रेकर्ड मूल्य बनाउने अनुमानविपरीत सुनको मूल्यमा निरन्तर गिरावट, १५ महिनायताकै सस्तो

बिजमाण्डू
२०८३ मंसिर २ गते ०८:१० | Nov 18, 2026
रेकर्ड मूल्य बनाउने अनुमानविपरीत सुनको मूल्यमा निरन्तर गिरावट, १५ महिनायताकै सस्तो

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १५ महिनायताकै न्यून विन्दुमा झरेको छ। सन् २०२६ मा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने अनुमान गरिए पनि पछिल्लो समय निरन्तर गिरावट देखिएको हो।

GBIME
Tata

बुधबार सुनको मूल्य १.२० प्रतिशतले घटेर प्रतिऔंस ३ हजार ८०३.२४ डलर कायम भएको छ। यो सन् २०२५ अक्टोबरको सुरुवातयताकै न्यून मूल्य हो।

पछिल्लो समय सुनको मूल्यमा उतारचढाव देखिँदै आएको थियो। सोमबार १३ महिनायताकै न्यून विन्दुमा झरेको मूल्य मंगलबार भने केही सुधार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा यस वर्षको सुरुवातदेखि हालसम्म सुनको मूल्य करिब १२ प्रतिशतले घटिसकेको छ। गत जनवरीमा कायम भएको प्रतिऔंस करिब ५ हजार ६०० डलरको उच्च विन्दुबाट मूल्य अहिले ३२ प्रतिशतले तल झरेको छ।

फोर्ब्सका अनुसार सुनको मूल्यमा आएको गिरावटले सन् २०१५ यताकै खराब वार्षिक प्रदर्शनको संकेत गरेको छ। यसले सन् २०२६ मा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने प्रारम्भिक अनुमानलाई चुनौती दिएको छ।

नेपालको अवस्था

विश्व बजारमा देखिएको ‘ट्रेन्ड’ नेपाली बजारमा नदेखिने कुरै भएन। तिहार सकिएपछि सुनको मूल्य १७ हजार १०० रुपैयाँ सस्तिएको छ।

मंगलबार पनि सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले सस्तियो। मंगलबार सुन प्रति तोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भयो।

सुनको भाउ सोमबार तोलामा १ हजार १०० र आइतबार १ हजार ५०० रुपैयाँ घटेको थियो।

सुन कात्तिक २३ गते प्रति तोला २ लाख ८४ हजार ३०० रुपैयाँका दरले किनबेच भएकामा तिहार सकिएपछि २७ गते २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको थियो।

गत वर्ष पुस माघ १५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। करिब १० महिनामा सुनको मूल्य तोलामा ७२ हजार रुपैयाँले घटेको छ।

किन घटिरहेको छ भाउ ?

विश्लेषकहरूले सोमबार मूल्य घट्नुको मुख्य कारण निरन्तरको महँगी रहेको बताएका छन्। मंगलबार पनि सुनको मूल्यले रफ्तार समाउन सकेन।

उनीहरुका अनुसार महँगीले अमेरिकामा थप ब्याजदर वृद्धिको अपेक्षालाई बल पुर्‍याएको छ। अमेरिकी डलर बलियो बन्दा  र निरन्तरको मुद्रास्फीतिले मूल्य बढाउन सहयोग पुगेको हो।

त्यसमाथि आगामी महिना अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने बढ्दो अपेक्षाबीच सुनको मूल्य बढ्ने अपेक्षा बजारले गरेको छैन। अक्टोबर महिनाको अमेरिकी मुद्रास्फीति ०.३ प्रतिशतको प्रक्षेपणविपरीत ०.४ प्रतिशत पुगेपछि अमेरिकी केन्द्रीय बैंकले आगामी डिसेम्बरमा ब्याजदर आधा प्रतिशतले बढाउने सम्भावना बलियो बनेको बजार बुझाइको छ।

अहिले सुनको मूल्य घटिरहनुको मुख्य कारण अमेरिकी केन्द्रीय बैंकले गर्न सक्ने सम्भावित निर्णय रहेको बताइन्छ।

बजारले आगामी दिनमा उच्च ब्याजदरको अपेक्षा गरेकाले डलर बलियो बनेको विज्ञहरुले बताएका छन्। यसले सुनको मूल्यमा थप गिरावटको जोखिम बढाएको बताइन्छ।

विश्लेषकहरुले आगामी डिसेम्बरमा अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाउने लगभग निश्चित रहेको बताएका छन्। उच्च ब्याजदरले सामान्यतया बहुमूल्य धातुको मूल्यमा गिरावट ल्याउने गरेको छ।

फेडरल बैंकका अध्यक्ष केभिन वार्सले सोमबार सान फ्रान्सिस्कोस्थित फेडरल रिजर्भ बैंकमा सम्बोधन गरेका थिए। तर, उनले डिसेम्बरमा ब्याजदर बढाउने सम्भावनाबारे भने केही उल्लेख गरेनन्। यद्यपि, उनले एआईले अर्थतन्त्रमा महत्त्वपूर्ण प्रभाव पार्ने र भविष्यको मौद्रिक नीतिमा यसको गहिरो असर रहने धारणा राखेका थिए।

