काठमाडौं। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको टोलीले पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको माग गरेको छ।
एसोसिएसनका अध्यक्ष सागर ढकालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीलाई भेटेर कार्यान्वयनमा जोड दिएका हुन्। ढकालले कार्ययोजनालाई समयमै कार्यान्वयन गर्न सके नेपालको पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान हुने जिकिर गरे।
उनले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
नेप्सेका सीइओ सुवेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए। उनले अर्थ मन्त्रालयको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको दुवै पक्षको धारणा थियो। एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।








