विराटनगर। उद्योग संगठन मोरङले नवौं संस्करणको विराट एक्स्पोले प्रदर्शनीको परम्परागत कर्मकाण्डलाई बदल्दै उद्योग, व्यापार, लगानी, प्रविधि, सिप र रोजगारीलाई एउटै प्लेटफर्ममा जोड्ने बताएको छ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले एक्स्पोले सामानको प्रदर्शनी, प्रचारप्रसार र सामानको खरिद बिक्रीलाई मात्र बुझ्ने परम्परा र मान्यतालाई परिवर्तन गर्ने दाबी गरे।
उद्यमीलाई लगानी र बजारसँग जोड्न तथा उद्योगलाई प्रविधि र नयाँ व्यावसायिक साझेदारसँग सम्पर्क स्थापित गराउन, विद्यार्थीलाई करियरको बाटो पहिल्याउन, युवालाई सिप र रोजगारीका अवसरसँग जोड्न एक्स्पोलाई साझा मञ्चका रूपमा विकास गर्ने उनको भनाइ छ।
संगठनले आगामी पुस पहिलो साता हुने १० दिने एक्स्पो गर्दैछ। ‘कनेक्टिङ अपरच्युनिटिज, क्रिएटिङ इम्प्याक्ट’ सन्देशसहित आयोजना हुने एक्स्पोले अर्थतन्त्रका विभिन्न क्षेत्रबीच सहकार्य र व्यावसायिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिएको संगठनको भनाइ छ।

राठीले यसपटकको एक्स्पोले उद्योगी, व्यवसायी र उपभोक्तालाई मात्र नभई विद्यार्थी र रोजगारी खोजिरहेका युवा, लगानीकर्ता र नयाँ उद्यम सुरु गर्न चाहनेलाई समेत लाभ पुग्ने दाबी गरे।
संगठनका उपाध्यक्ष एवम् एक्स्पोका संयोजक विपिन काबराले एक्स्पोमा शिक्षा र सिपदेखि रोजगारी, उद्यम स्थापना, व्यवसाय विस्तार, लगानी, बजार सम्पर्क र नयाँ प्रविधिको पहिचानसम्मका विषय समेट्ने बताए।
‘एक्स्पोमा आउने विद्यार्थीले शैक्षिक तथा करियरसम्बन्धी जानकारी लिन सक्नेछन् भने रोजगारी खोजिरहेका युवाले सम्भावित रोजगारदाता र सिपमूलक संस्थासँग सम्पर्क गर्न सक्नेछन्। नयाँ व्यवसाय सुरु गर्न चाहनेले उद्यमशीलता सम्बन्धी जानकारी र सम्भावित लगानीकर्तासँग भेटघाटको अवसर पाउनेछन् । सञ्चालनमा रहेका उद्योग तथा व्यवसायले नयाँ प्रविधि, आपूर्तिकर्ता, ग्राहक र बजार खोज्न सक्नेछन्,’ उनले भने।









