काठमाडौं। सरकारले सुनसरी घटना छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ।
गृह सचिव राजकुमार श्रेष्ठले ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई समितिको सदस्य तोकेका हुन्।
आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपका सम्बन्धमा छानबिन गर्न गत सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो।
मन्त्रालयले सुनसरीको घटना अन्यत्र हुन नदिन प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय गरिरहेको बताएको छ।
मन्त्रालयका अनुसार सुरक्षा अनुगमन र समन्वय तीव्र पारिएको छ। मन्त्रालयमा बुधबार गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे समीक्षा गरिएको छ।
मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र सुनसरीको देवानगञ्जलगायत अन्य संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ।









