काठमाडौं। असुली हुन नसकेर खराब कर्जामा गणना भइसकेको ऋणको भाका अवधि नसकिएसम्म सुरक्षण दाबी भुक्तानी नहुने हालको व्यवस्था परिमार्जन हुने भएको छ।
सुरक्षण गरिएको कर्जा असुली नभई खराब कर्जामा वर्गीकरण भएपछि त्यसको भाका अवधि सकिएपछि मात्रै दाबी गर्न पाउने विद्यमान प्रावधान संशोधन गर्न लागिएको हो।
अहिले ५ वर्ष अवधिका लागि प्रवाह भएको कर्जा दोस्रो वर्षमै बिग्रिएर नउठ्ने अवस्थामा पुग्यो भने बैंकले १०० प्रतिशतसम्म प्रोभिजनिङ (नोक्सानी व्यवस्था) गरिसक्दा समेत सुरक्षण दाबी गर्न नमिल्ने व्यवस्था छ।
निक्षेप तथा कर्जा सुरक्षण नियमावलीमा सुरक्षण गरिएको कर्जा खराब कर्जामा परिणत भए पनि त्यसको भाका नाघेपछि मात्रै माग दाबी भुक्तानी गर्न सकिने उल्लेख छ। यही कानुनी व्यवस्थाका कारण कर्जा नउठे पनि भाका नपुगेसम्म बैंकहरूले सुरक्षण दाबी गर्न पाएका छैनन्।
अब कर्जा बिग्रिसकेपछि भाका अवधि नपर्खि सुरक्षणका आधारमा तत्काल दाबी भुक्तानी गर्न सकिने गरी नियमावली संशोधन गर्ने तयारी अगाडि बढाएको निक्षेप तथा कर्जा सुरक्षण कोषका एक कर्मचारीले जानकारी दिए।
‘हाल सुरक्षण गरिएको कर्जा बैंक तथा वित्तीय संस्थाले उठाउन सकेनन् भने त्यो कर्जाको अवधि सकिएपछि मात्रै सुरक्षण माग दाबी गर्न पाउने व्यवस्था छ,’ ती अधिकारीले भने, ‘यसलाई परिमार्जन गर्न हामीले छलफल अगाडि बढाइसकेका छौं।’
उनका अनुसार कर्जा बिग्रिएर खराबमा गणना भएको १ वा २ वर्ष कुलिङ राखेर दाबी गर्न दिने विषयमा छलफल भइरहेको छ।
हाल पशुधन कर्जा, लघुवित्त तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्यमी कर्जा, कृषि कर्जा, शैक्षिक तथा शैक्षिक बेरोजगारी व्यवसाय कर्जा र निर्यात कर्जाको सुरक्षण हुने गरेको छ।

कर्जा बिग्रिएपछि त्यसले संस्था नै धरासायी हुने अवस्था नआओस् भनेर जोखिम हस्तान्तरणका लागि कर्जा सुरक्षण गरिन्छ। पछिल्लो समय लघुवित्त तथा विपन्न वर्ग कर्जा र एसएमई कर्जा असुली प्रभावित बन्दै गएको छ। ऋण असुली प्रभावित हुँदा त्यसले संस्थाहरुको नाफा मात्रै नभएर लगानी समेत प्रभावित हुन्छ।
कोषको नियमावली अनुसार कर्जाको भाका नाघेको २ वर्षभित्र सुरक्षण दाबी गर्न पाइन्छ। जसअनुसार कोषले दुई किस्तामा माग दाबीको भुक्तानी गरिरहेको छ।
हालसम्म सबैभन्दा धेरै लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण छ। कोषका अनुसार कूल सुरक्षणको ७० प्रतिशत लघुवित्त तथा विपन्न वर्ग कर्जा छ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ कर्जा नउठेपछि केही अवधिको लकइन राखेर सुरक्षण दाबी भुक्तानी दिँदा त्यसले बैंक तथा वित्तीय संस्थालाई राहत पुग्ने बताउँछन्।
‘ऋण नउठ्ने निश्चित भइसकेपछि सुरक्षण गरिएको कर्जाको दाबी वर्षौंसम्म रोक्नु पर्ने कारण छैन,’ उनले भने, ‘केही समय लकइन अवधि राखेर भुक्तानी दिंदा खराब कर्जा व्यवस्थापनमा ठूलो राहत पुग्छ।’
छिमेकी मुलुक भारतमा बैंकहरुको कर्जा नउठेर खराब वर्गमा गए १८ महिनाको लकइन अवधि पूरा गरेपछि सुरक्षणमा दाबी गर्न पाइने व्यवस्था छ। केही समय लकइन कायम गर्दा त्यो अवधिमा बैंक तथा वित्तीय संस्था असुलीमा अझै केन्द्रित होउन् भन्ने मान्यता हुन्छ।

कोषले भाका अवधिअघि नै दाबी भुक्तानी दिंदा बैंक तथा वित्तीय संस्था (लघुवित्तसहित)को निरन्तर बढ्दै गएको खराब कर्जा वृद्धिदर घट्नेछ। वाणिज्य बैंकहरुको औसत खराब कर्जा ५.६३ प्रतिशत र लघुवित्त संस्थाहरुको औसत खराब कर्जा १२ प्रतिशत हाराहारी छ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेसनल लघुवित्तका सीइओ रामबहादुर यादव भाका नाघेपछि मात्रै सुरक्षण माग दाबी गर्न पाउने व्यवस्थाले अफ्ठेरो परेको अवस्थामा यसलाई परिमार्जन गर्नुको विकल्प नरहेको बताए।
‘अहिलेको व्यवस्थाले लगानी प्रभावित हुनुका साथै खराब कर्जा बढिरहेको छ। त्यसैले हामीले नउठेको कर्जालाई खराब कर्जामा गणना गरी १०० प्रति प्रोभिजनिङ गरिसकेपछि सुरक्षण माग दाबी गर्न दिनुपर्छ भनेर भनिरहेका छौं,’ उनले भने।
कोषले कर्जा नउठेपछि सुरक्षण भएको रकमको साँवा ब्याजसहित ७५ प्रतिशत दाबी भुक्तानी गर्छ। दाबी मागअनुरुप पहिलो किस्तामा ७० प्रतिशत र दोस्रो किस्तामा ३० प्रतिशत भुक्तानी हुन्छ। तर सुरक्षण दाबी गर्न बैंक तथा वित्तीय संस्थाले प्रिमियम समयमा तिरेको हुनुपर्छ।
त्यसैगरी, कर्जा नउठेको पुष्टि हुने आधारका रुपमा कर्जाको स्टेटमेन्ट, कर्जा निरीक्षण प्रतिवेदन र कर्जा असुलीको ताकेता गरेको प्रमाण पेस गर्नुपर्छ।
कोषले कृषि र एसएमई कर्जाको हकमा भने उठ्न बाँकी साँवा तथा कर्जाको क्रमश: ७० र ८० प्रतिशत सुरक्षण दाबी भुक्तानी गर्ने गरेको छ।









