‘हामीले धेरै काम गरेकाले खरो रुपमा बजारमा छौं,’ टेलिकमका एमडी डिल्ली अधिकारीसँग अन्तर्वार्ता

बिजमाण्डू
२०७८ पुष १६ गते १०:२१ | Dec 31, 2021

तीन वर्षअघि आफूभन्दा सिनियर प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनेका हुन् डिल्लीराम अधिकारी। १८ अर्बभन्दा बढीको लगानी गरेर फोरजीमा प्रवेश गरे पनि सेवा विस्तारमा सुस्त र फाइबर टु द होम (एफटीटीएच) मा निजी क्षेत्रका सेवा प्रदायकहरुको वर्चस्वले कम्पनी पछि परेपछि अधिकारीको आलोचना हुँदै आएको थियो।

Tata
GBIME
NLIC

त्यसमाथि कार्यकाल सकिनु केही महिनाअघि कर्मचारी विनियमावलीका कारण व्यवस्थापन र कर्मचारीबीचको खटपटले उनलाई थप अप्ठ्यारो बनायो। आगामी बिहीबार (पुस २२) बाट सेवानिवृत्त हुन लागेका अधिकारीलाई बिजमाण्डूका उन्नत सापकोटाले सोधे- तपाईंको कार्यकालको उत्तरार्द्धमा कर्मचारी विनियमावलीलाई लिएर खटपट भयो। एमडी भइसकेको व्यक्ति फेरि फर्किएर पुरानै तहमा जान खोज्दा विरोध भयो। अहिले त्यो सम्झिँदा केही पछुतो लागेको छ कि छैन?

मलाई नेपाल सरकारले तीन वर्षअघि दिएको नियुक्तिको पत्रमै ‘२०७५ पुस १९ गतेको निर्णयअनुसार नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी निर्देशिका २०७२ र दोस्रो संशोधनसमेतको सेवा, सर्त र सुविधा प्राप्त गर्नेगरी तपाईंलाई ३ वर्षको लागि प्रबन्ध निर्देशक नियुक्त गरिएको छ’ भनिएको छ। 

२०७२ को निर्देशिका र दोस्रो संशोधनको सेवा सर्तमा के छ भने, मेरो प्रबन्ध निर्देशकको कार्यकाल पछि म स्वत: पुरानै पोजिसनमा आउने त्यतिबेला कै निर्णय छ। मन्त्रिपरिषद्ले दिएको चिठीमै यो व्यहोरा छ। पछि अनावश्यक विवादमा ल्याएको विषय मात्रै हो। 

पछिल्लो समय टेलिकमको नाफा घट्न थालेको छ। नाफा सुधार्न खासै प्रयास भएनन् कि जस्तो पो देखिन्छ नि?
कम्पनीको खुद नाफा घट्यो, अरु के के घट्यो भन्ने गर्नुहुन्छ। यो के हो भने, पहिला हामीले २० अर्ब रुपैयाँ लाइसेन्स फी तिर्दैनथ्यौं। अहिले यो तिर्दैछौं। तिर्न सुरु गरेपछि स्वतः हाम्रो आम्दानी घट्ने भयो। यस्तै, पहिला टेलिकमले २५ प्रतिशत कर्पोरेट कर तिर्दै आएकोमा अहिले त्यो ३० प्रतिशत पुर्‍याइएको छ। यसका कारण पनि एक अर्ब रुपैयाँ हाराहारी टेलिकमको दायित्व बढेको छ।

पहिला नेटवर्कको आकार र सम्पत्ति कम हुन्थ्यो। अहिले नेटवर्कको आकार र सम्पत्ति बढेको छ। त्यसले मूल्यह्रास खर्च (डेप्रिसिएसन) पनि बढाएको छ। यसको प्रत्यक्ष असर कम्पनीको खुद नाफामा परेको छ। तर, समग्र कम्पनीको सम्पत्ति एवम् पुँजी निकै बढेको छ। गत वर्षदेखि नै हाम्रो सञ्चालन आय वृद्धि हुने क्रममा छ। 

