काठमाडौं। समस्याग्रस्त घोषित संस्था नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ता तथा पूर्व सञ्चालकहरूसँग वाग्मती प्रदेश सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले प्रस्ताव माग गरेको छ।
बुधबार सूचना जारी गर्दै जग्गा र भवन सम्बन्धी दायित्व तथा बचतकर्ताहरूलाई थप रकम भुक्तानी गर्न सकिने योजनासहित प्रस्ताव माग गरेको हो। संस्थाको बक्यौता फरफारकका लागि लिलाम गरिएको सम्पत्तिमा विवाद उत्पन्न भएको थियो। समितिले ७ दिने अवधि तोकेर प्रस्ताव पेस गर्न भनेको हो।
उक्त सहकारीको कार्यालय रहेको जग्गा र भवन राष्ट्रिय सहकारी बैंक लिमिटेडले समितिसँग समन्वय र जानकारीविना लिलाम गरेपछि विवाद उत्पन्न भएको थियो।
समितिको कार्यालयका अनुसार लिलाम सकार गर्ने व्यक्तिले कानुनी उपचारका लागि उच्च अदालत पाटनमा परमादेश जारी गर्न माग गर्दै रिट दायर गरेपछि अदालतले समितिको पत्र कानुुनसम्मत रहेको भन्दै परमादेश जारी गर्नु नपर्ने र लिलाम सकार गर्ने व्यक्तिको मौलिक हक हनन नहुने गरी यथाशीघ्र समन्वय गरेर कानुनी निकास दिन आदेश दिएको छ।
उक्त लिलाम प्रक्रियामा ७ करोड ५० लाख रुपैयाँमा बोलकबोल भएको छ। साबिक काठमाडौं महानगरपालिका वडा नं. २९ मा कित्ता नं. २८४ को ०-५-१-१ क्षेत्रफल भएको जग्गा र भवन सम्बन्धी दायित्व तथा बचतकर्ताहरूलाई थप रकम भुक्तानी गर्न सकिने योजनासहित संस्थाका बचतकर्ता र पूर्व सञ्चालकहरूबाट एक साताभित्र प्रस्ताव पेस गर्न आह्वान गर्दै समितिले सार्वजनिक सूचना गरेको हो।
तोकिएको अवधिभित्र रीतपूर्वक प्रस्ताव नआएमा कानुन बमोजिम प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।









