विद्युतीय गाडीको दुर्घटनालाई कसरी बुझ्ने? ब्रेक, स्टेयरिङ, डोर लक र एयरब्यागबारे जान्नैपर्ने कुरा

बिजमाण्डू
२०८३ असोज १५ गते ०६:३० | Oct 1, 2026
विद्युतीय गाडीको दुर्घटनालाई कसरी बुझ्ने? ब्रेक, स्टेयरिङ, डोर लक र एयरब्यागबारे जान्नैपर्ने कुरा


सडकमा विद्युतीय सवारीसाधन (इभी)को संख्या बढ्दै गएसँगै यसको प्रविधि र सुरक्षा प्रणालीबारे चासो पनि बढेको छ। यो स्वाभाविक पनि हो। प्रयोगमा आएका नयाँ साधनको प्राविधिक जानकारी हुनैपर्छ।

Vigo
GBIME
Tata

केही वर्षअघिसम्म सडकमा सीमित संख्यामा देखिने इभी अहिले निजी वाहनदेखि सार्वजनिक सवारीसम्ममा विस्तार भइरहेको छ। त्यसैले इभीमा प्रयोग हुने उच्च भोल्टेज प्रणाली, ब्याट्री, मोटर, चार्जिङ तथा दुर्घटनापछिको सुरक्षा प्रणालीबारे बुझ्न आवश्यक हुँदै गएको छ।

इभीमा पेट्रोल वा डिजेल इन्जिनको सट्टा विद्युतीय मोटर प्रयोग हुन्छ। मोटरलाई आवश्यक विद्युत् ऊर्जा ब्याट्री प्याकबाट प्राप्त हुन्छ। यही कारण इभिको मुख्य प्रविधि ब्याट्री, मोटर र त्यसलाई नियन्त्रण गर्ने विद्युतीय प्रणालीमा आधारित हुन्छ।

हामीले थाहा पाइरहँदाका केही महिनायता इभीमा आगलागीका घटना भए। ती घटनाको कारण के थिए भन्ने खोजीको विषय हो। इभीमा हुने आगलागीलाई लिएर ठूलो चासो छ। यसले सवारीसाधन खरिदमा केही डर समेत पैदा गरेको छ। किनभने इभी यतिखेर सबै ग्राहकहरुका लागि नयाँ प्रविधिमा आधारित हो। जसलाई आम नागरिकले राम्रोसँग बुझ्न पाएका छैनन्। 

त्यसैले पनि मानिसहरु इभीमा आगो लागेका घटना सुनेर सतर्क अवस्थामा छ। गत भदौ अन्तिम साता चितवनमा इभीमा आगो लागेर ज्यान गएको केसमा पनि कम्पनी र प्रहरीले अहिलेसम्म अनुसन्धान गरेर ठोस कुरा बाहिर ल्याएका छैनन्। यसले पनि मानिसलाई अन्योलमा पारेको छ। अनुसन्धान गरिरहेका र तथ्य आउन केही समय लाग्ने भनिएको छ। 

त्यसभन्दा अगाडि आगो लागि भएका केसमा कम्पनीहरुले के कारणले त्यस्तो भएको हो त्यसको तथ्य बाहिर ल्याएका थिए। जसले गर्दा मानिसलाई घटनाबारे बुझ्न सजिलो भएको थियो।

विशेषगरी दुर्घटनापछि ब्रेकले काम गरेन, स्टेरिङ लक भयो, ढोका खुलेन वा एयरब्याग खुलेन भन्ने विषयमा धेरै चर्चा हुने गर्छ। तर, दुर्घटनापछि देखिएको अवस्थालाई मात्र आधार बनाएर दुर्घटनाको कारण यही प्रणाली हो भनेर निष्कर्ष निकाल्न मिल्दैन।

आधुनिक इभीमा इलेक्ट्रोनिक प्रणालीसँगै मेकानिकल र हाइड्रोलिक प्रणाली पनि प्रयोग हुन्छ। विभिन्न सेन्सर र सुरक्षा प्रणालीले एकअर्कासँग मिलेर काम गर्छन्। त्यसैले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन दुर्घटनाअघि गाडीको अवस्था कस्तो थियो र दुर्घटनापछि के भयो भन्ने छुट्याउन आवश्यक हुन्छ।

इभीमा ब्रेकले कसरी काम गर्छ?

