काठमाडौं। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औं बैठकले बजेट स्वीकृत गरेको हो।
स्वीकृत बजेटमध्ये ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ सरकारले दिनेछ। बाँकी ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ आयोगले आन्तरिक स्रोतबाट बेहोर्नेछ।
आयोगसँग हाल ९९ करोड ८५ लाख ९६ हजार रुपैयाँ बचत रहेकामा चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ३५ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ।
आन्तरिक स्रोतबाट चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको आयोगले जनाएको छ।