तपाइँलेे आफ्नो तीन वर्षे कार्यकालको समिक्षा कसरी गर्नुहुन्छ?
म नियुक्त हुनुभन्दा अगाडि नेपाल टेलिकम काठमाडौं र पोखराका थोरै ठाउँमा मात्रै टुजी र थ्रीजीको अपग्रेडेड भर्सनको फोरजी चलेको थियो। ग्राहकहरु पनि दुई लाख हाराहारी मात्रै थियो। नयाँ आयोजनाहरु खासै थिएनन् भएपनि प्रगति थिएन। फाइबर टु द होम (एफटीटीएच) हामीले २०६८ देखि सुरु गरेपनि जम्मा १२ सय लाइन वितरण भएको थियो। नेटवर्क विस्तार हुन सकेको थिएन। 

टुजी र थ्रीजीको विस्तार पनि रोकिएको थियो। टावरहरु पनि थिएनन्। म आएपछि खासगरी टेलिकमको बजार र प्रतिस्पर्धी रुपमा दूरसञ्चार सेवालाई अगाडि बढाउनुपर्छ भनेर तीनवटा क्षेत्रलाई प्राथमिकता र ध्यान दिएर काम  सुरु गरें।

एउटा भनेको नयाँ सेवा विस्तार अर्थात् फोरजी र एफटीटीएच। दोस्रो भनेको पूर्वाधार विकास। त्यो भनेको मध्यपहाडी अप्टिकल महामार्ग र हाम्रो आफ्नै ब्याकबोन नेटवर्कको निर्माण। अझ ब्याकबोनको स्त्तरोन्नतिको काम पनि छ। टावरको पूर्वाधार बनाउनुपर्ने पनि छ। तेस्रो भनेको  सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने कामलाई मैले प्राथमिकतामा राखें।

पहिला कति बिलिङ डाउन हुन्थ्यो। नेटवर्क पुरै अवरुद्ध भएका तीता घटना थिए। म आएपछि धेरै हदसम्म यस्ता समस्या रोकिए। मैले हाम्रो कोर बिजनेस सेक्टरको गुणस्तरमा बढी ध्यानकेन्द्रित गरेँ। नन-कोर बिजनेस सेक्टरमा हामीले लिलामीबाट पुराना सामान बिक्री गर्ने काम पहिलोपटक सुरु गर्‍यौं। 

टेलिकमको इतिहासमा लिलामीबाट पुराना सामान तथा उपकरणहरु बिक्री भएका थिएनन्। जस्तो ब्याट्री आउटडेटेड हुन्छन्, तामाका तार, फलामलगायतका स्क्रयापलाई हामीले व्यवस्थापन गर्न थाल्यौं। ठूलो काम नलाग्ने सामाग्रीको डंगुर थियो, त्यसलाई देशव्यापी रुपमा लिलामी प्रक्रिया अघि बढाएर व्यवस्थापन गर्‍यौं। 

अहिले टेलिकमका हरेक निर्देशनालय तथा कार्यालयहरुले नियमित रुपमा लिलामी सुरु भएको छ। यसले काम नलाग्ने सामानको उचित व्यवस्थापन हुनुका साथै टेलिकमलाई अतिरिक्त आम्दानी पनि भयो। पछिल्लो दुई वर्षको अवधिमा हामीले करिब एक अर्ब रुपैयाँ त त्यस्ता सामानको लिलामी गरेका छौं।

म आएपछि नीतिगत सुधार पनि भएका छन्। एउटा समग्र कम्पनीको र अर्को व्यवस्थापकीय तर्फ नीतिगत सुधारका काम भएका छन्। जस्तो हामीले जीएसएम लाइसेन्समा २० अर्ब रुपैयाँ तिर्ने कि नतिर्ने? भन्ने बारे ठूलो विवाद थियो। सरकारलाई २० अर्ब रुपैयाँ तिर्ने सुरुवात भयो। यो पैसा तिर्नेसँगै कम्पनीले त्यसमा खर्च कटौती गर्न पाउने सुविधा ठूलो मेहेनत पछि अघिल्लो वर्षदेखि पाइरहेका छौं। टेलिकमले जीएसएम लाइसेन्समा भुक्तानी गरेको पैसाको खर्च लेखांकन गर्न पाउने सुविधा बजेटमा व्यवस्था भएर ऐनकै रुपमा आइसकेको छ। यसले टेलिकमलाई राम्रो गर्‍यो।