अर्कोतर्फ एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जुसन हुआङको राजीनामापछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भविष्यबारे पनि बजारमा चिन्ता बढेको छ। यसले पनि बजारको जोखिम लिने मनोविज्ञानमा दबाब सिर्जना गरेको विश्लेषकहरुको मत छ।

मूल्यको उतावचढाव

सुन र चाँदी गत जनवरीमा पुगेको कीर्तिमानी उचाइबाट निकै तल पुगेको हो। यस वर्षको सुरुमा सुन ५ हजार ६०० डलरनजिक र चाँदी प्रतिऔंस १२१.३० डलरको कीर्तिमानी उचाइमा पुगेको थियो।

अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनाव, ब्याजदर कटौती र प्रविधि क्षेत्रका उद्योगहरुबाट बढेको मागका कारण महिनौंसम्म सुन र चाँदीको मूल्य उकालो लागेको थियो।

तर, जनवरीको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मौद्रिक नीतिमा कडा मानिने वार्सलाई फेड अध्यक्षमा मनोनयन गर्ने घोषणा गरेसँगै मूल्यमा भारी गिरावट आएको थियो।

यसका साथै, इरान युद्धका क्रममा कच्चा तेलको मूल्य आकासिँदा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको हो।

नोभेम्बर दोस्रो सातासम्म आइपुग्दा भने सुनबारे गरिएका विश्लेषणहरु निकै परिवर्तन हुन पुगे। नोभेमबर तेस्रो सातासम्म अन्तर्राष्ट्रिय बजारको सुनको मूल्य उच्च विन्दुबाट करिब ३० प्रतिशतले घट्यो। नोभेम्बरको सुरुवातमा सुन प्रतिऔंस ४ हजार ५० डलर आसपास कारोबार भएको थियो।

बलियो अमेरिकी डलर, उच्च बन्ड प्रतिफल र ब्याजदर वृद्धिको प्रक्षेपणले ब्याज नआउने सम्पत्ति मानिने सुनमा लगानीकर्ताको आकर्षण घटाएको विश्लेषकहरुको बुझाइ छ।

प्रक्षेपणमा पनि परिवर्तन

विश्वका ठूला वित्तीय संस्थाहरुले सन् २०२६ को अन्त्यसम्मका लागि सुनको मूल्य प्रक्षेपण घटाएका छन्। गोल्डम्यान स्याक्सले २०२६ को अन्त्यसम्मको प्रक्षेपण ४ हजार ६५० डलरबाट घटाएर ४ हजार १५० डलर कायम गरेको छ। सन् २०२७ को अन्त्यसम्ममा सुनको मूल्य ४ हजार ८०० डलर पुग्ने अनुमान गरिएको छ।

बैंक अफ अमेरिकाले चौथो त्रैमासिकमा सुनको औसत मूल्य ४ हजार डलर आसपास रहने र सन् २०२७ को मध्यसम्ममा ५ हजार डलर पुग्ने प्रक्षेपण गरेको छ।  

जे.पी. मोर्गन र सिटीले २०२६ को अन्तिम त्रैमासिकमा ४ हजार ५०० डलर र सन् २०२७ को अन्त्यसम्ममा ५ हजार डलर पुग्ने अनुमान गरेका छन्। यसअघि जेपी मोर्गनले सन् २०२६ मा सुनको मूल्य ६ हजार डलर नाघ्न सक्ने अनुमान गरेको थियो।

वर्षको अन्त्यसम्म सुनको बजार सन्तुलित रहने देखिएको अनुमान विश्लेषकहरुको छ। तेस्रो त्रैमासिकमा विभिन्न देशका केन्द्रीय बैंकहरुले गत वर्षको तुलनामा ४२ प्रतिशत बढी अर्थात् ३२१ टन सुन खरिद गरेका छन्। चीनको केन्द्रीय बैंकले मात्रै अक्टोबरमा २५.८ टन सुन भण्डारणमा थपेको छ।

तर, उच्च मूल्यका कारण गरगहनाको माग १७ प्रतिशत र सुनका सिक्का तथा बारको माग १९ प्रतिशतले घटेको बताइन्छ। सोही अवधिमा रसियाले भने १९ टन सुन बिक्री गरेको बताइन्छ।

विश्लेषकहरुका अनुसार डिसेम्बरमा हुने फेडरल रिजर्भको निर्णय र आगामी मुद्रास्फीति तथ्याङ्कले सुनको आगामी दिशा तय हुनेछ।

महँगी कायम रहे सुनको मूल्य ४ हजार डलर वा ५२ हप्ताको न्यून विन्दु ३ हजार ८६६ डलरतर्फ झर्न सक्ने अनुमान समेत गरिएको छ।

यद्यपि, महँगी नियन्त्रणमा आए पुनः ४ हजार १५० डलरको विन्दु परीक्षण गर्न सक्ने अनुमान गरिएको छ।