काठमाडौं। एमसीसी परियोजना अन्तर्गत सडक मर्मतमा नयाँ प्रविधि प्रयोग गरिने भएको छ। पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडक चौडा बनाउन फूल डेप्थ रिक्लेमेसन उपकरण प्रयोग गरिने भएको हो।
आयोजना कार्यान्वयन गरिरहेको एमसीए नेपाललका अनुसार सडक स्तरोन्नतिका लागि फूल डेप्थ रिक्लेमेसन उपकरण दाङ पुगेको छ। सडक स्तरोन्नतिका लागि नेपालमै पहिलोपटक आधुनिक प्रविधि प्रयोग गर्न लागिएको हो।
फूल डेप्थ रिक्लेमेसन उपकरणले विद्यमान सडकबाट प्राप्त हुने अस्फाल्ट लगायत सामग्रीको पुनः प्रयोग गरी अझ टिकाउ, किफायती र वातावरणमैत्री सडक निर्माण गर्ने एमसीए नेपालले जनाएको छ।

आयोजनाका अनुसार धानखोला-लमही सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर सडकलाई १२ मिटर चौडा पनि बनाइनेछ।