इभीमा सामान्यतया दुई प्रकारको ब्रेकिङ प्रणालीले काम गर्छ। एउटा रिजेनेरेटिभ ब्रेकिङ हो भने अर्को सामान्य हाइड्रोलिक ब्रेक हो। रिजेनेरेटिभ ब्रेकिङमा गाडीको मोटरकै प्रयोग गरेर गाडीको गति घटाइन्छ। यस क्रममा केही ऊर्जा फेरि ब्याट्रीमा जम्मा हुन्छ। यसलाई इभीको ऊर्जा बचत गर्ने विशेषता पनि मानिन्छ। तर गाडी रोक्ने काम रिजेनेरेटिभ ब्रेकले मात्र गर्दैन।

इभीमा पेट्रोल वा डिजेल गाडीमा जस्तै हाइड्रोलिक ब्रेक सिस्टम पनि हुन्छ। चालकले ब्रेक पेडल थिच्दा हाइड्रोलिक दबाबमार्फत ब्रेक क्यालिपर चल्छ र ब्रेक प्याडले डिस्कलाई समातेर गाडीको गति घटाउँछ। त्यसैले रिजेनेरेटिभ ब्रेकिङले काम नगरेको अवस्थामा पनि सामान्य ब्रेक सिस्टमबाट गाडी रोक्न सकिन्छ। अर्थात् रिजेनेरेटिभ ब्रेक बन्द हुनु र गाडीको ब्रेक नै फेल हुनु एउटै कुरा होइन।

दुर्घटनापछि स्टेयरिङ किन हार्ड हुन्छ?

धेरै आधुनिक इभीमा इलेक्ट्रिक पावर स्टेयरिङ (ईपीएस) प्रयोग हुन्छ। यसले मोटरको सहयोगबाट स्टेयरिङ घुमाउछ र चालकलाई सजिलो बनाउँछ।

गम्भीर दुर्घटना हुँदा गाडीको सुरक्षा प्रणालीले ब्याट्रीलाई मुख्य हाइ भोल्टेज प्रणालीबाट छुट्याउन सक्छ। यसलाई दुर्घटनापछिको सुरक्षा प्रक्रिया मानिन्छ।

यस्तो अवस्थामा स्टेयरिङमा दिइने विद्युतीय सहयोग बन्द हुन सक्छ। त्यस्तै दुर्घटनाका कारण गाडीको तार, सेन्सर, पावर सिस्टम, टायर, सस्पेन्सन वा स्टेयरिङका अन्य भागमा क्षति पुग्न सक्छ। त्यसपछि स्टेयरिङ पहिलेभन्दा हार्ड हुन सक्छ। बाहिरबाट हेर्दा स्टेयरिङ नै लक भएको जस्तो देखिए पनि स्टेयरिङ हार्ड हुनु र स्टेयरिङ पूर्ण रुपमा लक हुनु फरक कुरा हुन। त्यसैले दुर्घटनापछि स्टेयरिङ कडा भएको आधारमा मात्रै दुर्घटनाअघि नै स्टेयरिङ बिग्रिएको थियो भन्न मिल्दैन।

इभीमा लाइन कट भएपछि पनि ढोका खुल्छ?

इभीको ढोका पनि पूर्ण रुपमा इलेक्ट्रिक पावरमा अर्थात अटोमेटिक रुपमा मात्र निर्भर हुँदैन। धेरै गाडीमा ढोका खोल्ने र बन्द गर्ने कामका लागि विद्युतीय लक प्रयोग हुन्छ। तर ढोका खोल्ने भित्री संयन्त्रमा मेकानिकल व्यवस्था पनि राखिएको हुन्छ।

यसको उद्देश्य आपत्कालीन अवस्थामा गाडीभित्र रहेका यात्रुले विद्युतीय प्रणालीले काम नगरे पनि ढोका खोल्न सकून् भन्ने हो।

त्यसैले दुर्घटनापछि गाडीको विद्युतीय प्रणाली बन्द भयो भन्दैमा ढोका नखुल्ने भन्ने हुँदैन। तर दुर्घटना निकै ठुलो भएर ढोकाको फ्रेम, लक, ढोकाको समात्ने भाग वा गाडीको मुख्य संरचना नै बांगिएको अवस्थामा भने ढोका भौतिक रुपमा अड्किन अर्थात नखुल्न सक्छ।

