अटोमोबाइल एक्स्पोमा स्वादको पनि प्रतिस्पर्धा, कीर्तिपुरको सस:त्वा: देखि विदेशी फ्रान्चाइजसम्म



टुना भट्ट
२०८३ साउन ३१ गते २१:४५ | Aug 16, 2026
अटोमोबाइल एक्स्पोमा स्वादको पनि प्रतिस्पर्धा, कीर्तिपुरको सस:त्वा: देखि विदेशी फ्रान्चाइजसम्म


काठमाडौं । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ गाडी, प्रविधि र मोबिलिटीका उत्पादन हेर्न आउनेको भीड त लाग्यो नै, एक्स्पो परिसरमा खानाका परिकारको स्वाद लिनेको भीड पनि कम थिएन। ५३ वटा अटोमोबिलिटी स्टल रहेको एक्स्पोमा नाइमाले स्टलका कर्मचारीदेखि भिजिटरलाई लक्षित गर्दै विभिन्न फुड ब्राण्डलाई समेत ‘फुड पार्टनर’का रूपमा भित्र्याएको थियो।

Tata
GBIME

कीर्तिपुरको चर्चित ससःत्वाः ले परम्परागत नेवारी परिकारदेखि बावर्ची रोल्स एण्ड बिर्यानी, बर्फी स्वीट्स, दी बेकरी क्याफे, हिमालयन जाभा, केएफसी, पिज्जा हट हुँदै बास्किन एण्ड रोबिन्स र एक्स्पोका प्रायोजक रेडबुलसम्मका स्टलले नाइमामा खानपानको छुट्टै माहोल बनाएको थियो।

अटोमोबाइलका नयाँ मोडल हेर्न आएका ग्राहक हुन वा दिनभर स्टलमा खटिएका कर्मचारी, एक्स्पोमा अटोका साथसाथै खानाको स्वादमा रमाउनेको संख्या उल्लेख्य थियो। एक्स्पो सकिएसँगै कुन फुड ब्राण्डले कस्तो व्यापार गर्‍यो, कुन परिकार बढी चले र कसको सेवा कस्तो रह्यो भन्ने पनि रोचक देखिएको थियो।

ससःत्वाः को स्वादमा

नाइमा मोबिलिटी एक्स्पोमा सबैभन्दा आकर्षक फुड स्टलमध्ये एक थियो कीर्तिपुरको ‘ससःत्वाः ट्रेडिसनल नेवारी फुड’। नेवारी मौलिक स्वाद र स्टलमै लाइभ कुकिङका कारण ससःत्वाःमा हरेक दिन ग्राहकको बाक्लो भीड देखिन्थ्यो।

कतिपय परिकार रेष्टुराँमै तयार गरेर ल्याइए पनि बारा, योमरीलगायतका परिकार स्टलमै लाइभ कुक गरेर सर्भ गरिएको थियो। यसले ग्राहकलाई आकर्षित गरेको ससःत्वाःका सेल्स एण्ड मार्केटिङ अफिसर सागर खनाल बताउँछन्। ससःत्वाःले एक्स्पोमा दैनिक एक लाख २० हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको उनी बताउँछन्।

‘नेवारी खाना सबैको रोजाइमा पर्ने भएकाले पनि नाइमामा हाम्रो स्टलमा ग्राहकको आकर्षण बढी रह्यो,’ खनालले बताए।

ससःत्वाःले समयबजी, य:मरि, बारा र जुजु धौलगायतका परिकार पस्किएको थियो। तीमध्ये समयबजी सबैभन्दा बढी रोजाइमा परेको खनाल बताउँछन्। ग्राहकको स्वाद र रुचि अनुसार बफ, चिकेन, एग र भेज विकल्पसमेत उपलब्ध गराइएको थियो।

एक्स्पोमा ससःत्वाःले दैनिक १५ जना कर्मचारी परिचालन गरेको थियो। लाइभ कुकिङ र मौलिक नेवारी परिकारले स्टललाई एक्स्पोको आकर्षणमध्ये एक बनाएको देखिन्थ्यो।

