तनहुँ। दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा रुख कटानको काम बल्ल आधा सकिएको छ।
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले २०७९ मंसिर २० गते स्वीकृति दिएकामा अहिलेसम्म ५० प्रतिशत मात्र रुख काटिएको हो।
मन्त्रिपरिषद्ले ती दुई जिल्लाका वन क्षेत्रमा ९ हजार १२७ वटा रुख हटाउन स्वीकृति दिएको थियो। आयोजना प्रमुख श्यामजी भण्डारीले प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रमा टावर निर्माण तथा तार तान्ने कामका रुख कटानको काम भइरहेको बताए।
उनका अनुसार चितवनको भरतपुर महानगरपालिका-१ स्थित व्यवस्थित वन, सतनचुली सामुदायिक वन र भरतपुर महानगरपालिका-२९ अन्तर्गत अकलादेवी तथा सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिनेछ।
प्याकेज ३ अन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले पाएको छ। करिब ३५ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ।
आयोजना प्रमुख भण्डारीले राससलाई बताए अनुसार हालसम्म ९४ वटा टावरमध्ये ८१ वटा टावर जडान भएका छन् भने २.२ किलोमिटर तार तान्ने काम भएको छ।
१४० मेगावाट क्षमताको आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न दमौली-भरतपुर प्रसारण लाइन महत्वपूर्ण पूर्वाधार हो।









