काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ट्रान्सफर्मर र विद्युत मिटर खरिदलाई छानबिनको विषय बनाएका छन्। उनले नेपाल विद्युत प्राधिकरणले यसअघि खरिद गरेको ट्रान्सफर्मर र मिटरबारे छानबिन गर्न समिति गठन गरेका छन्।
विराजभक्तले बुधबार प्राधिकरणको सञ्चालक समितिबाट शम्भु केसीको संयोजकत्वमा समिति गठन गरेका हुन्। केसी प्राधिकरणका सञ्चालक हुन्। उनलाई दुई साताअघि विराजभक्तले नै सञ्चालक बनाएका हुन्।
समितिमा प्राविधिक, कानुन र खरिद विज्ञ सदस्य रहनेछन्। प्राधिकरणका एक जना उपकार्यकारी निर्देशकले समितिमा सदस्यसचिवको रुपमा काम गर्नेछन्।
प्राधिकरणले यसअघि ट्रान्सफर्मर र मिटर किन्दा आर्थिक घोटाला भएको बुझाइमा मन्त्रीले छानिबन समिति गठन गरेका हुन्। समितिलाई दुई महिनाको समय दिइएको छ।
प्राधिकरणका अर्का सञ्चालक अंशु किरण शाहीले ट्रान्सफर्मर र मिटर खरिदको विषयलाई लिएर दुई महिनामा ६६८ उजुरी परेकाले छानबिन समिति गठन गरिएको बताए। विराजभक्तले उजुरीपछि ट्रान्सफर्मर खरिदकै विषयमा बुझ्न मन्त्रालयका सहसचिव सन्दिपकुमार देवको संयोजकत्वमा समिति बनाएका थिए।









