१३ हजार फिटमाथि उडेको हेलिकप्टरबाट खस्ने‘एड्भेन्चर’को लोभलाग्दो मिसन

ऋषिकेश दाहाल
२०८३ मंसिर १२ गते ०७:०० | Nov 28, 2026
१३ हजार फिटमाथि उडेको हेलिकप्टरबाट खस्ने‘एड्भेन्चर’को लोभलाग्दो मिसन

काठमाडौं । पर्वतको ‘द क्लिफ’मा बन्जी गर्दा ‘भय’ नै भएन भन्ने मेरो गुनासोपछि पत्रकार विष्णुकान्त घिमिरेले भनेका थिए, ‘तपाईँ अब स्काइडाइभ गर्नुस्।’ 

GBIME
Tata

एड्भेन्चरको सौखले मलाई चारपटक भोटेकोसीको खोच र एकपटक कालीगण्डीमा बन्जी गरायो। तीनपटक पोखराको आकाशमा प्याराग्लाइडिङ। तीन पटक खुम्बुको यात्रा। एकपटक कैलाश परिक्रमा पनि। ट्रेकिङसहित यस्ता सूचीहरू क्रमश: कट्दै गए पनि मेरो बकेट लिस्टमा थपिनेक्रम जारी रह्यो। स्काइडडाइभ तिनैमध्येको एउटा थियो जसमा खर्च र थ्रिल दुवै चुनौतीका साथ उभिएको थियो।

पर्यटन व्यवसायी सुमन पाण्डेले केही विदेशीले खुम्बुमा स्काइडाइभ गरेको भिडियो पोस्ट गरेलगत्तै मैले सम्पर्क गरिहालेँ। क्लाइम्बिङ र ट्रेकिङमा चर्चित नाम एक्स्पलोर हिमालयमार्फत् एड्भेन्चरका नयाँ नयाँ प्रडक्ट प्रस्तुत गर्ने उनैले हो नेपालमा स्काइडाइभ भित्र्याएका। 

‘मेरो पनि बकेट लिस्टमा छ। पोखरामा हाम फाल्नुपर्‍यो।’

‘यो सब अनुजले हेर्छन्।’ 

छोटो संवादसँगै सुमनले अनुजको नम्बर फर्वाड गरे। अनुज एक्स्पोलर हिमालय ट्राभल एन्ड एड्भेचन्चरका प्रबन्ध निर्देशक।   

उनले तीन दिनमात्र पोखरामा स्काइडाइभिङ हुने र अधिकांश विदेशीमात्र सहभागी हुँदै गरेको जानकारी दिए। तिनै विदेशीको बिचमा मेरालाई स्लट तयार हुने भयो। गत साताको शनिवार नै म आकाशबाट झर्ने योजनामा थिएँ। अनुजको बिहीवार नै अप्रत्यासित फोन आयो।

‘शुक्रबार नै कम्प्लिट होलाजस्तो छ यसपाला त। जम्प गर्ने भए तपाईँ फ्लाइटमा आउनुस् सकेसम्म चाँडै।’

निर्णय गर्न मलाई कुनै अलमल थिएन। मेरो स्काइडाइभ मिसन सेक्रेट नै राखेँ। पोखरा घुम्नमात्र जाने सुनाएँ। एयरपोर्टमा प्रतीक्षा गर्ने धैर्य थिएन। गाडी निकालेँ र लिएँ रफ्तार। अनि बनाएँ भिडियो – मेरो मिसनबारे। त्यो भिडियोमा कौतुहलता मात्र दिएँ, संकेत गरिन के हुँदैछ। केही कल र केही म्यासेजको रिप्लाइमा यसबारे खुलाइन। किनकि जे हुँदै थियो त्यसबारे म आफैं पर्याप्त जानकार थिइँन।

+++

खेतको बीचमा एउटा सुविधा सम्पन्न एम्बुलेन्स। नजिकै केही मानिसहरू। बारम्बार हेलिकप्टर अवतरण र उडान। लाग्छ हेलीलाई रोकिन फुर्सद छैन। उडान र अवतरणबीचमा इन्धन भर्नेबाहेक कुनै ग्याप छैन। जतिपटक हेलीले उडान र अवतरण गर्छ त्यतिपटक मानिसहरू प्यारासुटबाट खेततिर झरिरहेको दृश्य। हेलीको उचाइ आँखाले ठम्याउन नसकिने माथि !

