काठमाडौं। इन्धनको मूल्य बढेसँगै तेल बिक्री गर्ने साउदी अरबको कम्पनी साउदी अरमकोको नाफा बढेको छ।
सन् २०१९ मा सेयर बजारमा सूचिकृत भएयता विश्वभर तेल र ग्यासको मूल्य बढेपछि कम्पनीले सर्वाधिक कमाएको छ। पेट्रोलियम बिक्री गर्ने अरमकोको नाफा २०२२ को पहिलो त्रैमासमा ८२ प्रतिशतले वृद्धि भएको छ। पहिलो त्रैमासमा कम्पनीको खुद आम्दानी ३९ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ।
कम्पनीले रुस युक्रेनबीचको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यका साथै उत्पादन वृद्धि भएपनि नाफा बढेको विज्ञप्ती जारी गर्दै जनाएको छ।रुस विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्तामध्ये एक हो। तर, पश्चिमी राष्ट्रहरूले इन्धनका लागि रुससँगको निर्भरता घटाउने वाचा गरेका छन्। रुस-युक्रेन युद्ध अघि नै तेलको मूल्य भने बढ्ने क्रममा थियो। विश्व अर्थतन्त्र कोभिड महामारीबाट तङ्ग्रिँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको माग बढेको थियो।
सेल, बीपी र टोटल इनर्जीज लगायतका अन्य तेल कम्पनीहरुको नाफा पनि बढेको जनाएका छन्। अरमकोका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अमिन नासेरले कम्पनी विश्वभर इन्धन एवम् ऊर्जाको मागलाई भरपर्दो, किफायती र दिगो बनाउन आफुहरु केन्द्रित रहेको बताएका छन्।
'ऊर्जा सुरक्षा अत्यावश्यक छ र हामी दीर्घकालीन रूपमा लगानी गरिरहेका छौं,' उनले भने।
मार्चमा तेल र ग्यास उत्पादकहरुले आगामी पाँचदेखि आठ वर्षमा लगानी बढाउने र उत्पादनमा उल्लेखनीय वृद्धि गर्ने तेल कम्पनीले जनाएका छन्।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्तालाई छोटो अवधिमा विश्व बजारमा थप तेल पठाउन माग गर्दै प्रयास गर्दै आएका छन्।
साउदी अरब ओपेक (पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन) मा सबैभन्दा ठूलो उत्पादक हो। यसले उत्पादन बढाएर इन्धन मूल्य घटाउन मद्दत गर्न सक्ने बताइएको छ।
छिमेकी यमनमा द्वन्द्वमा संलग्नता, २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्या, असन्तुष्टहरूलाई जेल हाल्ने र मृत्युदण्ड दिने जस्ता कार्यका कारण साउदी अरब मानवअधिकार उल्लंघनमा खरो रहेको आरोप लाग्दै आएको छ।
यमन द्वन्द्वका कारण अरमको आफैंले पनि सुरक्षा चुनौतीहरू सामना गरिरहेको छ। हुथी विद्रोहीहरूले कम्पनीका केही साइटहरूमा आक्रमण गरेको र अस्थायी रुपमा कच्चा तेलको ठूलो मात्रा उत्पादनमा अवरोध सिर्जना गरेका छन्।
अरमकोले लगभग दुई वर्षमा पहिलोपटक एप्पललाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ।
अरमकोले सेयरधनीहरूलाई २० अर्ब बोनस सेयर जारी गर्ने घोषणा गरेको छ। १० कित्ता सेयर भएकालाई एक कित्ता दिने तयारी कम्पनीको छ। (एजेन्सीको सहयोगमा)










