै जाने उद्देश्य हो। हामीले सबैभन्दा पहिला चार्जर उत्पादक कम्पनीसँग कुरा गरेर चार्जर लिएर आयौं,' टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका इभी प्रोडक्ट मेनेजर निर्मल खत्रीले भने।

सिप्रद्धीले हाल काठमाडौंसहित पोखरा, इटहरी, भैरहवा, नरायणघाट, धार्के, मुल्कोट, हेटौडा, चुम्लिङटार र ढल्केवरमा यस्तो स्टेशन संचालनमा ल्याइसेको छ भने धनगढी, विर्तामोड, नेपालगन्ज, वाग्लुङ, लाहन र सिमारामा छिट्टै संचालन गर्ने तयारी थालेको छ।­­­ यी गन्तव्यका चार्जिङ स्टेशनबाट इभी प्रयोगकर्ताले गाडीका लागि फास्ट चार्जरको सुविधा लिइरहेका छन्।

यी ठाउँमा चार्जिङ स्टेशन जडान गरेसँगै लगभग मुलुकको आधा भाग समेटिने छ। त्यसपछि यो गाडीको पर्फर्मेन्स, प्रतिक्रिया, आरामदायी हुनेलाई मध्यनजर गर्दै पश्चिम क्षेत्रमा पनि चार्जिङ स्टेशन जडान गर्ने उनले बताए।

उनका अनुसार कम्पनीले बुटवल-पोखराबीच वालिङ, नारायणगढ, लमही, कोहलपुर, अत्तरिया र पूर्वतर्फ लहानमा चार्जिङ स्टेशन विस्तार गरिरहेको छ। यही चालु वर्षभित्रै यी ठाउँमा चार्जिङ स्टेशन संचालनमा ल्याउने गरी काम भइरहेको उनले बताए। यसैगरी कम्पनीले ८ ठाउँमा एसी चार्जर पनि निर्माण गरिरहेको बताएको छ।