नबिल एसएसई स्थापनाको ५ वर्ष पूरा, ३१८ उद्यममार्फत करिब १९ हजार रोजगारी सिर्जना

बिजमाण्डू
२०८३ मंसिर १० गते १९:३२ | Nov 26, 2026
नबिल एसएसई स्थापनाको ५ वर्ष पूरा, ३१८ उद्यममार्फत करिब १९ हजार रोजगारी सिर्जना

काठमाडौं। सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवर्धन गर्दै आएको नबिल बैंकको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई)ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ।

GBIME
Tata

नबिल एसएसईले पाँच वर्षमा एक हजार ५८० जनालाई उद्यमशीलता सम्बन्धी सीप प्रदान गरेको छ। जसबाट ३१८ वटा सामाजिक उद्यम स्थापना भएका छन्। बैंकका अनुसार हालसम्म १९ हजार ३०३ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएका छन्।

सामाजिक समस्या पहिचान गरी उद्यमशीलताको माध्यमबाट दिगो समाधान खोज्ने उद्देश्यसहित सञ्चालनमा आएको नबिल एसएसईले छोटो अवधिमै सामाजिक उद्यमशीलताको अग्रणी कार्यक्रमका रूपमा आफ्नो पहिचान स्थापित गरेको बैंकले जनाएको छ।

कार्यक्रमले उद्यमशील सोच भएका युवालाई ज्ञान, सीप, मार्गदर्शन, व्यावसायिक सञ्जाल तथा आवश्यक अवसर उपलब्ध गराउँदै उनीहरूका नवीन विचारलाई प्रभावकारी र दिगो उद्यममा रूपान्तरण गर्न सहयोग गर्दै आएको छ।

बैंकका अनुसार, फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार ५८० जना लाभान्वित भएका छन्। फेलोसिप कार्यक्रमका छ वटा समूहबाट ११३ जना फेलो प्रशिक्षित भएका छन्, जसको नेतृत्वमा ९३ वटा उद्यम स्थापना भई सञ्चालनमा छन्।

त्यस्तै, देशभरका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन हुँदै आएको सर्टिफिकेट कोर्समार्फत एक हजार ४६७ जना सहभागी लाभान्वित भएका छन्, जसले २२५ वटा उद्यम स्थापना गरेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले नबिल एसएसईको पाँच वर्षे यात्राले सामाजिक उद्यमशीलताको माध्यमबाट दिगो परिवर्तन सम्भव रहेको पुष्टि गरेको बताए।

‘नबिल एसएसईले उद्यमशीलतालाई केवल आर्थिक गतिविधिका रूपमा नभई सामाजिक समस्या समाधान र सकारात्मक परिवर्तनको प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ। पछिल्ला पाँच वर्षका उपलब्धिले सही ज्ञान, मार्गदर्शन र अवसर प्राप्त हुँदा नेपाली युवाले आफ्ना नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गरी समुदाय र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने प्रमाणित गरेको छ,’ उनले भने।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको नबिल एसएसई फेलोसिप छ महिनाको गहन सिकाइ तथा क्षमता विकास कार्यक्रम हो।

बैंकका अनुसार नबिल एसएसई फेलोसिप कार्यक्रमको सातौं समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ।