काठमाडौं। दसैंका लागि चलनचल्तीमा गएको नेपाली नोट धमाधम प्रणालीमा फर्किन थालेको छ। नेपाल राष्ट्र बैंकले बुधबार मंसिरको विवरण सार्वजनिक गर्दै दुई महिनायता दसैंमा गएको नोट लगातार फर्किन थालेको जनाएको छ।
असोज महिनामा सर्वसाधारणको हात-हातमा ६८ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ बराबरका अतिरिक्त नेपाली नोट पुगेको थियो। तीमध्ये ५९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ फर्किएको हो।
कात्तिकमा २६ अर्ब २० करोड ७८ लाख रुपैयाँ फर्किएकोमा मंसिरमा ३२ अर्ब ८९ करोड १३ लाख रुपैयाँ फर्किएको हो।
राष्ट्र बैंकका अनुसार, अहिले चलनचल्तीमा ६ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख रुपैंयाँ बराबरका नोट छन्। असोजमा ७ खर्ब १३ अर्ब ९८ करोड ८ लाख रुपैयाँको नोट चलनचल्तीमा पुगेको थियो। दसैंमा नयाँ नोटको माग उच्च हुन्छ। यसबाहेक सरकारी र निजी क्षेत्रबाट नियमित तलबबाहेक दसैंभत्तालगायतको भुक्तानी पनि हुन्छ। साथै आफ्नो बचत पनि मान्छेले झिक्छन्। यही कारण चलनचल्तीमा नोट दसैंमा अत्यधिक हुन्छ।
| मिति | रकम (रु. लाखमा) |
| २०७८ मंसिर | 6548817 |
| २०७८ कात्तिक | 6877730 |
| २०७८ असोज | 7139808 |
| २०७८ भदौ | 6453959 |
| २०७८ साउन | 6572713 |
| २०७८ असार | 6695137 |
| २०७८ जेठ | 6580598 |
| २०७८ बैशाख | 6555539 |
| २०७७ चैत | 6260992 |
| २०७७ फागुन | 6103830 |
| २०७७ माघ | 6115709 |
| २०७७ पुस | 6194317 |
| २०७७ मंसिर | 6355189 |
चलनचल्तीको नोटमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसँग भएको पैसालाई गणना गरिँदैन। यसभित्र आमसर्वसाधारण, व्यापारी, व्यवसायीका साथै सहकारी लगायतसँग भएको नगद पैसा पर्छ।
पछिल्लो समय अनलाइन बैंकिङबाट भुक्तानी बढेको छ। तैपनि नगदको प्रयोग भने खासै घट्न सकेको छैन। दसैं अर्थात असोजमा गएको नोटलाई छाड्ने हो भने अझै पनि नोटको प्रयोग व्यापक छ। दसैंअघि अर्थात भदौमा सर्वसाधारणको हातमा ६ खर्ब ४५ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ थियो।
राष्ट्र बैंकले अनलाइन भुक्तानी बढ्दा पनि किन चलनचल्तीको नोटको प्रयोग बढेको भनेर अध्ययन गर्ने जनाएको छ। यद्यपि गभर्नर महाप्रसाद अधिकारीले- अनलाइन नभएको भए चलनचल्तीमा नोटको प्रयोग १८/२० खर्ब रुपैयाँ बराबरको भइसक्थ्यो भनेर टिप्पणी गरेका छन्।
तर, तथ्यांकले भने उनले भनेजस्तो उच्च वृद्धि भएर जान्छजस्तो देखाएको छैन। कोभिडसँगै अनलाइनको प्रयोग बढेको हो। २०७६ साउनको तथ्यांकलाई हेर्ने हो भने (लकडाउन भएको थिएन) त्यसबेला चलनचल्तीमा ४ खर्ब ९८ अर्ब ८५ करोड रुपैयाँ थियो। यो तथ्यांक दसौं वर्षदेखि यसैगरी बढेर यति पुगेको हो। २०७८ मंसिरमा आउँदा ६ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख रुपैयाँ चलनचल्तीमा छ।










