काठमाडौं । पूर्व मन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
स्थानीय तह निर्वाचनको मिति हालसम्म तय भएको छ। यद्यपि, यही वर्ष फागुन वा चैतमा निर्वाचन घोषणा हुन सक्ने अनुमान छ। यसबीच काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिने भनेर धेरै नाम चर्चामा आएका छन्। केहीले सामाजिक संजालबाट घोषणा समेत गरेका छन्।
आज सुमनाले पनि सामाजिक संजालमार्फत उम्मेदवारी दिने घोषणा गरेकी हुन्। यसअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद र मन्त्री भएकी थिइन्। पछि उनले पार्टी परित्याग गरेकी थिइन्।
सुमना श्रेष्ठ काठमाडौंको कोर सिटीमा हुर्किएकी हुन्। राजनीतिमा होमिनुअघि उनी सम्पदा संरक्षण अभियानमा संलग्न थिइन्। रास्वपा त्यागेपछि उनी काठमाडौं भित्र आफ्नो भिजिबिलिटी’ बढाउने अभियानमा लागेकी थिइन्। सांस्कृतिक पर्वदेखि स्थानीय मुद्दामा उनले चासो बढाएकी थिइन्।
सुमनाको नाम सामाजिक संजालमा नेपाली कांग्रेसबाट मेयरमा चर्चामा पनि आएको थियो। तर, यसलाई उनले खारेज गरिसकेकी छन्। तर, आजको उम्मेदवारी घोषणाले भने उनी कांग्रेसबाटै लड्न सक्ने चर्चा सामाजिक संजालमा चुलिएको छ।
कांग्रेसबाट काठमाडौं महानगर सभापति सुसन वैद्यको नाम अहिले पार्टी वृत्तमा सर्वाधिक चर्चामा छ। उनीसँगै नयाँ नयाँ आकांक्षीहरु पनि पार्टीमा देखिएका छन्। केही समय अघि मात्रै कांग्रेसमा प्रवेश गरेकी प्रकृति भट्टराई बस्नेतको नाम पनि चर्चामा छ। यद्यपि, अहिले नै कांग्रेसमा उम्मेदवारको नामबारे कुनै छलफल भएको छैन।
काठमाडौंबाट यसअघिको प्रतिनिधिसभामा पार्टी सभापति गगन थापाले क्षेत्र नम्बर ८ बाहेक कुनै पनि नेवार उम्मेदवारलाई टिकट दिएका थिएनन्। यसबारे उनीसँग पार्टी समितिहरुले गुनासो पोखेका थिए। त्यसैले यसपटक उनलाई उम्मेदवार छान्नुपर्ने दबाब पनि रहनेछ।
काठमाडौं महानगरको मेयर पद छाडेका बालेन्द्र शाह हाल प्रधानमन्त्री छन्। महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोलले सम्हालिरहेकी छन्।
सुनिता यसपटक मेयर पदकी प्रबल दावेदार हुन्। उनी यसअघिको निर्वाचनमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन्। कार्यवाहक मेयर भएपछि सुनिताले महानगरमा आफ्नो ‘भिजिबिलिटी’ ह्वात्तै बढाएकी छन्। पछिल्लो समय महानगरले आयोजना गरिरहेको कार्यक्रमले पनि यसलाई दर्साउँछ।
युवादेखि वृद्धवृद्धासम्ममा सुनिताले अहिले राम्रो छाप छाडिरहेकी छन्। त्यसैले अहिले काठमाडौंमा सुनितालाई टक्कर दिन सक्ने उम्मेदवार को होला भनेर महानगरमा चर्चा चलिरहेको छ।
रास्वपामा काठमाडौंमा उम्मेदवार बनाउने बारे समिति नै बनाएर आवेदन आह्वान भएको छ। तर, यहाँ ३ जना नेताको टक्कर हुने देखिन्छ। विराजभक्त श्रेष्ठले महानगरमा आफ्नो उम्मेदवारलाई अघि बढाउन भरपुर प्रयास गर्ने देखिन्छ। यद्यपि, रास्वपा काठमाडौं महानगरको चुनावमा भने उनी समर्थित गणपतिलाल श्रेष्ठ पराजित भएका थिए। सभापतिमा रवि निकट कमलप्रसाद पन्त निर्वाचित भएका थिए। उनले महानगर मेयरमा दाबेदारी प्रस्तुत गरिरहेको बताइन्छ।
यद्यपि, काठमाडौं जिल्ला सभापतिमा भने विराजभक्त निकट राजा शाक्य जितेका थिए। पन्त, राजा र गणपतिलाललाई पनि रास्वपामा उम्मेदवारका रुपमा हेरिएको छ।
यो पदमा प्रधानमन्त्री बालेन्द्र शाहको चासो पनि उत्तिकै छ। उनले तय गर्ने उम्मेदवारले काठमाडौंमा प्राथमिकता पाउने चर्चा पनि रास्वपा वृत्तमा छ।
यता, श्रम संस्कृति र उज्यालो नेपालले पनि युवा अनुहार खोजिरहेको छ। पछिल्लो समय दुवै दलका नेताहरुले काठमाडौं महानगरको दौडाहालाई बढाएका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिन्छु भर्ने अभियान्ता र युवाहरुको संख्या पनि सामाजिक संजालमा बढ्दो छ।