एक उडान दुई प्यारासुटवालाको तलतिरको यात्रा। अलिक पूर्वतिर भूइँ छोड्दै उड्ने तयारी अवस्थामा। अन्नपूर्ण हिम शृंखलाको लोभलाग्दो पृष्ठभूमिमा प्याराग्लाइडिङ गर्नेको उडानले रङ्गिन बनिरहेको आकाश। पामेको फाँटमा लहरै फहराइरहेका झन्डाले केही भइरहेको संकेत गरिरहेको छ। यो त्यही यात्राको एउटा अनुभूति जसको पृष्ठभूमिमा धर्ती छ तर गन्तब्यको सुरुवात १३ हजार फिटमाथि आकासबाट सुरु हुन्छ। गन्तव्य फेरि पामेको खेतमा आएर टुंगिन्छ। धर्तीबाट आकाश र आकाशबाट धर्तीसम्मको ‘टू वे’ उडानयात्रा। माध्यम पनि दुईवटै। एक हेली अर्को प्यारासुट। 

पामेको फाँटमा पुगेर गाडी रोकेसँगै स्काइडाइभको यात्रारम्भ। हेलिकप्टर उडान र माथिबाट तलतिरको यात्रा तय गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रियाले खासै समय लागेन। किनकि यो यात्राको एउटा करारनामामा म हस्ताक्षर गरिरहेको थिएँ जसलाई म पढ्न चाहन्नथेँ। नपढी भकाभक दस्तखत ! 

पक्कै पनि। हरेक अनुच्छेदमा हस्ताक्षर गर्नुपर्ने। कम्तीमा ३० भन्दा धेरै। के लेखिएका थिए, नहेरी हतारहतार हस्ताक्षर गरेँ। त्यहाँ लेखिएका कुराले मलाई डराउन सक्थ्यो। फेरि केही सोच्न बाध्य बनाउन सक्थ्यो। मन न हो डगमगाउने जोखिम। मैले पढिन। जे गरेँ, थाहा छ ठिक होइन। ती सबै पढ्नै पर्थ्यो। विनिताले मेरो भिडियो खिचिरहेकी थिइन् यी सबैको। 

बिहान काठमाडौंबाट सोझै पोखरा ड्राइभ गरेर पुगेको भए पनि थोरै पनि थकान थिएन। लामो समयदेखिको बकेट लिस्ट। कौतुहलताले राज गरिरहेको थियो। बिहानै निस्केकाले पाँच घन्टामा पोखरा पुगिहालेँ। पृथ्वी राजमार्गमै हल्का पेटपूजा। लेकसाइडमा लन्च। त्यसपछि पामेसम्मको ड्राइभ। म पुग्ने नपुग्नेमा अनुज अन्यौलमा थिए। त्यसैले मैले म्यासेज गर्दै गन्तव्यतिरको जानकारी गराइरहेको थिएँ। तनहुँतिरै हुँदा हो उनको ह्वाट्सएप आएको। त्यो म्यासेजले मलाई पामेतिरको रुट देखाइरहेको थियो। 

हेलिकप्टरबाट हामफाल्दा हुनसक्ने जेजस्ता जोखिमको म स्वयं जिम्मेवार हुने हरेक वाक्यमा हस्ताक्षरपछि मेरो नाम ह्वाइट बोर्डमा लेखियो –  ‘जम्पर ऋषिकेश दाहाल।’ त्यो बोर्डमा टेन्डम फ्लाइट (दुईजना उड्ने)मा मलाई उडाउने व्यक्तिको नाम थियो – पिटर। अनि अर्को नाम थियो – पी एच। 

पिटर डेनमार्क र पी एच फ्रान्सका रहेछन्। बोर्डमा नाम लेखिएको देखेपछिमात्रै थाहा पाएँ मसँग दुई जना क्रु रहने रहेछन् – हेलीका पाइलटबाहेक। एकजनाले मलाई सँगै खसाल्ने र अर्काले मेरो भिडियो खिच्ने। मेरा लागि एकजना एक्लै हेलीबाट हामफाल्दैछन् भन्ने थाहा हुँदा यो एड्भेन्चरमा मैले गरिररहेको खर्च त्यसै महँगो भएको होइन भन्ने ज्ञात भयो। 

संसारकै गरिब मुलुकमध्येको म। संसारकै सम्पन्नमध्येको देश फ्रान्सका क्यामरा पर्सन र स्काइडाइभका धुरन्धर चाहिँ डेनमार्कका। यहाँ आफूलाई मैले ‘प्रिमियम’ सेवाग्रही नठाने भयो त अब? 

