काठमाडौं। धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानले सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक विभागका अनुसार आज राति ९ बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
अवरुद्ध सडक खुलाउन सडक विभागले भित्तापट्टिको भाग काटेर सडक विस्तार गर्ने काम तीव्र बनाएको छ। विभागले उपलब्ध जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी सडक सुरक्षित रूपमा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।
विभागको कार्ययोजनाअनुसार भोलि बिहान ७ बजेदेखि दुईतर्फी सवारी सञ्चालनका लागि आवश्यक सडक विस्तारको काम सुरु गरिनेछ। मौसम र अन्य परिस्थिति अनुकूल रहेमा भोलि साँझ ६ बजेसम्म सडक विस्तार सम्पन्न गरी दुईतर्फी आवागमन खुलाइनेछ।









