काठमाडौं। नवलपरासीको वेनीमनिपुरमा संचालित होङसी सिमेन्टले कात्तिक मसान्तसम्म विद्युत पाउने भएको छ।नेपाल विद्युत प्राधिकरणले बर्दघाट – सर्दी १३२ केभी प्रसारणलाइन पुरा गरेर कात्तिकभित्र विद्युत दिन लागेको हो।
अन्तिम चरणमा निर्माण भैरहेको प्रसारणलाइन टावर निर्माणका क्रममा स्थानीयले अवरोध गरेका कारण रोकिएको थियो। अहिले विवाद मिलेर टावरको फाउण्डेसन राख्ने काम भैरहेको आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए।
'टावर बन्ने ठाउमा स्थानीय गोठ परेको थियो। गोठ भत्काएपछि हामीले टावरको फाउण्डेसन बनाएका छौ',उनले भने,'विवादित ठाउँमा समेत सहमति गरेर काम सुरु गर्न सफल भएका छौ।' बर्दघाट (नवलपरासी पश्चिम) देखि सर्दी (नवलपरासी पूर्व) १३२ केभी १९ किलोमिटर प्रसारणलाइन करिव ९७ प्रतिशत पुरा भएको छ।
आयोजनामा ६७ वटा टावरहरु रहेका छन्। ६० वटा टावरको काम सकिएको छ भने ७ वटा टावरमा निर्माणको काम भैरहेको छ। ९ किमी खण्डमा तार तान्ने काम समेत पुरा भैसकेको आयोजनाले जनाएको छ। पाण्डेका अनुसार सुरुमा विवाद भएको ठाउँमा पुन: समस्या आउन सक्ने भन्दै तार तान्ने काम भैसकेको छ।
अब ७ वटा टावर ठड्याउने र १० किमी तार तान्ने काम बाकी छ। रुख कटानको काम समेत बाँकी छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नवलपरासी नै पुगेर दुइ महिनामा उद्योगलाइ चाहिने विजुली उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए। सोही अनुसार काम गरिरहेको पाण्डेले बताए।
'उहाँहरुलाइ पनि विद्युत आउने भएपछि सिस्टम परिवर्तनको काम गर्ने र ट्रान्सफर्मर राख्न दुई महिना जति लाग्ने रहेछ,' उनले भने,'हामी पनि दुई महिना सबै का सकेर परीक्षण सक्ने योजनामा छौ।'
होङसीसँग ५७ मेगावाट विद्युत खपतका लागि सम्झौता भएको छ। होङसीले प्राधिकरणसँग ५७ मेगावाट विद्युत लिने गरि सम्झौता गरेको छ। पहिलो चरणमा ३० मेगावाट विद्युत लिने छ। होङसीले पूर्ण क्षमतामा उत्पादन थाल्न ८३ मेगावाट विद्युत खपत गर्ने अनुमान गरिएको छ। अक्टोबरदेखि दोस्रो चरणको काम सुरु गर्दैछ।
प्रसारणलाइन आयोजना २०७४ साल असोजमा २ बर्षमा सक्ने गरि आयोजना अघि बढाइएको थियो। तर रुख काट्ने स्वीकृति, मुआब्जा वितरण गरेर साइट क्लियर नै नगरि आयोजना अघि बढाएका कारण लामो समय कामै सुरु हुन सकेन।
करिव ३२ करोड रुपैयाँमा आयोजना पुरा गर्ने सहमति भएको थियो। ९७ प्रतिशत काम पुरा हुँदै शतप्रतिशत खर्च भैसकेको छ। यो मुडभरी जोशी जेभीले ठेक्का पाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसम्म विद्युत् पुर्याउने घोषणा अनुसार यो लाइन बनिरहेको हो । विद्युत नपुग्दा होङसीले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ ।
प्रसारणलाइनमा कुनै समस्या आए विकल्पका रुपमा भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङसी सिमेन्टलाई विद्युत आपूर्ति दिने समेत सोचिएको पाण्डेले बताए।
भरतपुर – बर्दघाट २२० केभी प्रसारणलाइन पनि अन्तिम चरणमा निर्माण भैरहेको छ। जसलाई १३२ केभीमा चार्ज गरेर होङसीलाइ विद्युत दिइने पाण्डेको भनाइ छ। 'हाम्रै आयोजना पुरा हुने अवस्था छ। कुनै समस्या आए विकल्पका रुपमा भरतपुर बर्दघाटलाइ हेरिएको हो,'उनले भने।










