काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब एक करोड कित्ता सेयर थपिएको छ। बुधबार नेप्सेमा दुई बीमा कम्पनी र एक वाणिज्य बैंकको सेयर समावेश भएको हो।
कम्पनीहरुको कुल ९५ लाख ९९ हजार ९२१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त बोनस सेयर गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण भएको हो।
आर्थिक वर्ष २०७६/७७ का लागि सूर्य लाइफ इन्स्योरेन्सले कायम चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि प्रिमियर इन्स्योरेन्सले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्दा सेञ्चुरि कमर्सियल बैंकले ५.७५ प्रतिशत वितरण गरेको हो ।
नेप्सेमा सूर्य लाइफ इन्स्योरेन्सको अहिले बोनस सेयर बापतको २८ लाख ७३ हजार ८७६ कित्ता सेयर थप हुँदा प्रिमियर इन्स्योरेन्सको ५१ लाख ९४ हजार ७९६.९६३९ कित्ता सेयर सूचीकृत भएको छ। सेञ्चुरि कमर्सियल बैंकको पनि १५ लाख ३१ हजार २४८ कित्ता थप सेयर सूचीकृत भएको हो। बुधबार सूचीकृत भएका यी सेयरहरुको दोस्रो बजारमा कारोबार भने सेयरधनीहरुको डिम्याट खातामा आए पश्चात मात्र गर्न सकिनेछ।