बावर्चीको रोल्समा तानिए ग्राहक

नाइमामा ‘बावर्ची रोल्स एण्ड बिर्यानी’ले पनि ग्राहकको राम्रो साथ पायो। नाममै रहेको रोल्स नै स्टलको मुख्य आकर्षण बन्यो। सेफ मनदिपका अनुसार राल्स र यिर्बानीमध्ये ग्राहकले रोल्स बढी रुचाए। विशेषगरी एग चिकेन रोलको माग धेरै आएको उनले बताए।

बावर्चीले एक्स्पोमा दैनिक ६० हजारदेखि ८० हजार रुपैयाँसम्मको व्यापार गरेको जनाएको छ। स्टलमा दैनिक ६ जना कर्मचारीले सेवा दिएका थिए।

बर्फीको स्टलमा मिठाइ मात्रै होइन, पूरा खानाको मेनु

नाम सुन्दा मिठाइको स्टलजस्तो लागे पनि ‘बर्फी स्वीट्स’ले नाइमामा मिठाइसँगै विभिन्न किसिमका खानाका परिकार पनि उपलब्ध गराएको थियो।

इटालियन, इन्डियन, चाइनिज र मेक्सिकन स्वादका परिकारसहित पिज्जा, मम, राइस, दालभात, यिर्बानीदेखि पानीपुरीसम्म बर्फीको स्टलमा उपलब्ध थियो । पूर्ण भेज खाना पस्किएको बर्फी पहिलोपटक नाइमाको फुड पार्टनरका रूपमा सहभागी भएको हो।

बर्फीका लागि एक्स्पोबाट हुने प्रत्यक्ष व्यापारभन्दा पनि ग्राहकको सन्तुष्टि र आफ्‌नो ब्राण्डलाई नयाँ ग्राहकसम्म पुर्‍याउनु मुख्य उद्देश्य रहेको बताइएको छ।

दी बेकरी क्याफेको नयाँ एक्स्पो अनुभव

दी बेकरी क्याफेले विगतमा ‘नाडा अटो शो’मा फुड स्टल राख्दै आए पनि ‘नाइमा मोबिलिटी एक्स्पो’मा भने पहिलोपटक सहभागिता जनाएको हो । क्याफेले आफ्‌ना केही परिकार ब्रान्चबाटै तयार गरेर ल्यााएको थियो भने केही परिकार स्टलमै लाइभ कुक गरेर सर्भ गरिएको थियो । क्याफेका अनुसार दैनिक करिब दुई हजार भिजिटरले स्टलमा भ्रमण गरेका थिए।

यद्यपि क्याफेले यति नै व्यापार भयो भनेर यकिन रकम सार्वजनिक नगरे पनि एक्स्पोमा राम्रो व्यापार भएको जनाएको छ।

हिमालयन जाभाको दुई स्टल

नाइमामा चर्चित कफी ब्राण्ड हिमालयन जाभाले दुई वटा स्टल राखेको थियो। विभिन्न प्रकारका कफीसँगै ड्रिंक्स उपलब्ध गराइएको जाभाको स्टलमा एक्स्पो घुम्न आउने तथा स्टलमा खटिने कर्मचारीको पनि नियमित आवतजावत देखिन्थ्यो।

केएफसी र पिज्जा हट

नाइमामा ‘केएफसी र पिज्जा हट’ले पनि फुड स्टल राखेका थिए। दुवै ब्राण्डले नजिकैको दरबारमार्गस्थित ब्रान्चबाट ग्राहकको अर्डरअनुसार परिकार तयार गरी एक्स्पोमा सर्भ गरेका थिए। केएफसी र पिज्जा हटले दैनिक ६० हजारदेखि ७० हजार रुपैयाँसम्मको व्यापार गरेको जनाएको छ।

केएफसी र पिज्जा हटकी मार्केटिङ हेड लुनिभा सिंहका अनुसार एक्स्पोमा आउने ग्राहकलाई लक्षित गर्दै दरबारमार्गस्थित ब्रान्चबाट अर्डरअनुसार परिकार ल्याएर सर्भ गरिएको थियो।

