काठमाडौं। लगानीकर्ताहरु व्यवसाय विस्तार गर्न तयार नभएका कारण बैंकमा ऋणको माग बढ्न नसकिरहेका बेला विभिन्न कम्पनीले ठूलो लगानी बढाउने गरी हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएका छन्।
संस्थापक लगानीकर्ताले ठूलो रकम हाल्नु पर्ने गरी विभिन्न कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेका हुन्। पुँजी कोषको दबाबले व्यवसाय विस्तार गर्न अप्ठेरो परेका वाणिज्य बैंकदेखि पुँजी बढाउन इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्न लागेका कारण संस्थापक सेयरधनीमा त्यसको भार पर्ने देखिएको छ।
एनआइसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ। पुँजी कोषको दबाबमा रहेको एनआइसीले व्यवसाय विस्तारका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
बैंकको ५१ प्रतिशत सेयर संस्थापक भएकाले हकप्रदको आधाभन्दा बढी रकम अर्थात करिब ४ अर्ब रुपैयाँ संस्थापक सेयरधनीले लगानी गर्नुपर्नेछ।
नेपाल रि-इन्स्योरेन्स पनि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउन साढे ६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने तयारीमा छ। सरकारले कम्पनीको हकप्रद सेयरमा लगानी गर्ने निर्णय गरिसकेको छ। हाल १३ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल रिमा सरकारको ४४.०४ प्रतिशत स्वामित्व छ। सरकारले आफ्नो सेयर बराबरको रकम लगानी गरे पनि बाँकी पैसा अरु सेयरधनीले हाल्नुपर्ने हुन्छ।
सरकारले नेपाल रि-इन्स्योरेन्सको हकप्रद सेयरमा लगानी गर्ने निर्णय गरेसँगै अर्को पुनर्बीमा कम्पनी हिमालयन रि पनि पुँजी वृद्धिको दबाबमा परेको छ।
त्यसो त नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ तोकेका कारण हिमालयन रिले यसअघि नै हकप्रद सेयर निष्कासनको विकल्प पेस गरेको थियो।
हिमालयन रिमा संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत छ। कम्पनीले सतप्रतिशत हकप्रद सेयर निष्कासन गरेमा सर्वसाधारण सेयरधनीबाट ३ अर्ब २६ करोड रुपैयाँ मात्रै रकम संकलन हुन्छ। बाँकी ७ अर्ब ६० करोड रुपैयाँ संस्थापक सेयरधनीले नै लगानी गर्नुपर्ने हुन्छ।
रि-इन्स्योरेन्स र वाणिज्य बैंकको ठूलो हकप्रद सेयर निष्कासनले कम्पनीको पुँजी र संस्थापकको लगानी बढाउने तर वास्तविक औद्योगिक वृद्धि नहुने विश्लेषकहरु बताउँछन्।
‘यसअघि वाणिज्य बैंकको पुँजी वृद्धि गर्दा कम्पनीका सेयरधनीलाई ऋण लिएर हकप्रदमा लगानी गर्न दिइयो। त्यो बेला हकप्रद सेयरमा ५० प्रतिशत रकम कर्जाबाट गएको थियो। त्यसले ठूलो मात्रामा बैंकको पुँजी र ऋण वृद्धि भयो। तर, वास्तविक इन्डष्ट्रियल ग्रोथ गरेन,’ विश्लेषक अनलराज भट्टराईले बिजमाण्डूसँग भने, ‘हामी अहिले फेरि त्यस्तै बाटो खोल्दै छौं। यसले कम्पनीको पुँजी र बैंकको ऋण वृद्धि त गर्छ, तर त्यो लिक्विड नभएको ठाउँमा गएर पैसा बस्छ।’
कम्पनीको हकप्रद सेयरमा लगानीका लागि संस्थापकमाथि ठूलो दायित्व हुने उनले बताए।
‘बैंक र इन्स्योरेन्स कम्पनीले जुन आकारको हकप्रद निष्कासनको गर्छन्, त्यसको ठूलो दायित्व संस्थापकको नै हुन्छ। उनीहरु आफैंसँग त्यत्रो पैसा नहुन सक्छ। त्यसपछि ऋण लिएर लगानी गर्छन्,’ भट्टराईले भने, ‘त्यो सेयर फ्रिफ्लोट छैन। एक्जिट गर्न सहज छैन। त्यसपछि लगानी होल्ड भएर बस्छ।’
सर्वसाधारण लगानीकर्ताले १०० रुपैयाँमा लगानी गरेको रकम बजार मूल्यमा कारोबार गर्न पाउँछन्। तर, बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले साधारण सेयरको मूल्यमा बिक्री गर्न पाउँदैनन्।
‘प्रमोटरले सेयर हालेपछि एक्जिट प्रक्रिया नै गाह्रो छ। फ्रिफ्लोट नभएको सेयरले बजारमा लिक्विडिटी दिँदैन,’ भट्टराईले भने, ‘सरकार र केन्द्रिय बैंकको क्लियर नीति नै भएन। एकातिर बिजनेस कम्युनिटिलाई पैसा थप पनि भनिरहेका छौं। अर्कातिर सेयर यति प्रतिशतभन्दा धेरै हुनु हुँदैन पनि भनिएको छ।’
बैंक र इन्स्योरेन्स मात्र नभइ व्यवसाय विस्तार, ऋण भुक्तानी र नयाँ लगानीका लागि जलविद्युत लगायत क्षेत्रका कम्पनीले पनि ठूलो आकारमा हकप्रद सेयरमार्फत पुँजी जुटाउन चाहेका छन्।
सेबोनमा अहिले ३० कम्पनीको ३३ अर्ब २१ करोड ३८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन अनुमतिको पर्खाइमा छ।
साहस ऊर्जा, राधी विद्युत कम्पनी, सगरमाथा जलविद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, चन्द्रागिरि हिल्स, अरुण काबेली पावर, पिपुल्स हाइड्रोपावर, मोदी इनर्जी, घोराही सिमेन्ट इन्डष्ट्रिजसहितका कम्पनीले हकप्रद सेयर निष्कासन गर्न चाहेका हुन्।
कम्पनीका संस्थापकले आफ्नो हिस्सा अनुसार हकप्रद सेयरमा लगानी गर्छन्। संस्थापक सेयर विद्यमान सेयरधनीले नकिने बढाबढमा बिक्री गरिन्छ।
नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी भने विभिन्न कारण समस्यामा परेका कम्पनीले माथि उठ्नका लागि हकप्रद सेयर ल्याउन लागेकाले व्यावसायिक हिसाबले अवसर रहेको बताउँछन्।
‘हकप्रद सेयर निष्कासनको लाइनमा बिग्रिएका, अगाडि बढ्न नसकेका, नियामकीय मापदण्ड पूरा गर्न नसकेका कम्पनी छन्। यसले ती कम्पनीलाई अगाडि बढ्न, पर्फम गर्नका लागि अवसर प्राप्त हुन्छ,’ उनले भने, ‘कम्पनीका लागि विद्यमान सेयरधनीले पैसा हाले पनि नहाले पनि फाइदा नै हुन्छ। एक्जिस्टिङ सेयरधनीले लगानी नगरे कम्पनीले अक्सनमा लगेर प्रिमियम मूल्यमा बेच्छ। यसले लगानी गर्न चाहने लगानीकर्तालाई समेत लगानीको अवसर प्राप्त हुन्छ।’










