गोदावरी पुष्प मेला कात्तिक १२ गतेदेखि ललितपुरमा, ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा

बिजमाण्डू
२०७८ कात्तिक ९ गते १७:२६ | Oct 26, 2021

काठमाडौं। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले कात्तिक १२ गतेबाट १४औं गोदावरी पुष्प मेला गर्ने भएको छ। तिहार तथा छठ पर्वलाई लक्षित गर्दै एसोसिएसनले जावलाखेलको खेल मैदानमा चार दिने गोदावरी फूलको प्रदर्शनी गर्ने  कार्यक्रम संयोजक सीताराम पन्तले बताए ।

Tata
GBIME
NLIC

मेलामा ४४ वटा व्यवसायिक स्टल र ४ वटा सूचनामूलक गरी ४८ वटा स्टल रहनेछ।  मेलाका लागि करिब १६ लाख रुपैयाँ खर्च हुने एशोसिएसनले जनाएको छ। मेलाले व्यवसायीहरुबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने अध्यक्ष मीनबहादुर तामाङले बताए।

मेलाबाट ३५ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने एसोसिएसनको लक्ष्य रहेको छ। मेलाबाट करिब ५० लाख रुपैयाँको व्यवसायिक कारोबार हुने अपेक्षा रहेको उनले बताए।

मेलाबाट करिब २५ लाख रुपैयाँको गोदाबरी फूलको मात्र कारोबार हुने अध्यक्ष तामाङले बताए। कोभिडको संक्रमणलाइ मध्यनजर गर्दै मेलामा भीडभाड कम गर्न टिकटको व्यवस्था गरिएको उनले बताए। एशोसिएसनले गोदावरी फूलको मालाको ‌औसत बजार मूल्य ३ सय ५० रुपैयाँ  तोकेको छ। तिहारमा करिब ५२ लाख रुपैयाँको गोदावरी बिक्री हुने अनुमान  गरिएको छ। गोदावरी फूलमा नेपाल आत्मनिर्भर  छ।