काठमाडौं। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा व्यापार बढे पनि अधिकांश होटल नोक्सानीमा देखिएका छन्।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ८ मध्ये ५ वटा होटलले व्यापार बढाए पनि ६ वटा नोक्सानीमा देखिएका हुन्। ३ वटा होटलको व्यापार नै घटेको छ।
सोल्टी, ओरियन्टल, चन्द्रागिरी हिल्स, बन्दीपुर केबलकार र होटल फरेस्ट इनले आम्दानी बढाउँदा तारागाउँ रिजेन्सी, कालिञ्चोक दर्शन र सिटी होटलको घटेको हो।
पहिलो त्रैमासमा सबैभन्दा धेरै सोल्टी होटलले ७२ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम पोहोर पहिलो त्रैमासको तुलनामा १४.८९ प्रतिशत धेरै हो। सोल्टीले पोहोर पहिलो तीन महिनामा ६२ करोड ७९ लाख रुपैयाँको व्यापार गरेको थियो।
आम्दानीमा सुधार हुँदा सोल्टीले नाफा १५.२ प्रतिशतले बढाएको छ। तीन महिनामा सोल्टी र चन्द्रागिरी हिल्स मात्रै नाफामा छन्।
पहिलो तीन महिनामा चन्द्रागिरी हिल्सले २ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ। पोहोर पहिलो त्रैमासमा चन्द्रागिरी हिल्स १ करोड २४ लाख रुपैयाँ नोक्सानीमा थियो। यो वर्ष असोजसम्म चन्द्रागिरीको व्यापार ३७.४२ प्रतिशतले वृद्धि भएको छ। १९ करोडको व्यापार भएपछि चन्द्रागिरी नाफामा गएको हो।
दुई आर्थिक वर्षको पहिलो त्रैमासको नाफा
| होटल | आव २०८३/८४ साउन-असोजको (नाफा हजारमा) | आव २०८२/८३ साउन-असोजको (नाफा हजारमा) | फरक % |
| सोल्टी | १,४२,३७५ | १,२३,५८६ | १५.२ |
| तारागाउँ रिजेन्सी | -३२,५६५ | -२३,७४२ | – |
| ओरियन्टल | -२,८०० | -२९,५५५ | – |
| चन्द्रागिरी हिल्स | २८,३११ | -१२,४३१ | – |
| कालिञ्चोक दर्शन | -४,५९६ | -३,३८६ | – |
| सिटी होटल | -४०,०३३ | -५५,६५२ | – |
| बन्दीपुर केबलकार | -१५,३९९ | -१७,९३९ | – |
| होटल फरेस्ट इन | -४९,९४८ | -६५,०१२ | – |
पहिलो त्रैमासमा ओरियन्टल, सिटी होटल, बन्दीपुर केबलकार र होटल फरेस्ट इनले नोक्सानी घटाएका छन्। तारागाउँ रिजेन्सी र कालिञ्चोक दर्शनको नोक्सानी बढेको छ।
होटल फरेस्ट इन सबैभन्दा धेरै ४ करोड ९९ लाख रुपैयाँ नोक्सानीमा छ। व्यापार ३.८९ प्रतिशतले बढेपछि होटलले नोक्सानी घटाएको छ। होटल फरेस्ट इन पोहोर पहिलो त्रैमासमा ५ करोड ५० लाख रुपैयाँ घाटामा थियो।
तारागाउँ रिजेन्सीको व्यापार ९६.३२ प्रतिशतले घटेको छ। पहिलो त्रैमासमा होटल ३ करोड २५ लाख रुपैयाँ नोक्सानीमा छ। पोहोर भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि बन्द भएको होटल अझै सञ्चालनमा आएको छैन।
दुई आर्थिक वर्ष पहिलो त्रैमासको व्यापार
| होटल | आव २०८३/८४ साउन-असोजको (आम्दानी हजारमा) | आव २०८२/८३ साउन-असोजको (आम्दानी हजारमा) | फरक % |
| सोल्टी | ७,२१,४१२ | ६,२७,९४० | १४.८९ |
| तारागाउँ रिजेन्स | ७,५०१ | २,०३,८२० | -९६.३२ |
| ओरियन्टल | २,५८,४९२ | २,१९,७७० | १७.६२ |
| चन्द्रागिरी हिल्स | १,९०,६०९ | १,३८,७०७ | ३७.४२ |
| कालिञ्चोक दर्शन | ४,९७७ | ७,९८५ | -३७.६७ |
| सिटी होटल | १,०२,६४१ | १,०७,५८६ | -४.६ |
| बन्दीपुर केबलकार | १३,०३३ | १२,८२७ | १.६१ |
| होटल फरेस्ट इन | ४५,८४० | ४४,१२४ | ३.८९ |