अर्को भनेको टेलिकमको खरिद कारवाहीलाई सरलीकृत बनाउनको निम्ति आर्थिक विनियमावलीको संशोधनका काम भएको छ। आन्तरिक रुपमा कर्मचारी विनियमावली २०७२/७३ देखि विचाराधीन थियो। यसलाई निकै ठूलो माथापच्चीपछि लोकसेवा आयोगबाट लिएर आएर फेरि संशोधन गर्दै कार्यान्वयनमा ल्याएका छौं। यसैको अधीनमा रहेर हामीले ठूलो मात्रामा विज्ञापन जारी गर्दै कर्मचारीको बढुवा कार्यक्रम सुरु भइसकेको छ। 

त्यसैगरी, कर्मचारीहरु स्वत: बढुवा हुने तर दरबन्दी नहुँदा एकै ठाउँमा थुप्रिने अवस्था थियो। अहिले टेलिकमको हरेक कार्यालयमा ओएनएम गरेर फिक्स्ड दरबन्दी तयार गरी कार्यान्वयनको प्रक्रियामा छ। 

यो पूर्ण कार्यान्वयनमा आउँदा टेलिकमको कुनै पनि कार्यालयमा कर्मचारी अभावका कारणले काम रोकिने अवस्था अब हुँदैन। यस्तै, हरेक नीति तथा कार्यक्रमलाई अनलाइन पोर्टलमार्फत् अनुगमन गर्ने, सबै कार्यालयहरुसँग कार्यसम्पादन सम्झौता गर्ने, सम्झौता गरेकाहरुको अनलाइन अनुगमन गरेर उनीहरुको पर्फर्मेन्स मापन गर्ने काम भइरहेका छन्। 

टेलिकमले वितरण गर्ने प्रोत्साहन भत्ता (इन्सेन्टिभ्स्) यसअघि सबै कर्मचारीहरुलाई बराबर थियो। हामीले पर्फमेन्स बेस्ड इन्सेन्टिभ कार्यान्वयनमा ल्यायौं। कुनै कार्यालयले राम्रो गरेको छ भने उसले बढी प्रोत्साहन भत्ता पाउने भयो। नगर्नेले कम पाए। 

ग्राहक वृद्धिका कुरा, पूर्वाधार विकासमा हामीले धेरै प्रगति गरेका छौं। प्रतिस्पर्धी बजारमा सरकारको नीति, कार्यक्रम, कानून, खरिद ऐन पालना गरेर अन्य निकायहरुसँग सहकार्य गर्दै अहिले हामी खरो रुपमा बजारमा आएका छौं त्यो भनेको हामीले धेरै काम गरेरै हो। यद्यपि, यसलाई हामीले कायम राख्नुपर्नेछ। अझै पनि हामीसँग सेवा विस्तार, गुणस्तर सुधारका ठाउँहरु छन्। गुणस्तर सुधारका एकछिन पनि ढिला गर्‍यो भने फेरि गुणस्तर खस्किन्छ। 

हामीले लगानी विविधिकरण अन्तर्गत नै नागरिक स्टक डिलरमा लगानी गरेका छौं। डिजिटल समाज निर्माण गर्नुपर्छ भनेरै वित्तीय समावेशिता बढाउन मोबाइल फाइनान्सियल सेवा दिन भनेर डिजिटल भुक्तानी कम्पनी बनाएका छौं। काम सुरुआत भइसकेको छ। यद्यपि, यसको धेरै इन्ट्रिगेसन र सेवा समावेश गर्दै आक्रामक रूपमा ग्राहककोमा पुग्न बाँकी छ। यसले भविष्यमा नेतृत्वदायी भूमिका खेल्छ।

तपाइँले चाहेर पनि के गर्नसक्नु भएन? 
कम्पनीलाई प्रतिस्पर्धी बनाउनको निम्ति सार्वजनिक खरिद ऐनले दिएको प्रावधानअनुसार टेलिकमको खरिद कार्यविधि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्वीकृत गराउनुपर्ने थियो, निकै कोसिस गरे पनि गर्न सकिएन। 

