काठमाडौं। कोरोना भाइरसको जोखिम कम हुँदै जाँदा पर्यटन व्यवसायमा परेको सकारात्मक प्रभावसँगै तारागाउँ रिजेन्सी होटल लिमिटेडको नोक्सानी क्रमशः घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ७५ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो।
तारागाउँ रिजेन्सीको घाटा चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ८ करोड ६३ लाख रुपैयाँ कम भएको वित्तीय तथ्यांकमा छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म तारागाउँ रिजेन्सी १२ लाख ५९ हजार रुपैयाँ नोक्सानीमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नोक्सानी ९८.५६ प्रतिशत घटेको हो।
कोरोना संक्रमणको प्रभाव कम हुँदा पर्यटन व्यवसाय सबल हुँदै गएको छ। कम्पनीले व्यवसाय संचालनबापत गर्ने आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २६ करोड ४७ लाख रुपैयाँ छ। आम्दानीमा उत्साहजनक प्रगति देखिएको छ। कम्पनीको आम्दानी १ हजार ११ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा तारागाउँ रिजेन्सी होटलले २ करोड ३८ लाख रुपैयाँ मात्र कमाएको थियो।
१ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी भएको तारागाउँ रिजेन्सी होटलको जगेडा कोषमा २४ करोड २१ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा कम्पनीको जगेडा कोषको आकार भने खुम्चिएको छ। आकार ३६.२० प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको जगेडा कोषमा ३७ करोड ९५ लाख रुपैयाँ सञ्चित थियो।
नाफामा आएको उल्लेखनीय सुधारका कारण कम्पनीको प्रति सेयर आम्दानी पनि सुध्रिएको छ। अघिल्लो पुस मसान्तमा ४.६४ रुपैयाँ नोक्सानीमा रहेको तारागाउँ रिजेन्सीको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ०.०७ रुपैयाँ छ।
कम्पनीको प्रति सेयर नेटवर्थ भने घटेको छ। १२३.२७ रुपैयाँ रहेको प्रतिसेयर नेटवर्थ ११६.१५ रुपैयाँमा सीमित छ।










