काठमाडौं। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन प्रणालीमा व्यापक सुधारको आवश्यकता औंल्याएका छन्।
निर्वाचन आयोगले आफ्नो चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा पोखरेलले निर्वाचन व्यवस्थापन प्रणालीलाई विकेन्द्रीकरण गर्नुपर्ने बताए।
उनले बदर मत घटाउने ध्यान केन्द्रित गर्नुपर्ने भन्दै विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
‘नेपालको निर्वाचन व्यवस्थापनलाई अझ विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउन विद्यमान प्रणालीमा व्यापक सुधार आवश्यक छ। सुधार गर्नुपर्ने थुप्रै पक्ष छन्। विशेषगरी विदेशमा रहेका नेपाली तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्ने, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेसन गर्ने, निर्वाचन खर्चलाई पारदर्शी बनाउने र राजनीतिक दलहरूलाई जवाफदेहिताको बाटोमा अघि बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने।
पूर्वप्रमुख आयुक्त पोखरेलले निर्वाचनमा हुने खर्चको स्रोत पहिचान, चन्दादाताको पारदर्शिता, उम्मेदवार तथा राजनीतिक दलको आम्दानी र खर्चको प्रभावकारी अनुगमन तथा तेस्रो पक्षबाट हुने निर्वाचन खर्चलाई नियमन गर्ने व्यवस्था आवश्यक रहेको बताए।