अर्को गर्न नसकेको भनेको फाइभजी परीक्षण हो। नेपाल दूरसंचार प्राधिकरणले समयमै टेलिकमलाई स्पेक्ट्रम नदिनाले फाइभजी परीक्षण सुरु हुन सकेन। अहिले फाइभजी परीक्षणको अनुमति पाएर परीक्षणको प्रक्रियामा छौं। मेरो कार्यकालमा यो सम्भव भएन। 

हाम्रो सप्लायरहरुसँग परीक्षण मोडालिटी, साइटको बारेमा द्धिपक्षीय कुराकानी भइरहेको छ। यो सकिएपछि हामीबीच सम्झौता हुन्छ। सम्झौता भएको १२० दिनमा उपकरण आएर परीक्षण सुरु हुन्छ। लगभग ६ महिना भित्रमा फाइभजीको पूर्ण परीक्षण हुन्छ। 

त्यसैगरी, मध्यपहाडी परियोजना पूर्ण रुपमा सकिन्छ भन्ने मेरो अपेक्षा थियो। बीचमा दुईपटक कोरोना महामारीको लहरले निम्त्याएको असहज अवस्थाका कारण काम ढिलाइ भयो। 

यस्तै, फाइबर टु द होम (एफटीटीएच) अहिलेको संख्या करिब दुई लाख १७ हजार हामीले वितरण गरेका छौं, त्यसमा अझै एक लाख थप्ने योजना थियो। यो पनि कोरोना महामारीकै कारण थप्न सकेनौं। 

फोरजी परियोजना पनि सबै सक्किनुपर्ने थियो। गत असारमै सकिनुपर्ने काम पनि कोरोना महामारीकै कारण सक्न सकिएन। विदेशबाटै उपकरण एवम् सामाग्री ल्याउनुपर्ने अवस्थाका कारण यहाँको लकडाउनले मात्रै नभएर बाहिर हुने लकडाउनले पनि असर पर्‍यो। 

कार्यभार समाल्नु अघि र अहिलेको समय तुलना गर्दा के के परिवर्तन भए?
मैले कार्यभार सम्हाल्नु अघि र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ। टुजीको २२ प्रतिशत, थ्रीजीको २४ प्रतिशत साइट वृद्धि भएको छ। फोरजीको साइट ८६० प्रतिशतले बढेको छ। 

कुल बीटीएस (टुजी/थ्रीजी/फोरजी) १०२ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, बीटीएस संख्या टुजी १५ प्रतिशत, थ्रीजी २४ प्रतिशत र फोरजी १४९१ प्रतिशत हामीले देशभरी थप्यौं। यसले सेवाको उपलब्धता, कभरेज र गुणस्तर पहिलाको भन्दा निकै सुधार भएको छ। 

म आउने बेलामा हामीले भ्वाइसका लागि प्रति अर्लान (१ अर्लान भनेको करिब १ घण्टा) ३१ रुपैयाँ शुल्क लिन्थ्यौं। अहिले प्रति अर्लान १९.८० रुपैयाँ पर्छ। सेवाको महसुल सस्तो हुँदै गएको छ। डेटाको शुल्क हेर्ने हो भने म आउँदा औसत डेटाको महसुल २५ पैसा प्रति एमबी थियो भने अहिले औषत ६ पैसाभन्दा कम भइसकेको छ। महसुल घट्नुमा डेटा प्याकको मुख्य भूमिका छ। धेरै प्रकारका डेटा प्याक हामीसँग छ। 

मेरो कार्यकालमा १२ सय किलोमिटर अप्टिकल फाइबरको पूर्वाधार तयार भएको छ। करिब दुई हजार किलोमिटर अप्टिकल फाइबर बनाउने आयोजना अघि बढिसकेको छ। त्यस्तै, १२ सय नयाँ टावर बनेका छन् भने २५० नयाँ टावर बन्ने क्रममा छन्। ३ वर्षको अवधिमा टेलिकमको इतिहासमै यतिधेरै पूर्वाधार र सेवा विस्तार भएको सायद पहिलोपटक होला। म त्यो दाबीका साथ भन्न सक्छु। 

