काठमाडौं। इनर वेयरलाई मात्रै लक्षित गरेर इ-कमर्स कम्पनी जिमिसा आक्रामक रुपमा विस्तार भएको छ। नेपालमै पहिलोपटक महिलाहरुको इनर वेयर मात्रै बिक्री गर्ने उद्देश्यले जिमिसा सञ्चालन भइरहेको कम्पनीकी सीइओ सन्ध्या जयनाले जानकारी दिइन्।
कम्पनीको प्लाटफर्ममा भेन्डरहरुले विभिन्न ब्राण्डका इनर वेयर र अन्डर गार्मेट लिस्टिङ गर्न सक्ने बताइएको छ। स्थानीय बजारमा पाइने ब्राण्डदेखि विदेशी ब्राण्डहरुलाई समेत जिमिसामा राखिएको उनले जानकारी दिइन्।
अहिले जिमिसामा इनर गार्मेटको प्रसिद्ध भारतीय ब्राण्ड जिवामे पनि उपलब्ध छ। सरकारले २०७६ चैतमा गरेको लकडाउनपछि दर्ता गरेरै जिमिसा सञ्चालन भइरहेको छ। उनले एक वर्षभन्दा रिसर्च र भ्यालिडेसनमा समय खर्चिएको जानकारी दिइन्।
कम्पनीले थप ब्राण्डहरुलाई जिमिसामा समावेश गर्ने प्रक्रियालाई व्यापक बनाउँदै लैजाने रणनीतिका साथ अघि बढेको उनले बताइन्।
'इनर वेयर मात्रै पाइने इ-कमर्स खोल्ने इच्छा थियो। यसो रिसर्च गर्दा इनर वेयरमात्रै बेच्ने भनेर छुट्टै इ-कमर्स रहेनछ। अहिले पनि छैन नै होला। हामीले एउटै प्रोडक्टमा मात्रै फोकस गर्दै ग्राहकहरुको आवश्यकता बुझेर विस्तार गर्दैछौं,' जयनाले भनिन्,'सबै प्रोडक्ट एउटै ठाउँमा बेच्दा कुनै निश्चित प्रोडक्टमा मात्रै फोकस गर्न सकिँदैन भन्ने भयो। त्यसैकारण अन्डर गार्मेन्टलाई नै विस्तार गर्दै लैजाने हो।'
कम्पनीले केही अघिसम्म सेल्फ पिक अपको सुविधा दिएपनि अहिले भने हटाएको छ। जिमिसाबाट इनर वेयर र अन्डर गार्मेन्ट खरिद गर्ने संख्यात्मक हिसाबमा महिलाजस्तै पुरुषहरु पनि रहेको उनले जानकारी दिइन्।
'महिलाहरु मात्रै होइन पुरुषहरुले पनि हाम्रोबाट सामान खरिद गर्नुहुन्छ। पुरुषहरुलाई महिलाको अन्डर वेयर र इनर गार्मेन्ट किन्न केही असहज हुने गर्छ। विशेषगरी पुरुषले आफ्नो श्रीमती वा गर्लफ्रेन्डलाई उपहार दिन हाम्रो प्लाटफर्म रोज्नुभएको छ। जिमिसाबाट जो कोहीले पनि सहज र सरल तरिकाले यी प्रोडक्ट किन्न सक्नुहुन्छ,' जयनाले भनिन्।
कम्पनीले काठमाडौं उपत्यकासहित देशैभर आफ्नो प्रोडक्टहरु डेलिभरी गर्ने जनाएको छ। जिमिसामा सामान अर्डर गरेको २४ घण्टाभित्र र उपत्यका बाहिरको हकमा तीनेदेखि पाँच दिनभित्र डेलिभरी गरिने उनले जानकारी दिइन्।
उपभोक्ताहरुले जिमिसामा खरिद गर्ने सामानहरुको भुक्तानी फोनपे, इसेवा, खल्तीदेखि भिजा र मास्टरकार्डबाट गर्न सक्ने कम्पनीले जनाएको छ।










