काठमाडौं। काठमाडौं गोर्खाजले लुम्बिनी लायन्ससामू १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंले प्रभावशाली ब्याटिङ सुरुवात गर्दै सुरुवाती १० ओभरमै ९० रन बनाइसकेको थियो। त्यसपछि भने लुम्बिनीका बलर हाबी हुँदै काठमाडौंको गति रोके।
१६.२ ओभरमा पुग्दा काठमाडौं ११७-४ को स्थितिमा थियो। त्यस्तै, इनिङ्स टुंगिँदा काठमाडौं १६०/६ को स्थितिमा रह्यो।


काठमाडौंका लागि डेभिड वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरे। वार्नरले ५० बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६६ रन बनाए। उनलाई शेर मल्लले सुन्दीप जोराबाट क्याचआउट गराए।
त्यस्तै, करण केसी तेस्रो नम्बरमा ब्याटिङ गर्न आए पनि ९ रनभन्दा धेरै रन बनाउन सकेनन्। सहान अरागिचे भने १५ बलमा ३४ रन बनाउँदै अविजित रहे।


बलिङमा लुम्बिनीका अभिषेश गौतम, शेर मल्ल र रुबेन ट्रम्पलमेनले समान २ विकेट लिए।
लुम्बिनी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ।
जारी संस्करणमा ४ खेलबाट ७ अंक बनाएको लुम्बिनी एकमात्र अपराजित टोली हो भने काठमाडौंले ३ खेलबाट ४ अंक बनाएको छ। शीर्षस्थानको लुम्बिनी आजको खेल जितेर आफूलाई अझ बलियो स्थितिमा पुर्याउने लक्ष्यमा रहनेछ भने काठमाडौं ६ अंक बनाएर दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ।


लुम्बिनी लायन्स प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, तिलकराज भण्डारी, अभिषेश गौतम, आशिफ शेख, दीलिप नाथ, शेर मल्ल, रुबेन ट्रम्पलमेन, निरोसन डिक्वेला, डार्सी सर्ट, ग्रान्ट स्टेवार्ट, समीम हुसैन
काठमाडौंको प्लेइङ ११
करण केसी (कप्तान), भीम सार्की, रशिद खान, साहिल पटेल, शहाब अलाम, सन्तोष यादव, स्मित पटेल, जहानदाद खान, विल बोसिस्टो, शेहान अरागिचे र डेभिड वार्नर










