‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गरेको अभियोगमा चार जना पक्राउ

बिजमाण्डू
२०८३ असोज १५ गते १२:५८ | Oct 1, 2026
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गरेको अभियोगमा चार जना पक्राउ


काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Vigo
GBIME
Tata

पक्राउ पर्नेहरूमा ललितपुर-१५ बस्ने काभ्रेका ३२ वर्षीय वीरेन्द्र तामाङ, काठमाडौं-९ बस्ने मकवानपुरका ३८ वर्षीय कमल प्रसाद गौतम, काठमाडौं-१४ बस्ने अछामका ३३ वर्षीय गणेश बहादुर बुढा र गोकर्णेश्वर-९ बस्ने रामेछापका ४४ वर्षीय बद्री कुमार तामाङ छन्।

वीरेन्द्रले बेलायत पठाइदिने भन्दै १ जनाबाट ९ लाख रूपैयाँ र कमलले रोमानिया पठादिने भन्दै १ जनाबाट १ लाख रूपैयाँ लिएका थिए। त्यस्तै, गणेशले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै २ जनाबाट ३ लाख रूपैयाँ तथा बद्रीले पोल्याण्ड पठाइदिने भन्दै ५ जनाबाट २१ लाख ८९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्रेको हो। प्रहरीले वीरेन्द्रलाई ललितपुर-३ बाट, कमललाई काठमाडौं-७ बाट र गणेशलाई काठमाडौं-१३ बाट मंगलबार तथा बद्रीलाई गोकर्णेश्वर-९ बाट बुधबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।