काठमाडौं। प्रमुख दुई उत्तरी नाका चार महिनादेखि बन्द हुँदा चीनबाट जाडोयामका लागि आयात गरिने लुगा-कपडा लगायतका फेन्सी सामान महँगिएका छन्। तातोपानी र रसुवा नाका सञ्चालनमा नआएपछि व्यवसायीले मुस्ताङको कोरला नाका हुँदै सामान ल्याइरहेका छन्।
लामो दूरी, महँगो ढुवानी भाडा र चिनियाँ मुद्रा युआनको मूल्यवृद्धिका कारण जाडोका सामानको मूल्य गत वर्षको तुलनामा २० प्रतिशतसम्म बढेको व्यवसायीले बताएका छन्।
कोरला नाका हुँदै मुस्ताङबाट काठमाडौंसम्म सामान ल्याउँदा एउटा कन्टेनरको ढुवानी भाडा पाँच लाख रुपैयाँसम्म पुगेको छ। जबकि, तातोपानी र रसुवा नाका सञ्चालनमा हुँदा केरुङबाट काठमाडौंसम्म सामान ल्याउन डेढ लाख रुपैयाँ हाराहारीमा खर्च हुने गरेको व्यवसायी बताउँछन्। ढुवानी लागत तीन गुणाभन्दा बढी पुगेपछि त्यसको प्रत्यक्ष असर बजार मूल्यमा परेको छ।
चालु आर्थिक वर्षमा तातोपानी र रसुवा नाका बन्द हुँदा दसैंतिहार लक्षित सामानको आयातसमेत प्रभावित भएको थियो। चाडपर्वका लागि आयात गरिएका कतिपय सामान जाडो सुरु भएपछि मात्रै बजारमा आइपुगेका छन्। अहिले जाडोयामका लागि ल्याइएका सामान पनि कोरला नाकामा चाप बढ्नु, हिउँ पर्न थाल्नु र ढुवानी अनियमित हुनुका कारण समयमा बजारसम्म पुग्न सकेका छैनन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले चिनियाँ मुद्रा युआनको मूल्यवृद्धि र ढुवानी भाडा महँगिएकाले जाडोका सामानको मूल्य बढेको बताए। उनका अनुसार रसुवा र तातोपानी नाका बन्द भएपछि व्यवसायीले लामो दूरीको कोरला मार्ग प्रयोग गर्नुपरेको छ। यसले मालसामान आयातमा लाग्ने समय र खर्च दुवै बढाएको छ।

‘कोरलाबाट सामान इम्पोर्ट गर्दा समय बढी लाग्ने, खर्चिलो हुने र भाडा महँगो पर्ने भएकाले कपडाको मूल्य बढ्न गएको हो,’ श्रेष्ठले भने, ‘यतिबेला बजारमा जाडोका सामानको अभाव त छैन, तर मागअनुसार पर्याप्त उपलब्ध हुन सकेको छैन।’
उनका अनुसार चिनियाँ मुद्रा युआन महँगिँदै जानु पनि आयात लागत बढ्नुको अर्को कारण हो। पहिले चीनबाट कम मूल्यमा सामान ल्याएर बिक्री गर्न सकिने अवस्था भए पनि अहिले हरेक वस्तु सस्तो मूल्यमा पाउन कठिन हुन थालेको छ। उत्तरी नाका सहज रूपमा सञ्चालनमा नआएसम्म चिनियाँ सामानको मूल्य घट्ने सम्भावना नरहेको उनको भनाइ छ।
‘तातोपानी र रसुवा नाकाबाट आयात गर्दा ढुवानी भाडा कम पर्थ्यो। यसपालि मुस्ताङबाट पाँच लाख रुपैयाँभन्दा बढी तिरेर पनि चाहेजति सामान आयात गर्न सकिने अवस्था छैन,’ श्रेष्ठले भने।
काठमाडौंको आरबी कम्प्लेक्सस्थित मेट्रो कलेक्सनका सञ्चालक रमेशकुमार सुवेदीले जाडोयामका लागि आयात गरेका केही सामान चीनको खासामा रोकिएको बताए। उनका अनुसार जाडो सिजनलाई लक्षित गरेर अर्डर गरिएका थोरै सामान मात्रै काठमाडौं आइपुगेका छन्। बाँकी सामान बाटोमै रोकिएको जानकारी व्यवसायीले पाएका छन्।
चिनियाँ नाकामध्ये एउटा मात्रै सञ्चालनमा रहँदा कोरलामा आयातको चाप बढेको र त्यसको असर ढुवानी लागत तथा बजार मूल्यमा परेको सुवेदीको भनाइ छ। उनका अनुसार पहिले केरुङबाट काठमाडौंसम्म सामान ल्याउन डेढ लाख रुपैयाँ हाराहारीमा ढुवानी खर्च लाग्ने गरेकोमा अहिले कोरला मार्गबाट ल्याउँदा पाँच लाख रुपैयाँ तिर्दासमेत सामान समयमा आइपुग्न सकेको छैन।
‘अन्य नाकाको तुलनामा कोरला धेरै खर्चिलो छ। त्यसैले सामानको मूल्य १५ प्रतिशतभन्दा बढी वृद्धि भएको हो,’ उनले भने।
सुवेदीका अनुसार अहिले थोक बजारमा गत वर्षको मौज्दात र यस वर्ष आयात भएर आइपुगेका सीमित सामान मात्रै उपलब्ध छन्। व्यवसायीले अर्डर गरेका सामान समयमै नआइपुग्दा आफूले खोजेजस्तो डिजाइन र प्रकारका कपडा पाउन कठिन हुन थालेको छ। यही कारण बजारमा स्वदेशी उत्पादनको उपस्थिति तुलनात्मक रूपमा बढेको उनले बताए।
