काठमाडौं। नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुससम्म तयार हुने भएको छ।
प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो। काठमाडौंको स्युचाटारस्थित भारप्रेषण केन्द्रसँगै सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको केन्द्र निर्माणाधीन छ ।
केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित गराउन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ। यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने छन्। केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ।
साथै त्यहाँ अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर रहने छ, जहाँ प्राधिकरणका सूचनाप्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत रूपमा रहने छन्। प्रि-फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ। तीन तले भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकाले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुनेछ। जसका लागि २ देखि ३ महिना महिना लाग्ने अनुमान छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण स्थलको अनुगमन गरी सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकाले तोकिएकै समयमा सम्पन्न गर्ने बताए। केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो।
नेपाल सरकारको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १ करोड २० लाख अमेरिकी डलर (करिब १ अर्ब ४८ करोड रुपैयाँ) छ।
प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी बनाउन ‘डिजिटल एनइए’ अवधारणामार्फत सोही अनुसार काम गरिरहेको जनाएको छ। वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ। आगामी दिनहरुमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्ने योजनामा प्राधिकरण छ।