पी एचले मलाई पिटरसँग परिचय गराए। भूइँमा बसिरहेका पिटरले हात दिँदै भने, ‘माथिबाट मैले तपाईँला खस्न सघाउने हो, त्यसैले मलाई उठ्न सघाउनुस्।’

उभिए लगत्तै यी दुवैले हार्दिकताका साथ मलाई ब्रिफ गरे- जम्प गर्दाका प्रक्रिया र ल्यान्डिङ गर्दा लिनुपर्ने एक्सनबारे। ब्रिफिङ सकिँदा नसिकँदै हेलिकप्टर ल्यान्ड भयो। 

म उनीहरूसँगै अगाडि सरेँ एउटा अद्भुत यात्राका लागि।  

माओवादीको ‘जनयुद्ध’, गौर हत्या काण्ड र कोसी फुट्दा नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर चढेको थिएँ। त्यसबाहेक लुक्लाबाट काठमाडौं हेलीमै यात्राको अनुभव। परिवारसहित हेलिकप्टरमा गोसाइकुण्ड र नाम्चेबाट कालापत्थरसम्मको यात्रा पनि गरिसकेको। तर यसपटकको हेलिकप्टर यात्रा ती सबैभन्दा नितान्त फरक। हेलिकप्टर यात्रा नै थ्रिलिङपूर्ण। 

हेलिकप्टरभित्र न कुर्सी। न सिटबेल्ट !  स्काइडाइभ गर्न कस्टमाइज भएकाले चढेपछि थाहा भयो हेलिकप्टरको ढोका त ह्वाङ्गै पो छ। त्यसैले मेरा लागि यसपटकको हेली अनुभव पहिलेका कुनै पनि अनुभवसँग मिल्दो थिएन। 

दुई ‘क्रु’सँगै हेलीको फ्लोरमा म पनि बसेँ। लगत्तै सुरु भयो उडान। मेरो शरीरमा हार्नेसिङका औजार जोडजाम भइसकेका थिए। हेलीले उचाइ लिन पश्चिमतिर हुँदै हेम्जामाथितिरबाट फनक्क मोड लियो। पहिलो पटक विनासिटको हेलिकप्टरबाट फनक्क मोडिँदा झरिने पो हो कि !

आशंका मात्रै। पूरै टिमले पर्याप्त सुरक्षाका आधार तयार पारेका छन्। तर पनि कताकता त्रास। फेरि त्यही डर नभए एड्भेन्चरको मजा के त? 

उचाइ पूरै लिएपछि पी एच हेलिकप्टरबाहिर झुन्डिए। त्यसपछि पिटरले मलाई धकेल्दै अगाडि बढ्न भने। म उनको निर्देशन पछ्याउँदै हेलीको ढोकामा पुगेँ। खुटाले हेलीको तल्लो भागमा टेकेँ। हेलीको ढोकामा बसेर तल टेक्ने ठाउँ पाएकाले हुनुपर्छ बन्जी जम्प गर्दा म जति डराउछु, त्यति डर १३ हजार फिट माथि लागेन। 

झर्ने बेलामा टाउको माथितिर गर्नु है भनेका थिए सुरुमै। झर्ने बेलामा त बिर्सिएछु। पिटरले टाउको माथितिर लैजान दोहर्‍याएर भनेसँगै झलस्स सम्झिए निर्देशन। अनि उनले भने झै गरेँ। त्यसपछि सुरु भयो मेरो मिसनको ‘एक्स्ट्रिम’ क्षण। 

म झरेँ। पिटर म भन्दा पछाडि जोडिएएर झरे। 

फ्रि फल। 

कति सेकेन्ड तलतिर झरियो यकिन छैन। त्यसपछि ठ्याक्कै लाग्यो ‘म चरा हुँ।’ हात खुट्टा फैलाएर हावासँग कावा खेल्न थालेँ। मेरा हात हात होइनन् पखेँटा झै महसुस भयो। 

यसो अगाडि हेर्छु त पी एच सामुन्ने चरा जस्तै उडेर आइसके। उनी पनि हामफालेर हामीलाई भेट्न आइसकेका रहेछन्। त्यही उचाइमा हामी फनफनी घुम्यौं। 

उत्तरतिर अन्नपूर्ण शंखलाको लोभलाग्दो लस्कर। आकासमा बादलको टुक्रासम्म छैन। निलो आकाश। तल साना घरहरू। फेवाताल पनि सानै लाग्यो माथिबाट हेर्दा। 

