काठमाडौं । साझा यातायातले ४० विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने भएको छ। साझाले करिब ६१ करोड रुपैयाँमा बस खरिदका लागि चिनियाँ कम्पनी सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेशनलाई छनौट गरेको हो।
साझा यातायातले चैत १३ गते ४० बस खरिदका लागि टेण्डर निकालेको थियो। जसमा नान्जिङ गोल्डेन डार्गन बस कर्पोरेशन लिमिटेड, विक्वी फोटोन मोटर कम्पनी लिमिटेड, झोङटोङ बस होल्डिङ कर्पोरेशन लिमिटेड, चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेशन, सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेशन, बिवाइडी अटो इन्ड्रष्ट्री कर्पोरेशन लिमिटेड, एन हुइ एनकाइ अटोमोबाइल कर्पोरेशन लिमिटेड, चेरी एण्ड वान्डा बस कर्पोरेशन लिमिटेड, झुनहाइ गाउनटोङ अटोमोबाइल कर्पोरेशन लिमिटेडले आवेदन दिएका थिए। जसमा सिएचटिसी उत्कृष्ठ ठहराउदै छनोट गरिएको हो।
'हामीले कम्पनी छनौट गरेका छौ। सम्झौता भने हुन बाँकी छ। दशैंअघि नै सम्झौता गर्ने गरी उनीहरुलाई बोलाएका छौ', साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले भने, '८ महिनामा ४० वटै बस ल्याउने गरी सहमति हुनेछ।'
तुलाधरका अनुसार सम्झौताको पहिलो चार महिनामा ३ वटा बस आइपुग्नेछ। उक्त बसहरु परीक्षणका रुपमा संचालन गरेपछि थप बसहरु ल्याउने सहमति हुनेछ। बसमात्रै नभइ त्यसका लागि आवश्यक चार्जर र ५ वर्षको मर्मतसम्भारको जिम्मा समेत कम्पनीले लिनुपर्नेछ।
'उसले टायर फेर्न परे फेर्छ। केही बिग्रिए बनाउनुपर्छ', उनले भने,'बस मात्रै नभइ हामीले त्यसका लागि आवश्यक प्राविधिक सेवा पनि उसैबाट लिन लागेका हौं।'
बस साढे ८ मिटर लम्बाइको हुनेछ। २६ सिटे बसमा ह्विल चियरसमेत राख्न मिल्नेछ। १६१ किलोवाट प्रतिघण्टा क्षमता भएका ब्याट्रीहरु बसमा प्रयोग गरेको हुनेछ। कम्पनीले ल्याउने ९० किलोवाटको चार्जरमा दुईवटा ४५/४५ किलोवाटका गन हुनेछ। जसले चार घण्टामा बस फुल चार्ज गर्न सक्छ। एक पटक फुल चार्ज गरेपछि २०० किमीसम्म कुद्ने क्षमता राख्छ।
बस चार्ज गर्नका लागि साझाको पुल्चोकस्थित कार्यालय प्रयोग गर्ने तयारी छ। 'चार्जका लागि पुल्चोकको हाम्रै कार्यालय प्रयोग गर्ने भन्ने छ। हामीले सरकारलाई पटकपटक अनुरोध गरिरहेका छौं', तुलाधरले भने,'चार्जर गन र इलेक्ट्रिक सामान उसैले उपलब्ध गराउने भएपनि ट्रान्सफर्मर राखेर विद्युत उपलब्ध गराउने जिम्मा विद्युत प्राधिकरणको हुन्छ। हामीले त्यसका लागि चाहिने सिभिल संरचना बनाउने हो।'
बस ल्याएर काठमाडौं उपत्यकाभित्रै संचालन गर्ने भनिएको भएपनि कहा संचालन गर्ने भन्ने रुट निर्धारण हुन सकेको छैन।
'अबको बसपार्क भनेको चार्जिङ स्टेशन हो'
तुलाधारले अबको बसपार्क चार्जिङ स्टेशन हुने दाबी गरे। 'अब विस्तारै हामी विद्युतीय बसमा परिवर्तन हुदै जानुपर्ने अवस्था छ। सरकारले पनि १० बर्षभित्र विद्युतीय सवारीसाधनमा परिवर्तन भइसक्ने घोषणा गरेको छ', उनले भने,'अब बालाजुको जस्तो बसपार्क बनाइरहनु पर्दैन। अबको बसपार्क भनेको चार्जिङ स्टेशन हो।
तर सरकारले विद्युतीय बस प्रवर्द्धन गर्ने भनेपनि छुट लगायतको कुनै विशेष व्यवस्था गर्न नसकेको व्यवसायीहरुले बताउँदै आएका छन्। भन्सार छुट लगायत बस खरिद गर्दा अनुदानको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ। भारतमा समेत विद्युतीय बस खरिद गर्दा सरकारले ५० लाख भारुसम्म अनुदान दिने गरेको छ।
कम्पनीले साझालाइ २० वटा चार्जिङ मेसिन उपलब्ध गराउन लागेको छ। त्यसका लागि कहाँकहाँ राख्ने भनेर छलफल भइरहेको तुलाधरले बताए।