यसैले इलेक्ट्रिक पावर नहुनु र ढोका भौतिक रुपमा जाम हुनु फरक विषय हुन्।

आपत्कालीन अवस्थामा ढोका खोल्ने तरिका भने गाडीको मोडलअनुसार फरक हुन सक्छ। त्यसैले चालक र यात्रुले आफ्नो गाडीमा रहेको आपत्कालीन ढोका खोल्ने व्यवस्था पहिले नै जान्नु उपयोगी हुन्छ।

एयरब्याग किन हरेक दुर्घटनामा खुल्दैन?

इभीमा मात्र होइन, आधुनिक सबै गाडीमा एयरब्यागसहितको सुरक्षा प्रणालीलाई एसआरएस (सप्लिमेन्टल रेस्ट्रेन्ट सिस्टम) भनिन्छ।

यसमा एयरब्यागसँगै दुर्घटना पत्ता लगाउने सेन्सर, सिट बेल्ट कस्ने प्रणाली र एसआरएस कन्ट्रोल युनिटलगायतका भाग हुन्छन्।

दुर्घटना हुँदा यी सेन्सरले गाडीमा भएको धक्का, धक्काको दिशा र तीव्रताजस्ता विषयको जानकारी नियन्त्रण प्रणालीलाई पठाउँछन्। त्यसपछि गाडीको सुरक्षा प्रणालीले कुन सुरक्षा उपकरण सक्रिय गर्ने भन्ने निर्णय गर्छ।

सानो वा निश्चित प्रकारको धक्कामा सिट बेल्ट कस्ने प्रिटेन्सनर सक्रिय हुन सक्छ। ठुलो र एयरब्याग खुल्ने अवस्था पुगेको दुर्घटनामा एयरब्याग पनि खुल्न सक्छ।

तर महत्त्वपूर्ण कुरा के हो भने एयरब्याग हरेक दुर्घटनामा खुल्नका लागि बनाइएको हुँदैन।

एयरब्याग खुल्ने वा नखुल्ने कुरा दुर्घटनाको दिशा, कति ठुलो धक्काको तीव्रता, गाडीको गति घट्ने तरिका, सेन्सरबाट आएको जानकारी र गाडीको सुरक्षा प्रणालीले तोकेको अवस्थालगायत धेरै कुरामा निर्भर गर्छ।

त्यसैले दुर्घटनामा एयरब्याग नखुलेको मात्रै आधारमा एसआरएस फेल भयो भन्न मिल्दैन।

दुर्घटनापछि देखिएको क्षति नै दुर्घटनाको कारण हो?

इभी दुर्घटनाको अध्ययन गर्दा यो सबैभन्दा महत्त्वपूर्ण विषय हो।

उदाहरणका लागि दुर्घटनापछि ब्रेकमा क्षति देखिन सक्छ। स्टेयरिङ बिग्रिएको हुन सक्छ। ढोका जाम भएको हुन सक्छ। ब्याट्री मुख्य प्रणालीबाट अलग भएको हुन सक्छ। एयरब्याग खुलेको वा नखुलेको अवस्था पनि देखिन सक्छ।

तर यीमध्ये केही कुरा दुर्घटनाको कारण नभएर दुर्घटनाकै परिणाम पनि हुन सक्छन्। त्यसैले दुर्घटनापछि गाडीको अवस्था हेरेर मात्रै दुर्घटनाको कारण पत्ता लगाउन सकिदैन।

दुर्घटनाको वास्तविक कारण कसरी पत्ता लगाउने?

