सन् २०२० मा ड्युक र डचेस अफ ससेक्स, अर्थात् बेलायती राजकुमार ह्यारी र मेघन मार्कलले बेलायती राजपरिवारबाट अलग हुने घोषणा गरे। सबै जिम्मेवारीहरु त्यागेर अमेरिकाको क्यालिफोर्निया प्रस्थान गर्दा उनीहरु माथि प्रश्न उठाउने र विश्वास गर्नेहरु थुप्रै थिए।
अमेरिको सेलिब्रेटी कल्चरमा जम्न क्यालिफोर्निया पुगेका उनीहरुसँग त्यतिबेला हलिउडसँग नभएको एउटा अनौठो साख थियो। त्यो हो – राजकीय पहिचान। पहिला नै हलिउडमा काम गरेकी मेघन फेरि मनोरञ्जन क्षेत्रमा जम्न चाहन्थिइन्। उनले मनोरञ्जन क्षेत्रमा काम गरिन् र केही उल्लेख्य सफलता हासिल पनि गरिन्। तर, हलिउडमा उनको प्रभाव सोचेजति लामो समय टिक्न सकेन।
त्यसैले त ५/६ वर्षको अमेरिकी बसाइपछि अब फेरि उनीहरुको बाटो मोडिएको छ फेरि बेलायत तर्फ नै। बीबीसीले उनीहरु फेरि बेलायत फर्किने खबर सार्वजनिक गर्दा क्यालिफोर्नियाले त्यसलाई अनौठो घटनाका रुपमा लिएको छैन।
‘अमेरिकी ड्रिम’ पछ्याउँदै मोन्टेसिटो सरेका ह्यारी र मेघनका लागि यो यात्रा बेलायतको राजपरिवारबाट निस्किएर आर्थिक स्वतन्त्रताको खोजी गर्नु मात्र थिएन। सन् २०२१ मा ओप्रा विन्फ्रेसँगको चर्चित अन्तर्वार्तामा मेघनले आफ्ना निर्णयहरु आफैं गर्न पाउनुलाई ‘लिबरेटिङ’ कदम भनेकी थिइन्।
ह्यारीले भने अमेरिकाले आफ्नो परिवारलाई बेलायतमा असम्भव मानिएको गोपनीयता र सुरक्षा दिएको बताएका थिए त्यो अन्तर्वार्तामा। बेलायती राजपरिवारबारे पनि केही खुलासा भएको त्यो अन्तर्वार्ताले निकै चर्चा पाएको थियो।
बेलायतको राजदरबारमा बसेका उनीहरु अमेरिकामा ओप्रा विन्फ्रे, ग्वेनेथ पाल्ट्रो र रोब लो जस्ता हलिउड हस्तीहरुको छिमेकी बनेर बसेका थिए। यो नयाँ कदमसँगै थियो करोडौं डलरका व्यावसायिक सम्झौताहरुको शृंखला पनि।
सुरुवाती दिनहरुमा हलिउडमा उनीहरुको नाम आफैंमा एउटा शक्तिशाली ‘ब्रान्ड’ बनेको थियो। उनीहरु पुग्ने कार्यक्रमका हरेक गतिविधि न्यूज मिडिया र सोसल मिडियामा चर्चामा रहन्थे। कारण उही बेलायती राजपरिवार। विश्वमा बेलायतको राजपरिवार नै यस्तो राजकीय परिवार हो जसको जीवनशैली र दरबारको अनुभव असाधारण थियो। यही दरबारकार कथाका कारण ह्यारी र मेघनले हलिउडमा ‘न्यू कमर’हरुले नपाउने ‘लाइमलाइट’ पाए।
त्यतिमात्रै होइन उनीहरुको मा धेरै लगानी पनि ओइरियो। तर, प्रारम्भिक लगानी र आकर्षणले निरन्तरता पाएन। हलिउडमा सुरुवातमा पाएको ‘नेम एन्ड फेम’ लाई कायम राख्न उनीहरुका लागि निकै चुनौतीपूर्ण रह्यो।
स्पोटिफाइ र नेटफ्लिक्ससँग उनीहरुको सम्झौताहरु मिडियाका हेडलाइन बने। उनीहरुले ती संस्थासँग गरेको आर्थिक सम्झौताको विषय विश्वभर चर्चा र चासो बन्यो। उनीहरुले नेटफ्लिक्ससँग १०० मिलियन अमेरिकी डलर र स्पोटिफाइसँग २० मिलियन अमेरिकी डलरको ‘डिल’ गरेका थिए।
तर, मेघनको ‘आर्चटाइप्स’ पोडकास्टसहितको साढे दुई करोड डलरको स्पोटिफाइसँगको सम्झौता लामो समयसम्म जान सकेन। सन् २०२३ मा आपसी सहमतिमा त्यो ‘डिल’ अन्त्य भयो।
त्यसैगरी, नेटफ्लिक्ससँगको करिब १० करोड डलरको पाँच वर्षे सम्झौता पनि ‘हिट’ भएन। त्यहाँबाट आएका कन्टेन्टहरुले खासै दर्शकहरुलाई तान्न सकेन।
