काठमाडौं । ‘कवि बाँच्छ, कविता बाँच्छ- जीवन रमाउँछ,’ कवि तथा उद्यमि वसन्त चौधरी जब दुर्गालाल श्रेष्ठलाई भेट्न पुगे, तब उनले यीनै शब्दहरु सुनाएका थिए आफ्ना गुरुलाई। बुढानीलकण्ठस्थित निवास पुगेर चौधरीले श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्दै गर्दै नजिकै बसेर भनेका शब्दहरु अझै ताजै छ उनको स्मरणमा।
वृद्ध अवस्थामा पनि आफूलाई भेट्न आउने केहीलाई चिन्न सक्ने खुबी थियो श्रेष्ठको। यही वर्षको सुरुवाती महिनामा उनको स्वास्थ्य अवस्था बुझ्न चौधरी बुढानीलकण्ठ पुगेका थिए। त्यसबेला श्रेष्ठलाई भदौमा नागरिक अभिनन्दन गर्ने र उनको किताब प्रकाशित गर्ने तयारीको चर्चा पनि भएको थियो। तर, भदौ १ गते नै जनकवि दुर्गालाल श्रेष्ठको निधन भयो।
असोज १३ गते आज श्रेष्ठको ४५ औं पूण्यतिथीको अवसर पारेर उनका ६ वटा कविता संग्रह पनि विमोचन गरिएको छ। वसन्त चौधरी फाउन्डेसन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा ललितपुरमा ‘अक्षरयात्रा दशक आठ’ कार्यक्रम गरिएको थियो।
सो कार्यक्रममा आफू श्रेष्ठको शिष्य रहेको बताउँदै वसन्त चौधरी निकै भावुक सुनिए। ‘विरलै यस्ता स्रष्टा जन्मिन्छन् जसको लेखन समय भन्दा लामो इतिहास भएर बाँची रहन्छ,’ उनले भने।
दुर्गालाल सदा अक्षरमा बाँचिरहेको सुनाउँदै चौधरीले अक्षरभन्दा लामो जीवन अरु केही नहुने भन्दै श्रेष्ठ अक्षरमा सदा अमर रहने बताए।
‘मलाई अक्षरको उज्यालो दिने गुरु उहाँ नै हुनुहुन्छ। मलाई उहाँले कवितामा अक्षरमात्रै संयोजन गर्न सिकाएका थिएनन्। उनले शब्दभित्र मनुष्य खोज्य पनि सिकाउनुभयो,’ श्रेष्ठप्रति अक्षराञ्जली अर्पण गर्दै वसन्त चौधरीले भने।
चौधरीले श्रेष्ठलाई सम्पदाको संज्ञाद दिँदै भने, ‘जब कोही कविता भन्दा लामो बाँच्छ, जब विचार आफ्नो पुस्ता भन्दा धेरै टाढा सम्म पुग्छ, त्यसपछि त्यो साहित्य केवल साहित्य रहँदैन त्यो सभ्यताको सम्पदा बन्नुपर्छ।’
चौधरीले आज आयोजित कार्यक्रममा श्रेष्ठले लेखेको कवितालाई लयबद्ध गरेर गीति शैलीमा वाचन पनि गरेका थिए। नेपालभाषाको पीजा कविता संग्रहको कविताको केही अंशलाई चौधरीले नेपाली भाषामा वाचन गरेका थिए।
‘यो प्यालाभरी फीँज उठाई
नाच्छिन् जबतक मदिरमती
जब तक यो हावा लठ्याई
मुहुनी भर्छिन् राजमती…
पार प्रिये! लौ, मदिरा पार
किन लिनु चिन्ता जे होस् होस्…’
आफ्ना कविताका लागि चिनिएका वसन्त चौधरी नेपालभाषामा बोल्न जान्दछन्। उनका नेपालीसहित नेपालभाषामा कविता पनि प्रकाशित छन्। काठमाडौंको भित्री शहरमा हुर्किएका चौधरी अझै पनि नेवार साथीभाइ भेट्दा नेपालभाषामा नै कुरा गर्ने गर्छन्। यसैक्रममा आज कार्यक्रममा उनले श्रेष्ठको पीजा कविताको नेपाली अनुवादलाई लयबद्ध गरेर वाचन गर्दै गर्दा उपस्थित स्रोताहरु मन्त्रमुग्ध भएका थिए।
पीजा भनेको नेपालभाषामा फीँज हो। सलिँचामा अ्यला (मदिरा) राख्दा आउने फीँजको नाममा श्रेष्ठले यो कविता लेखेका थिए। चौधरीले आफ्नो आवाजमा श्रेष्ठका रचना वाचन गर्नु आफ्नो लागि गौरवको क्षण भएको बताएका थिए। त्यसक्रममा उनले श्रेष्ठले छोडेर गएको शब्दको विरासतलाई भावी पुस्तासम्म पुर्याउन आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
‘… मेटिदैनन् अक्षर कहिल्यै, न त जान्छ हराएर
हर अक्षरमा बस्नेछौ तिमी, युग युग मनमा रमाएर’
श्रेष्ठको कवितालाई गीति शैलीमा वाचन गरेर चौधरीले आफ्ना पनि शब्द थप्दै अक्षराञ्जली दिएका थिए।

वसन्त चौधरी फाउन्डेसन र दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रममा श्रेष्ठका अप्रकाशित कृतिहरु मध्ये ६ वटाको विमोचन गरिएको थियो। सयौं कविता लेखेका श्रेष्ठका अझै दुई दर्जन कविता संग्रह अप्रकाशित नै छन्।
आज प्रकाशित गरिएका कविता संग्रहरुमा हामायू, काँडामा कविता, फुल्न बाँकी, थुगु थुलिं ख: कि जिं छुं मथू, पीजा छन्। पीजा र हामायू नेपाली र नेपाल भाषामा पनि छ।
आजको कार्यक्रममा श्रेष्ठलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मरणोपरान्त ‘जनकवि अक्षरमहर्षि दुर्गालाल श्रेष्ठ’ उपाधि प्रदान गरिएको घोषणा गरिन्।
‘जीवितै छँदा गत भाद्र महिनामा नागरिक अभिनन्दनमार्फत यो सम्मान दिने तयारी भइरहेको थियो। तर, उनको निधन भयो। अहिले हामीले उहाँको सम्मानमा यो कार्यक्रम गर्न पाउँदा निकै गौरव महसुस भइरहेको छ। श्रेष्ठको भाषा र साहित्यप्रतिको समर्पण भावी पुस्ताका लागि अनुकरणीय छ,’ डंगोलले भनिन्।
कार्यक्रममा डा अभि सुवेदी र ज्योति तुलाधरले प्रकाशित कविता संग्रहको समीक्षा गरेका थिए। उनीहरुले श्रेष्ठका कविताहरु निकै सरल भाषामा निकै शक्तिशाली भएको बताएका थिए। शब्दको मार्फतबाट श्रेष्ठ अमर रहने उनीहरुको भनाइ थियो।
‘अक्षरयात्रा आठ दशक’ नाम दिइएको कार्यक्रमको न्वारन श्रेष्ठले नै गरेका थिए। आजको कार्यक्रममा श्रेष्ठका कविताहरुलाई अन्य कविहरुले वाचन पनि गरेका थिए। साथै, श्रेष्ठप्रति सम्मान गर्दै उपस्थितहरुले उनीबारे आफ्नो विचार कागजमा लेखेका थिए। ती कागजहरु एकसाथ देखाएर श्रेष्ठप्रति नागरिक सम्मान गरिएको थियो।