इभी दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन गाडीको अवस्था मात्र होइन, विभिन्न प्राविधिक प्रमाण हेर्नुपर्छ।

यसमा गाडीको डाइग्नोस्टिक डेटा, दुर्घटनासम्बन्धी रेकर्ड, ब्रेक र स्टेयरिङको अवस्था, टायरको अवस्था, सडकको अवस्था, एसआरएस प्रणालीको डेटा, गाडीमा भएको भौतिक क्षति र दुर्घटनाअघिको प्रणालीको अवस्था लगायतका विषय अध्ययन गर्नुपर्छ।

विशेषगरी दुर्घटनाअघि चालकले गाडी कसरी चलाइरहेका थिए, गाडीको गति कति थियो, ब्रेक लगाइएको थियो कि थिएन, स्टेयरिङमा कुनै समस्या थियो कि थिएन र दुर्घटनाको समयमा कुन सुरक्षा प्रणाली सक्रिय भयो भन्ने तथ्य महत्त्वपूर्ण हुन्छ।

हाइ भोल्टेज प्रणाली किन आवश्यक?

इभीमा सामान्य विद्युतीय उपकरणभन्दा निकै उच्च भोल्टेजमा काम गर्ने प्रणाली हुन्छ। ब्याट्रीबाट आएको हाई भोल्टेजलाई सुरक्षित रुपमा वितरण गरी मोटरसम्म पुर्‍याउने कामका लागि छुट्टै हाइ भोल्टेज वितरण प्रणाली र विशेष कनेक्टर प्रयोग गरिन्छ।

हाई भोल्टेजका कनेक्टरहरु ठीकसँग जोडिएको अवस्थामा मात्र विद्युत् प्रवाह हुने गरी सुरक्षा प्रणाली बनाइएको हुन्छ। कुनै कनेक्टर सही रुपमा जडान नभएमा हाइ भोल्टेज प्रणाली सञ्चालन नहुने व्यवस्था हुन्छ।

ब्याट्री प्याकमा पनि विद्युत् प्रवाह नियन्त्रण तथा विच्छेद गर्न मिल्ने सुरक्षा संयन्त्र हुन्छ। दुर्घटना वा अन्य असामान्य अवस्थामा हाइ भोल्टेज प्रणालीलाई अलग गर्न सकिने भएकाले यसले यात्रु र उद्धारमा खटिने व्यक्तिको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्छ।

इभीको ब्याट्रीको मुख्य काम मोटरलाई आवश्यक विद्युतीय ऊर्जा उपलब्ध गराउनु हो। तर, यसको भूमिका मोटर चलाउनेमा मात्र सीमित हुँदैन। ब्याट्रीबाट आएको विद्युत् विभिन्न विद्युतीय प्रणालीमार्फत नियन्त्रण भएर मोटरसम्म पुग्छ।

गाडीको एक्सिलरेसन, मोटरको शक्ति वितरण, चार्जिङ र रिजेनेरेटिभ अर्थात पुनः ऊर्जा संकलनजस्ता प्रणाली पनि यही विद्युतीय संरचनासँग जोडिएका हुन्छन्। इभीमा चार्जिङ प्रणाली पनि महत्त्वपूर्ण विद्युतीय संरचना हो। बाहिरी चार्जरबाट आएको विद्युत् गाडीको चार्जिङ प्रणालीमार्फत ब्याट्रीमा पुग्छ। चार्जिङको प्रकारअनुसार एसी वा डीसी विद्युत् प्रयोग हुन्छ।

एसी चार्जिङमा गाडीभित्र रहेको चार्जरले एसी विद्युतलाई ब्याट्रीले भण्डारण गर्न सक्ने डीसी विद्युतमा रूपान्तरण गर्छ। डीसी फास्ट चार्जिङमा भने आवश्यक रूपान्तरणको ठूलो हिस्सा चार्जिङ प्रणालीमै हुने भएकाले ब्याट्रीमा उच्च दरमा ऊर्जा पठाउन सकिन्छ।

त्यसैले इभीमा ब्याट्री, मोटर, उच्च भोल्टेज वितरण प्रणाली, चार्जिङ प्रणाली, ब्रेकिङ तथा सुरक्षा प्रणालीबीचको समन्वय नै यसको मुख्य प्रविधिगत आधार हो।

इभीको सुरक्षामा दुर्घटनापछिको अवस्था निकै महत्त्वपूर्ण हुन्छ। ठुलो ठक्कर वा गम्भीर दुर्घटना भएको अवस्थामा हाइ भोल्टेज प्रणालीलाई स्वतः विच्छेद गर्ने सुरक्षा व्यवस्था हुन्छ।

