
वीरगंज। कोरोना संक्रमणको दर घट्दा यसपटक विद्यालय निर्वाध चल्छन् र सरस्वती पूजाका लागि बनाइएका माटाका मूर्तिको कारोबार नाफामा जान्छ भन्ने ठानेका वीरगंजका मूर्तिकार निराश छन्। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले जनजीवन प्रभावित हुन थालेपछि पछिल्लोपटक बन्द गरिएका शैक्षिक संस्थाहरु अझै खुलिसकेका छैनन्।
दुई/तीन महिना अघिदेखि नै सरस्वतीको मूर्ति धमाधम बनाइएको थियो। मूर्तिकारहरु यसपटक अघिल्लो वर्षको भन्दा बढी घाटा हुने भन्दै अब चिन्तित छन्। यसपटकको सरस्वती पूजा आइतबार परेको छ। शनिबारसम्म मूर्तिको बिक्री राम्रो भइसकेको छैन।
वीरगंजका छपकैया, घुसुकपुर, लक्ष्मीनारायण मन्दिर, रेलवे सडक, बिपी उद्यान, नेशनल ट्रेडिङ, सिद्धार्थ स्कूल, नगवा पोखरी, भिस्वा लगायतका ठाउँमा नेपाली र भारतीय मूर्तिकारहरुले सरस्वतीको मूर्ति बनाएर ग्राहक पर्खिरहेका छन्।
वीरगंज-११ नेशनल ट्रेडिङ अगाडि मूर्ति बनाएका मनोज कुमारले यसपटक बनाइएकामध्ये आधा पनि बिक्री नभएको बताए। 'मैले यसपटक ५० वटा मूर्ति बनाएको छु, २० वटा मात्र बिक्री भयो,' उनले भने, 'शनिबार साँझसम्म सबै बिक्री भइसक्नुपर्ने हो तर अर्डर नआएको देख्दा घाटा हुन्छ भन्ने पक्का छ।'
.jpg)
मूर्तिकारको अपेक्षा धेरै भएर यसपटक धेरैतिर मूर्ति बिक्रीमा छन्। मनोजले ७० वटा बनाउँदा सबै बिक्री भएको सुनाए। 'योपल्ट पोहोरभन्दा२० वटा कम बनाएको छु, आधा पनि बिक्री भएको छैन,' उनले भने ।
सरस्वतीको मूर्ति वीरगंजमा २५ सयदेखि ९ हजार रुपैयाँसम्मको बनाइएका छन्। सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गरेपछि केही मूर्तिकारहरुले भने हतार हतार मूर्ति बनाउन कम गरेका थिए। महँगो माटो, रङ र सजावटका सामान र श्रममा पर्ने लगानीको अनुपातमा फाइदा पाउन योपटक गाह्रो भएको मूर्तिकारहरुले बताएका छन्।











