एक दशक लामो ‘रिलेसनसिप’पछि विवाह बन्धनमा बाँधिए क्रिस्टियानो र जर्जिना



बिजमाण्डू
२०८३ साउन २७ गते १२:२० | Aug 12, 2026
एक दशक लामो ‘रिलेसनसिप’पछि विवाह बन्धनमा बाँधिए क्रिस्टियानो र जर्जिना


काठमाडौं। पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो विवाह बन्धनमा बाँधिएका छन्। लामो समयदेखि साथमा रहँदै आएका रोनाल्डो र जर्जिना रोड्रिगेजले विवाह गरेका हुन्।

Tata
GBIME

४१ वर्षे रोनाल्डो र ३२ वर्षीय जर्जिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको तस्बिर सार्वजनिक गरेका हुन्। उनीहरूले संयुक्त रूपमा सार्वजनिक गरेको तस्बिरमा दुवै सेतो पहिरनमा छन् भने विवाहको औंठीसमेत सार्वजनिक गरेका छन्।

करिब एक दशकदेखि सम्बन्धमा रहेका उनीहरूको विवाह समारोह निकै निजी राखिएको थियो। समारोहमा उनीहरूका ५ सन्तान पनि सहभागी भएको जनाइएको छ। जसमा क्रिस्टियानो जुनियर, इभा मारिया, माटियो, अलाना मार्टिना र बेला एस्मेराल्डा छन्। यी मध्ये मार्टिना र एस्मेराल्डा रोनाल्डो र जर्जिनाका सन्तान हुन्।

रोनाल्डो र जर्जिना दुवैले सामाजिक सञ्जालबाट यो सार्वजनिक गरेका छन्।

रोनाल्डो र जर्जिनाको सम्बन्ध सन् २०१६ तिर स्पेनको म्यड्रिडबाट सुरु भएको थियो। त्यतिबेला जर्जिना गुच्चीको स्टोरमा बिक्री सहायकका रूपमा काम गर्थिन्। उनीहरूको सम्बन्ध सन् २०१७ मा सार्वजनिक भएको थियो।

रोनाल्डो अलनासर जाँदा उनको र जर्जिनाको सम्बन्ध साउदीको कानुनविपरित हुने भन्दै चर्चा चलेको थियो। रोनाल्डो र जर्जिना लामो समयदेखि सँगै र सन्तानहरू हुर्काइरहेका भए पनि उनीहरूले औपचारिक रूपमा विवाह गरेका थिएनन्।

कानुनी प्रावधान कडा भए पनि रोनाल्डोको विश्वव्यापी ख्याति र साउदी अरबमा उनको उच्च महत्त्वलाई ध्यानमा राख्दै त्यहाँका अधिकारीहरूले यस विषयमा आँखा चिम्लिएका थिए।

साउदी कानुनविद्हरूले समेत रोनाल्डोजस्ता विदेशी र विशिष्ट व्यक्तिहरूको मामिलामा सरकारले यस्ता व्यक्तिगत विषयहरूमा हस्तक्षेप नगर्ने तर कानुन भने यथावत नै रहने प्रतिक्रिया दिएका थिए। त्यसैले उनीहरूलाई त्यहाँ सँगै बसोबास गर्न कुनै आधिकारिक प्रशासनिक वा कानुनी अडचन वा सजाय भोग्नु परेन।