काठमाडौं। वायुसेवा प्रदायक कम्पनीले नजिकिएको दसैंको मौका छोपेर हवाई भाडादर बढाएको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले चासो दिएका छन्।
बालेनको चासोपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिलाई बझलाएर छलफल गरेको छ।
बालेनले सर्वसाधारणबाट आएको गुनासो सम्बोधन गर्न निर्देशन दिएपछि क्यानले कम्पनीलाई बोलाएर छलफल गरेको हो। छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र भाडादरबारे सूचना सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवामा न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिंदै आएको छ।
वायुसेवा प्रदायक कम्पनीले अहिले काठमाडौंबाट सबैभन्दा टाढा धनगढीको भाडा २२ हजारभन्दा बढी पुर्याएका छन्। दिल्ली जानभन्दा धनगढीको भाडा महँगो भएको भन्दै सामाजिक सञ्जालमा अहिले सरकारमाथि प्रश्न उठाइएको छ।