हामीले एफटीटीएचमा ट्रिपल सेवा पनि सुरु गर्‍यौं। भ्वाइस, भिडियो र डेटा एउटै लाइनमा। युट्युबलगायतका सामाजिक सञ्जाल पनि अहिले हाम्रै एफटीटीएचबाट हेर्न सक्नुहुन्छ। ६० जिल्लाको ११० भन्दा बढी क्षेत्रमा हामीले एफटीटीएच वितरण सुरु गरिसकेका छौं। 

अर्को भनेको हामीले भ्वाइस ओभर एलटीइ (भीओएलटीइ) परीक्षण गर्‍यौं। सम्भवत: आउने हप्तासम्ममा यसलाई व्यवसायिक प्रयोगतर्फ लग्दै छौं। यस्तै, देशका दुर्गम क्षेत्रहरु जहाँ सडक पनि पुगेको छैन, हिँडेर जाने अवस्था पनि छैन, तर ग्रामीण बस्तीहरु छन्। त्यहाँ हेलिकप्टरबाट सामाग्री ढुवानी गरेर थुप्रै ठाउँमा सेवा विस्तार गरेका छौं। खासगरी, उत्तरी पहाडी भेगमा। 

यस्तै, इन्टरनेटको ब्यान्डविथको लागत पहिला निकै महँगो थियो। अहिले तीन गुणा सस्तो गरिसक्यौं।  इन्टरनेटको ब्यान्डविथ र कन्टेन्टमा परनिर्भरता कसरी घटायौं भने हामीले लोकल क्यास सर्भरहरु बनायौं। फेसबुक, गुगल, आकामाइ, टिकटकलगायतकाको क्यास क्षमता बढाएका छौं। अहिले कुल ब्यान्डविथ खपतको ६७ प्रतिशतको सर्भर लोकल छ। बाँकी ३३ प्रतिशत मात्रै खरिद गर्छौं। यसले पनि डेटालाई सस्तो बनाउन सहयोग गरेको छ।

कुनै समय प्रतिस्पर्धी दूरसंचार कम्पनीभन्दा निकै कम फोरजी ग्राहक रहेको टेलिकमले छोटो समयमा कसरी उछिन्न सफल भयो?
हामीले देशव्यापी रुपमा फोरजी विस्तार गरेका छौं। देशभर ४२ सय जति फोरजी जडान गरिने साइटमध्ये अहिलेसम्म करिब ३८ सय ठाउँमा फोरजी चलिसकेको छ। ७७ जिल्लाको ७०३ स्थानीय तहमा फोरजी नेटवर्क पुगिसकेको छ। हामीले दुईवटा ब्याण्ड एउटा ८ सय मेगाहर्ज र दोस्रो १८०० मेगाहर्जबाट सेवा दिइरहेका छौं।

८ सय मेगाहर्जलाई कभरेज ब्याण्ड भनिन्छ। जसले टाढा टाढासम्म सेवा दिन्छ। १८ सय मेगाहर्जलाई क्यापासिटी ब्याण्ड भन्छौं। सुरुमा के भयो भने नेटवर्क विस्तारको क्रममा थियो, ग्राहकहरुलाई त्यो बारेमा त्यति थाहा पनि थिएन। जब हाम्रो नेटवर्क विस्तार भइसकेपछि, गुणस्तरीय सेवा दिन सुरु गरिसकेपछि र बजारमा पछिल्लो समय जति ह्यान्डसेटहरु थपिँदै गए नि, त्यसमा सबैमा फोरजी, भीओएलटीइ र ८ सय मेगाहर्ज सबै सपोर्ट गर्ने भएकाले पनि फोरजीको ग्राहक संख्या क्रमिक रुपमा थपिँदै गएको छ। 

इन्टरनेट सेवा प्रदायकहरु शहर केन्द्रित छन्, गाउँमा उनीहरु छैनन्। गाउँमा इन्टरनेटको एउटा मात्रै साधन के हो भन्दा नेपाल टेलिकमको फोरजी हो। हामीले अहिले एकदमै सस्तोमा डेटा प्याक ल्याएका छौं। ग्रामीण क्षेत्रमा पनि हाम्रो नेटवर्क प्रतिको आकर्षणले गर्दा फोरजी प्रयोगकर्ता थपिनुको मुख्य कारण हो।