उनीहरुले खोलेको प्रोडक्सन हाउस ‘आर्चवेल’ पनि गसिपमै रुमलिरह्यो। कम्पनीमा कर्मचारी हेरफेर भइरह्यो। त्यहाँ काम गरेर छाडेका कर्मचारीले आफूहरुलाई ‘सससेक्स सर्भाइभर क्लब’ समेत भन्न भ्याएका रिपोर्टहरु हलिउडमा छलफलको ‘हट टपिक’ बनिरह्यो।
क्यालिफोर्नियामा ब्रान्ड र पैसा बटुलेका उनीहरु सीमित घेरामा सीमित हुँदै गएका थिए। ‘प्रिन्स’ ह्यारी आफ्नै परिवारको कथा बेचिरहे, त्यसबाहेक उनले बजारमा कुनै नयाँ प्रयास पनि गरेनन्।
आफ्नै राजपरिवारको कथालाई समेट्दै उनले लेखेको पुस्तक ‘स्पेर’ विश्वभर ६० लाखभन्दा बढी प्रति बिक्री भयो। जसलाई प्रकाशन इतिाहासकै कीर्तिमानसमेत भनियो।
पुस्तक प्रचारका क्रममा ट्रमा विशेषज्ञ डा. ग्याबोर माटेसँगको संवादमा ह्यारीले आफ्नो बाल्यकालको प्रसंग खोलेका थिए। बालक हुँदा परेको मानसिक चोट र आफ्ना सन्तानलाई त्यसबाट जोगाउने प्रयासबारे उनले खुलेर कुरा गरेका थिए।
ह्यारीले ‘हार्ट अफ इन्भिक्टस’ र ‘पोलो’ जस्ता डकुमेन्ट्री पनि बनाए। तर ती प्रयासहरु ‘स्पेर’ जस्तो सफल बन्न सकेनन्।
अमेरिकामा मेघनले पनि राजपरिवारको छायाभन्दा बाहिर आफ्नो अलग्गै पहिचान बनाउने प्रयास गरिन्। उनले नेटफ्लिक्सका लागि लाइफस्टाइल सिरिज ‘ह्विथ लभ मेघन’ ल्याइन। कार्यक्रम एमी अवार्डसमा मनोनयन भयो तर दुई सिजनपछि शो बन्द भयो। उनको जीवनशैली ब्रान्ड ‘एज एभर’ बाट पनि नेटफ्लिक्स पछि हट्यो।
सुरुको लाइमलाइट र आर्थिक लगानीको ओइरो कम हुँदै गएपछि उनीहरु अब फेरि बेलायततर्फ फर्किने तयारीमा रहेको भन्नेहरु पनि धेरै छन्। हलिउडमा केवल ‘सेलिब्रिटी स्टाटस’ले टिक्न सजिलो नहुने तर्क गर्नेहरु पनि छन्।
‘मनी मेकिङ एबिलिटी‘ (लगानी सुनिश्चित गर्ने आधार) कम भएपछि उनीहरुले बेलायत फर्किने निर्णय लिएको भन्दै लेख पनि छापिएका छन्। त्यस्तै, ह्यारी ‘होम सिक’ भएको र हलिउडले नै उनीहरुलाई स्पेस नदिएको कारण पनि यो निर्णय लिइएको भनिन्छ।
ह्यारीले मेघनले हलिउडमा बेलायती राजपरिवारको छायालाई नै आधार बनाएको र कार्यशैलीमा बलियो व्यवस्थापन र सक्षम टोली नराखेको भन्दै असन्तुष्ट जनाउनेहरुको कमी छैन।
अमेरिका छोडेर बेलायत फर्किँदा उनीहरुले फेरि ‘प्राइभेट स्पेस’ खोजेको बताइरहेको रिपोर्टहरु अन्तर्राष्ट्रिय मिडियाहरुमा आइरहेको छ। तर बेलायत फर्केनर उनीहरु फेरि पूर्ण रुपमा सामान्य नागरिक बन्न सक्ने सम्भावना भने निकै कम रहेको बताइन्छ।
बेलायतको राजकीय जीवनशैली छाडेर क्यालिफोर्नियामा फेसन र मनोरञ्जनको संसारमा उनीहरुले नयाँ पहिचान र बजार बनाउन प्रयास गरेका थिए। तर, उनीहरुको सबैभन्दा शक्तिशाली ब्रान्डले उनीहरुलाई त्यहाँ छोड्न सकेन। र, आउने दिनमा बेलायतमा रहँदा पनि उनीहरुलाई त्यो ब्रान्डले छाड्ने छैन। त्यो हो – बेलायतको राजपरिवार।
बीबीसीका अनुसार बेलायत फर्किएपछि उनीहरु लगानी र ब्रान्डको खोजीमा हुनेछन्। उनीहरुलाई सुरक्षा चिन्तासमेत छ। विश्लेषकहरु भने राजकीय ब्रान्डलाई छाडेर अरु ब्रान्डलाई आफूसँग टिकाइरहन उनीहरुको व्यवहारमा भरपर्ने बताउँछन्।