पकाइसकेको केएफसी र पिज्जालाई लामो समय स्टोर गर्न नमिल्ने भएकाले ग्राहकको मागअनुसार एक–दुई घण्टाको अन्तरमा परिकार ल्याएर बिक्री गरिएको सिंहले बताइन्। यसले फुड वेस्टेज घटाउँदै ग्राहकलाई तुलनात्मक रूपमा ताजा परिकार उपलब्ध गराउन सहयोग गरेको सिंहको भनाइ छ।

केएफसीका लागि नाइमामा यो पहिलो स्टल सहभागिता हो। आगामी दिनमा नाडा अटो शोमा पनि अवसर आएमा यस्तै प्रकारको सेवा दिन सकिने सिंहले बताइन्।

गर्मीमा बास्किन एण्ड रोबिन्सको आइसक्रिमको माग

अटोमोबाइल एक्स्पोमा आइसक्रिमको स्वाद पनि छुटेन। चर्चित आइसक्रिम ब्राण्ड बास्किन एण्ड रोबिन्सले नाइमाको फुड पार्टनरका रूपमा स्टल राखेको थियो।

विभिन्न फ्‌लेभरका आइसक्रिमको स्वाद लिन एक्स्पोमा आउने विभिन्न उमेर समूहका ग्राहकको भीड देखिन्थ्यो। गर्मी मौसम भएकाले आइसक्रिमको माग स्वाभाविक रूपमा बढेको बास्किन एण्ड रोबिन्सका सेल्स सुपरभाइजर विवेक तिवारी बताउँछन्।

कम्पनीले क्वालिटी प्रडक्स सेल गर्ने भएकाले सबैको रोजाइमा बास्किन एण्ड रोबिन्स परेको तिवारीले बताए। उनका अनुसार स्टलले दैनिक ४० हजार रुपैयाँसम्मको सेल्स गरेको थियो।

रेडबुलको स्टलमा भेन्डिङ मेसिनको आकर्षण

नाइमाको प्रायोजक रेडबुलले पनि एक्स्पोमा आफ्‌नै स्टल राखेको थियो। रेडबुलका अनुसार स्टलमा दैनिक करिब तीन सय जनाले भिजिट गर्ने गरेका थिए र बिक्री पनि राम्रो थियो। रेडबुलले दैनिक करिब ४५ हजारदेखि ५० हजार रुपैयाँसम्मको व्यापार गरेको जनाएको छ।

रेडबुल स्टलको अर्को आकर्षण भने नेपालमा पहिलोपटक नाइमाबाट भेन्डिङ मेसिनमार्फत बिक्री सुरु गर्नु थियो। भेन्डिङ मेसिन धेरैका लागि नयाँ अनुभव भएकाले ग्राहकले त्यहीँबाट क्यूआर पेमेन्टमार्फत रेडबुल खरिद गर्ने गरेका थिए। नेपालमा निर्मित उक्त भेन्डिङ मेसिनको लाइभ एक्सपिरियन्सका लागि पनि युवाहरु रेडबुलमा आकर्षित भएको देखिन्थ्यो।

नाइमा मोबिलिटी एक्स्पो २०२६ ले अटोमोबाइल ब्राण्डका लागि मात्रै होइन, फुड ब्राण्डका लागि पनि आफ्‌नो बजार विस्तार गर्ने अवसर सिर्जना गर्यो। एकातिर गाडी, बाइक, स्कुटरलगायतका नयाँ उत्पादन हेर्न आउने ग्राहक थिए भने अर्कोतिर उनीहरूलाई लामो समय एक्स्पो परिसरमै राख्न खानपानको विकल्प पनि आवश्यक थियो । त्यसैले नाइमाले विभिन्न फुड स्टललाई जोड्यो।

मौलिक नेवारी खानादेखि कफी, फास्टफुड, आइसक्रिम र रेडबुलसम्मका विकल्पले एक्स्पोमा आउने ग्राहकलाई आफ्नो रुचि अनुसार रोज्ने सुविधा दिएका थिए।