दुर्घटनाको अवस्था पहिचान भएपछि ब्याट्रीबाट आउने हाइ भोल्टेज विद्युत् प्रवाह काट्न सकिने गरी प्रणाली डिजाइन गरिएको हुन्छ। यसले ब्याट्रीबाट मोटर तथा अन्य हाइ भोल्टेज कम्पोनेन्टमा विद्युत् प्रवाह निरन्तर भइरहने जोखिम घटाउँछ।

तीव्र एक्सिलरेसन र ‘रङ पेडल’बाट हुने जोखिम

इभीको विशेषता नै मोटरले तत्काल टर्क उपलब्ध गराउनु हो। त्यसैले एक्सिलरेटर थिच्नेबित्तिकै गाडीले तीव्र प्रतिक्रिया दिन सक्छ। यही कारण चालकले एक्सिलरेटर र ब्रेक पेडलको प्रयोगमा विशेष ध्यान दिनुपर्छ।

गल्तीले ब्रेक पेडलको सट्टा एक्सिलरेटर थिच्ने अवस्थालाई ‘रङ पेडल’ वा गलत पेडल प्रयोगको जोखिमका रूपमा हेरिन्छ। आधुनिक गाडीमा यस्तो अवस्थामा जोखिम कम गर्न विभिन्न इलेक्ट्रोनिक नियन्त्रण तथा चालक सहायता प्रणाली प्रयोग गरिन्छ।

नेपालमा पछिल्लो समय भएका केही इभी एक्सिडेन्टहरु यही ब्रेक पेडलको सट्टा एक्सिलेरेसन पेडल थिच्दा समस्या भएको देखिन्छ। इभीको एक्सिलरेसनलाई पनि आवश्यक अवस्थामा नियन्त्रण गर्न सकिने गरी सफ्टवेयर र इलेक्ट्रोनिक कन्ट्रोल प्रणाली विकास गरिएको हुन्छ।

इभीमा सुरक्षा एकै प्रणालीमा निर्भर हुँदैन

आधुनिक इभीमा सुरक्षा एउटा मात्र प्रणालीमा निर्भर हुँदैन। ब्रेकिङ, स्टेयरिङ, एयरब्याग, सिट बेल्ट, ढोका, विद्युतीय प्रणाली र उच्च भोल्टेज ब्याट्रीका लागि छुट्टाछुट्टै सुरक्षा व्यवस्था हुन्छन्।

रिजेनेरेटिभ ब्रेकिङमा समस्या आए पनि सामान्य हाइड्रोलिक ब्रेकले काम गर्न सक्छ। इलेक्ट्रिक स्टेयरिङको सहयोग बन्द भए पनि स्टेयरिङको मेकानिकल भाग रहन्छ। विद्युतीय ढोका लकसँगै आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने मेकानिकल व्यवस्था पनि हुन्छ।

त्यस्तै सम्भावित दुर्घटनाको अवस्था पत्ता लागेपछि गाडीको सुरक्षा प्रणालीले आवश्यकताअनुसार एयरब्याग, सिट बेल्ट कस्ने प्रणाली र हाइ भोल्टेज प्रणाली अलग गर्ने जस्ता सुरक्षा प्रक्रिया सुरु गर्न सक्छ।

त्यसैले कुनै इभी दुर्घटनामा परेको वा दुर्घटनापछि कुनै प्रणालीले काम नगरेको देखिएकै आधारमा असुरक्षित छ वा गाडीको प्रणाली नै फेल भएको थियो भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन। दुर्घटनाको सही कारण पत्ता लगाउन अनुमानभन्दा प्राविधिक परीक्षण, गाडीको डेटा, भौतिक क्षति र दुर्घटनाअघिको अवस्थासम्बन्धी प्रमाण हेर्न आवश्यक हुन्छ।

इभीमा प्रयोग हुने सुरक्षा प्रविधि बुझ्दा सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो – दुर्घटनापछि गाडी कस्तो अवस्थामा भेटियो भन्नेभन्दा दुर्घटना हुनुअघि गाडीका प्रणालीले कसरी काम गरिरहेका थिए भन्ने प्रमाण बढी महत्त्वपूर्ण हुन्छ।

(पौडेल इलेक्ट्रोनिक्स इन्जिनियर एवम् इभी एक्सपर्ट हुन्)