जापानको राजधानी टोकियोस्थित एक लक्जरी घडीको पसलबाट करिब २ लाख ९० हजार अमेरिकी डलर (करिब ४ करोड ३९ लाख रुपैयाँ) मूल्य पर्ने स्विस घडी चोरी भएको एक सातापछि नाटकीय रूपमा फिर्ता भएको छ। घडीसँगै चोरले हस्तलिखित माफीपत्रसमेत पठाएको छ।
गत साता ग्राहकको भेषमा पसल पुगेका एक युवकले घडी चोरेका थिए। स्विस लक्जरी ब्रान्ड अडेमार पिगेको उक्त घडी नाडीमा लगाएर हेर्ने बहानामा उनले पसलबाट लिएर भागेका थिए। पसलका कर्मचारीले उक्त घटना प्रहरीलाई खबर गरेका थिए।
तर चोरीको उक्त घटनाले अप्रत्याशित मोड तब लियो, जब पसलमा एउटा प्याकेट आइपुग्यो। जसमा उही घडी र त्यससँगै हातले लेखिएको माफीपत्र थियो। जापानी सञ्चारमाध्यम आसाही सिम्बुनलगायतले सोमबार अनुसन्धानसँग सम्बन्धित अज्ञात स्रोतलाई उद्धृत गर्दै घडी माफीपत्रसहित फिर्ता आएको समाचार सार्वजनिक गरेका हुन्।
प्रहरीले फिर्ता आएको घडीको सिरियल नम्बर परीक्षण गर्दा चोरी भएको त्यही घडी भएको पुष्टि गरेको बताइएको छ। यसले घडीको पहिचान त खुलाएको छ, तर चोरी गर्ने व्यक्ति को हुन् र उनले किन घडी फिर्ता गरे भन्ने प्रश्न भने अझै अनुत्तरित छ।
टोकियो प्रहरीले घडी चोरी गरेको आशंकामा ती पुरुषको खोजी जारी राखेको आसाही सिम्बुनले जनाएको छ। घडी पसलले भने घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
थप विवरणअनुसार, घटना अक्टोबर २९ बिहीबार राति करिब ८ बजे नाकानो वार्डस्थित नाकानो ब्रडवे सपिङ कम्प्लेक्सको तेस्रो तलामा रहेको घडी पसलमा भएको थियो। जापानी सञ्चारमाध्यमका अनुसार ती व्यक्ति पसलमा करिब आठ मिनेट बसेका थिए। कर्मचारीले घडी उनको नाडीमा लगाइदिएपछि उनी अचानक भागेका थिए। घटनाका बेला पसलमा दुई कर्मचारी उपस्थित थिए।
चोरीको तीन दिनपछि आइतबार बिहान कुरियरमार्फत पसलमा प्याकेट आइपुगेको थियो। उक्त प्याकेट जापानकै आइची प्रिफेक्चरबाट पठाइएको अनुसन्धान स्रोतलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमले जनाएका छन्। प्याकेटमा पठाउने व्यक्तिको नाम र ठेगाना पनि उल्लेख थियो। तर प्रहरीले ती विवरण नक्कली हुन सक्ने आशंका गरेको छ। घडी फिर्ता आए पनि चोरी गर्ने व्यक्ति नै त्यसलाई पठाउने व्यक्ति हुन् वा अरू कसैले फिर्ता गरेका हुन् भन्ने खुलेको छैन।
यसअघि गत अगस्टमा पनि यही सपिङ कम्प्लेक्सको पहिलो तलामा रहेको अर्को पसलबाट करिब २० करोड जापानी येन मूल्यका चारवटा विलासी घडी चोरी भएका थिए। उक्त घटनामा संलग्न भएको आरोपमा दुई चिलियन नागरिक पक्राउ परेका थिए र उनीहरूमाथि अभियोगसमेत दर्ता भएको थियो। पछिल्लो घटनामा भने चोरी भएको घडी फिर्ता आइसके पनि शंकास्पद व्यक्ति प्रहरीको खोजीमै छन्।








