कोलकाताबाट विराटनगरसम्म कार्गो रेल ल्याउन मोरङका व्यवसायीको पहल, सरकारलाई दबाब दिने



बिजमाण्डू
२०७८ माघ १९ गते ११:२७ | Feb 2, 2022

विराटनगर। भारतको सीमावर्ती रेल स्टेसन बथनाहाबाट विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसीपी)सम्म आइपुगेको रेलमार्गमा कोलकाता बन्दरगाहबाट कार्गो रेल ल्याउन मोरङका उद्योगीले पहल थालेका छन्।

Tata
GBIME
Nepal Life

मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजालका नेतृत्वमा मोरङका व्यवसायीहरुको एक टोली आइसीपी, विराटनगर भन्सार र रेलमार्ग पुगेका थिए। अध्यक्ष रिजालका अनुसार विराटनगरको आइसीपीसम्म रेलमार्ग आइपुगेको छ र भारतीय पक्षले त्यस ठाउँमा धमाधम यार्डको निर्माण गरिरहेको छ ।

भारतीय रेलवेले बथनाहादेखि विराटनगरको आइसीपीसम्मको रेलमार्गमा ३ वर्षअघि नै रेल सञ्चालनको सफल परीक्षण गरिसकेको अध्यक्ष रिजालले बताए।

उनले भारतसित सशक्त कूटनीतिक पहल भएमा आइसीपीसम्म कार्गोरेल ल्याउन सकिने विश्वास व्यक्त गरे।

रिजालले आइसीपीमा कन्टेनर लोड-अनलोडका लागि नेपाल पक्षले केही खाली ठाउँमा माटो भर्ने काम मात्र बाँकी देखिएको जानकारी दिए।

उनले भारतीय पक्षले आइसिपी नजिकको रेल स्टेसनमा आगामी मार्चभित्र पक्की यार्डको निर्माण गरिसक्ने उल्लेख गर्दै धमाधम काम भएमा अप्रिलको अन्तसम्ममा त्यहाँ कार्गोरेल ल्याउन सकिने दाबी गरे।

‘हामीले स्थलगत अवलोकन गरेर त्यहाँको सबै वस्तुस्थिति बुझ्यौं,’ संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले भने, ‘अब भौतिक योजना मन्त्रालय, वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, रेल विभाग लगायतका निकायमा संघको टोली नै गएर कार्गो रेल ल्याउन अनुरोध गर्नेछौं।’

उनका अनुसार विराटनगरको आइसीपीसम्म कार्गोरेल ल्याउन भारतको रेल विभाग पनि सकारात्मक छ। तर यसका लागि प्रधानमन्त्री वा परराष्ट्र मन्त्रीका तहमा दह्रो कूटनीतिक प्रयासको खाँचो छ।

उनले नेपालले भारतसित अविलम्ब कार्गो रेलको सम्झौता टुङ्ग्याउन व्यापार संघले दबाब दिने बताए।  

स्थलगत निरीक्षणमा वरिष्ठ उपाध्यक्ष राठीसहित संघका सचिव संजय श्रेष्ठ तथा कार्यकारी सदस्यहरू दीपेश सुवेदी, अमित सारडा, सुशील सुराना, अमित राठी लगायतको सहभागिता थियो।