यद्यपि, बजारमा जाडोका सामानको पूर्ण अभाव भने नरहेको उनको भनाइ छ। ग्राहकले सामान किन्न आउँदा उपलब्ध वस्तुमध्ये रोज्न सक्ने अवस्था भए पनि मागअनुसारको विविधता र परिमाणमा सामान पाउन कठिन भइरहेको छ।
सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले पनि जाडोका सामानको अभाव नभएको बताए। उनका अनुसार व्यवसायीले कोरला, बाइसिपी र बाइएयरलगायतका माध्यमबाट सामान आयात गरिरहेका छन्। नाका सहज नभएकाले मलमा गत वर्षको मौज्दात र यस वर्ष आयात भएका सामान बिक्री भइरहेका छन्।
‘जाडोका सामान आइरहेका छन्। व्यवसायीले कोरला, बाइसिपी र बाइएयरबाट आयात गरिरहेका छन्। नाका असहज भए पनि मलमा गत वर्षको स्टक र यसपालि आयात भएका सामान छन्। ग्राहक आएर सामान नपाइने अवस्था छैन,’ घिमिरेले भने, ‘तर चिनियाँ करेन्सी र ढुवानीको समस्याले मूल्य १० प्रतिशतसम्म बढेको छ।’
उनका अनुसार जाडोयाममा कारोबार हुने सामानको माग निश्चित समयमै बढी हुने भएकाले व्यवसायीले वैकल्पिक माध्यमबाट समेत आयात गर्ने गरेका छन्। तर बाइएयरबाट सामान ल्याउँदा लागत निकै महँगो पर्ने भएकाले सबै वस्तु त्यसरी आयात गर्न सम्भव हुँदैन। बाइसिपी र कोरला नाकाबाट सामान ल्याउँदासमेत पहिलेको तुलनामा ढुवानी खर्च बढेको छ। त्यसको भार अन्ततः उपभोक्ताले तिर्नुपर्ने मूल्यमा परेको घिमिरेले बताए।
न्युरोडका व्यवसायी नरेश कटुवालले पनि चीनबाटै सामान महँगो भएर आउन थालेको बताए। उनका अनुसार चिनियाँ मुद्राको मूल्यवृद्धि र ढुवानी भाडा बढ्दा नेपाली बजारमा चिनियाँ सामानको मूल्य बढिरहेको छ। नाका बन्दको असर तयारी कपडाको आयातमा मात्रै सीमित नरही स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत परेको छ।
रेडिमेड कपडा आयात प्रभावित हुँदा स्वदेशी उद्योगका उत्पादनले बजार पाउने अवसर सिर्जना भएको छ। तर, स्वदेशी उद्योगले प्रयोग गर्ने कच्चा पदार्थसमेत चीनबाट आयात हुने भएकाले त्यसको आपूर्ति नियमित हुन नसक्दा सिजनअनुसारका सामान उत्पादन गर्न समस्या भइरहेको कटुवालले बताए।
‘रेडिमेड कपडा आयात नहुँदा स्वदेशी उत्पादनले पनि बजार पाउने गरेको छ। तर कच्चा पदार्थ समयमा आयात नहुँदा सिजनका सामान उत्पादनमै समस्या देखिएको छ,’ उनले भने।
उत्तरी नाका बन्द भएपछि कोरला नाकाबाट हुने आयात बढेको छ। त्यसको प्रभाव मुस्ताङ भन्सारको राजस्व संकलनमा पनि देखिएको छ। कोरला नाकाबाट हुने आयात बढेपछि मुस्ताङ भन्सारले दैनिक २५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिरहेको जनाएको छ। तर, हिउँ पर्न थालेसँगै नाकाबाट हुने आयात नियमित हुन सकेको छैन। भन्सारका अनुसार कोरला नाका हुँदै कपडा, फलफूल, ओखर र विभिन्न औद्योगिक कच्चा पदार्थ आयात भइरहेका छन्।

व्यवसायीका अनुसार कोरला नाकाबाट आयात बढे पनि यसले तातोपानी र रसुवा नाकाको विकल्पका रूपमा सहज आपूर्ति सुनिश्चित गर्न सकेको छैन। लामो दूरी, मौसमको प्रतिकूलता र ढुवानी खर्चका कारण कोरला मार्गबाट सामान ल्याउनु तुलनात्मक रूपमा महँगो परेको छ। त्यसैले व्यवसायीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन माग गरिरहेका छन्।
नाका बन्द हुँदा दसैंका लागि ल्याइएका सामान जाडो सुरु भएपछि मात्रै बजारमा आइपुगेका छन् भने जाडोयामलाई लक्षित गरी अर्डर गरिएका केही सामान अझै चीनको खासामै रोकिएका छन्। हिउँ पर्न थालेपछि कोरला मार्गबाट हुने ढुवानीसमेत प्रभावित हुन सक्ने चिन्ता व्यवसायीको छ।
सरकारले चिनियाँ पक्षसँग उत्तरी नाका खुलाउन पहल गरिरहेको जनाएको भए पनि तातोपानी र रसुवा नाका करिब चार महिनादेखि बन्द छन्। व्यवसायीका अनुसार यी नाका पुनः सञ्चालनमा नआएसम्म चीनबाट हुने सामानको आपूर्ति सहज हुने र ढुवानी लागत घट्ने अवस्था छैन। त्यसको प्रत्यक्ष असर आगामी दिनमा पनि जाडोका सामानसहित चिनियाँ वस्तुको बजार मूल्यमा पर्ने देखिएको छ।









