बैंकदेखि वालेटसम्म फैलियो हुण्डी कारोबार, ५ वर्षमा २ अर्ब ७३ करोड रुपैयाँ जफत

बिजमाण्डू
२०८३ मंसिर ११ गते १८:१७ | Nov 27, 2026
बैंकदेखि वालेटसम्म फैलियो हुण्डी कारोबार, ५ वर्षमा २ अर्ब ७३ करोड रुपैयाँ जफत

काठमाडौं। नेपालमा अवैध हुण्डीको कारोबार बैंक खाता, डिजिटल वालेट, रेमिटेन्स एजेन्ट हुँदै क्रिप्टोकरेन्सीसम्म फैलिएको पाइएको छ।

GBIME
Tata

राष्ट्र बैंकको वित्तीय सूचना इकाई (एफआईयू)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कारोबारीले अन्य व्यक्तिका नाममा खोलिएका बैंक खाता, नक्कली कम्पनी र डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर हुण्डी गर्ने गरेको पाइएको हो।

एफआईयूको प्रतिवेदन अनुसार पछिल्लो ५ वर्षमा हुण्डीसम्बन्धी १९० वटा मुद्दा अदालत पुगेका छन्। जसमध्ये १०३ वटा मुद्दाको फैसला भइसकेको छ।

यस अवधिमा ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएकामा २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, १६ करोड ४४ लाख रुपैयाँ बराबरको सम्पत्ति रोक्का गरिएको छ।

हुण्डी कारोबारमा संलग्न हुन सक्ने शंकास्पद व्यक्तिमध्ये ५३ प्रतिशत मधेश प्रदेशका रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि कोशी प्रदेशका १६ र लुम्बिनी प्रदेशका १२.५ प्रतिशत छन्। कूल शंकास्पद व्यक्तिमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला हुन्।

प्रतिवेदनले विद्यार्थी तथा गृहिणीका नाममा खोलिएका बैंक खातासमेत अवैध रकम ओसारपसारमा प्रयोग हुने गरेको देखाएको छ। खुद्रा व्यापार गर्ने फर्म र रेमिटेन्स सब-एजेन्टको नाममा हुने कारोबार पनि हुण्डीको जोखिममा परेका छन्।