चार वर्षमै सप्तकोशी सिमेन्टले पुर्‍यायो वार्षिक २ अर्बभन्दा बढीको व्यापार, कारोबार २०% बढ्यो



बिजमाण्डू
२०७९ बैशाख २४ गते १८:०६ | May 7, 2022
चार वर्षमै सप्तकोशी सिमेन्टले पुर्‍यायो वार्षिक २ अर्बभन्दा बढीको व्यापार, कारोबार २०% बढ्यो

काठमाडौं। सप्तकोशी सिमेन्टले एक  वर्षमा दुई अर्ब रुपैयाँमाथिको कारोबार गरेको छ। कम्पनीले २०२१ मा कारोबार २०.३३ प्रतिशतले बढाउँदै उक्त रकमबराबरको सिमेन्ट व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।  

Tata
GBIME
Nepal Life

यसअघि २०२० मा कम्पनीले एक अर्ब ६७ करोड ७० लाख रुपैयाँ र २०१९ मा एक अर्ब ५९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो। यसअघि नेशनल सिमेन्ट प्रालिको नामबाट संचालित कम्पनीको नाम दुई वर्षअघि सप्तकोशी सिमेन्ट प्रालिमा रुपान्तरण भएको थियो। 

विराटनगरमा ग्राइन्डिङ प्लान्ट रहेको कम्पनीसँग दैनिक ६ सय टन ओपीसी सिमेन्ट गर्ने क्षमता छ। दुईवटा युनिटमध्ये युनिट-१ बाट दैनिक एक सय टन र युनिट-२ बाट दैनिक पाँच सय टन उत्पादन हुने कम्पनीले जनाएको छ। 

२०१८ डिसेम्बरबाट सिमेन्टले व्यवसायिक उत्पादन थालेको थियो। सप्तकोशी सिमेन्टले आफूलाई आवश्यक कुल कच्चा पदार्थको ९० प्रतिशत होङ्सी शिवम् सिमेन्टबाट किन्दै आएको छ। बाँकी १० प्रतिशत भने कम्पनीले भारतबाट आयात गर्दै आएको छ।

सप्तकोशी सिमेन्टमा एचआर गोयल समूहको लगानी छ। सप्तकोशी सिमेन्टको अध्यक्ष आषीश गोयल छन्। सप्तकोशी सिमेन्टले मुख्यगरी पूर्वी नेपालमा आफ्नो उत्पादन बिक्री गर्दै आएको छ। 

केयर रेटिङ्स नेपालले एक अर्ब १२ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ३३ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी डबल बी प्लस, ७९ करोडको अल्पकालीन कर्जा एफोर प्लस रेटिङ पाएको छ।