जतिखेर हामी हेलीबाट झरेका थियौं, तलबाट मुस्किलैले हामी देखिन्थ्यौं। मभन्दा अगाडि हामफाल्नेलाई मैले गहिरिएर हेर्दा पनि देख्‍न सकेको थिइन्। म त्यही उचाईमा चरा झै स्वच्छन्द महसुस गरिरहेको छु।  

पी एचले अगाडिबाट जसोजसो गर्न भनेँ मैले उसैउसै गरेँ। मैले जे गरेँ त्यो उनको गोप्रोले क्याप्चर गरिरह्यो। चरा झै आकाशमा पखेटा फैलाउँदै फनफन घुमेको झण। अद्भुत ! शब्दले व्याख्या गर्न सक्दिन। अनुभूतिलाई कुनै पनि शब्द र वाक्यले न्याय गर्न सक्दैन भन्ने लाग्छ मलाई। 

एकछिन आकाशमा चारै दिशातिर फनफनी घुम्यौं। त्यसपछि ‘थम्स अप’ गरे पी एचले। मैले पनि ‘थम्स अप’ गरेँ। त्यसपछि उनी एकाएक तलतिर हराए। हामी ह्वात्तै माथितिर हुत्तियौं। 

पिटरले प्यारासुट अन गरेका रहेछन्। प्यारा खुलेसँगै हामी दुई झरेकै गतिमा माथितिर उकासिए झै लाग्यो। 

आकाशमा मेरो दृश्य खिच्नका लागि हामीसँगै हेलीबाट हामफाल्ने पी एच निक्कै तलतिर झरिसकेका थिए। उनी म तल ल्यान्ड हुँदाको दृश्य लिनका लागि गएका रहेछन्। 

प्यारासुट खुलेपछि निक्कै माथिको उचाईमा पिटरले भने- ‘प्यारासुट आफैँ चलाउ।’ 

दुईतिरको डोरी उनले समाउन दिए। दायाँ र बायाँ कता लैजाने अब मेरो हातमा थियो। कति ढल्काउने मेरै जिम्मामा। पहिलो पटक महसुस भयो हावासँग बलियैसँगै पैठेजोरी नै पर्ने रहेछ प्यारासुट उडाउन। आकाशमा उडेको देख्दा सहज भए पनि मसल पावर उत्तिकै चाहिने। 

एकछिन हावामा फनफनी घुमेपछि हाम्रो अवतरण यात्रा पनि तीब्र गतिमा भयो। तल झर्दाको रफ्तार प्याराग्लाइडिङ भन्दा निक्कै तीव्र। प्यारासुटको छाता प्याराग्लाइडिङको भन्दा सानो लाग्यो मलाई। तलतिर झर्नेक्रमले रफ्तार लियो। म निर्धक्क अढेस लगाएर आफ्नै मिसन सकिएकोमा आनन्दित उडिरहेँ। 

तलतिर झरिरहँदा ल्यान्डिङबारे पिटरले मलाई केही निर्देशन दिँएका थिए। खुट्टा कसरी उचाल्ने र धर्तीमा टेक्दा कसरी अगाडि बढ्ने सुझाए। मलाई खुट्टाको चाल नक्कल पारेर देखाउन भने आकासमै। मैले त्यही गरेँ जे उनले सिकाए। सोचेभन्दा धेरै नै छिटो पामेको धर्ती नजिकियो। कुनै पनि ‘जर्क’ विना हामी ‘ल्यान्ड’ भयौं।   

यो ल्यान्डसँगै एड्भेन्चरको एउटा मिसन पूरा भयो। यति थ्रिलवाला काम यति सहज पूरा भएकाले कतै सपना त होइन जस्तै अनुभूति लागिरह्यो। नलागोस् पनि किन? बिहान सबा ६ बजे काठमाडौंबाट हिँडेको। दिउँसो २ नबज्दै मिसन त सकियो। 

हेलिकप्टरबाट १३ हजार फिट तल झर्दाको रोमाञ्चक यात्राको कथा यति नै। यो मिसन सकिएसँगै बकेट लिस्टबाट एउटा लक्ष्य मेटिँदैछ। तर, अर्को मिसन त्यही लिस्टमा चढिसक्यो। अर्को मिसनले पक्कै अर्को कथा बनाउने छ- यस्तै थ्रिलिङवाला। त्यसका लागि मेरो प्रतीक्षा सुरु भइसक्यो।