काठमाडौं। नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता विस्तार गर्ने निर्णयको नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)ले स्वागत गरेको छ।
पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ बैठकले सीमापार विद्युत् प्रसारण क्षमता विस्तार गर्ने महत्त्वपूर्ण निर्णय गरेपछि निक्कीले त्यसको स्वागत गरेको हो।
बैठकले ढल्केबार-मुजफ्फरपुर र ढल्केबार-सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत् निर्यात क्षमता १ हजार १०० मेगावाटबाट बढाएर १ हजार ६५० मेगावाट पुर्याउने निर्णय गरेको हो।
साथै, भारतबाट नेपालतर्फ विद्युत् आयात क्षमता पनि १ हजार मेगावाटबाट १ हजार ४०० मेगावाट पुर्याइने भएको छ। संघले यस निर्णयलाई नेपाल-भारत ऊर्जा सहकार्यको अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ।
संघका अनुसार प्रसारण क्षमता विस्तारसँगै नेपालको बढ्दो विद्युत् उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने अवसर थप फराकिलो हुनेछ। यसले जलविद्युत् क्षेत्रमा लगानी आकर्षित गर्नुका साथै दुवै देशबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई पनि थप मजबुत बनाउने विश्वास लिइएको छ।
इनरुवा-पूर्णिया, दोधोधरा-बरेली, मोतिहारी-निजगढ, चमेलिया-जौलजीबी र नयाँ बुटवल-गोरखपुर लगायत सीमापार प्रसारण लाइन आयोजनामा भएको प्रगतिलाई पनि संघले सकारात्मक रूपमा लिएको छ। यस्ता आयोजनाले नेपाल-भारतबीचको दीर्घकालीन ऊर्जा साझेदारीलाई बलियो बनाउनुका साथै दक्षिण एशियामा क्षेत्रीय विद्युत् बजार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने संघको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडबीच संयुक्त लगानी र सहकार्यमा अघि बढिरहेका प्रसारण परियोजनाले ऊर्जा क्षेत्रमा संस्थागत सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास पनि संघले व्यक्त गरेको छ।
संघले सरकार, सार्वजनिक संस्थान र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। यस्तो साझेदारीले ऊर्जा उत्पादन, प्रसारण पूर्वाधार विकास, सीमापार विद्युत् व्यापार, प्रविधि हस्तान्तरण र दीर्घकालीन लगानीलाई थप गति दिने उल्लेख गरिएको छ।
संघका अनुसार नेपालसँग प्रशस्त जलविद्युत् सम्भावना छ भने भारत स्वच्छ र नवीकरणीय ऊर्जाको विशाल बजारका रूपमा विकसित भइरहेको छ। पछिल्ला निर्णयले नेपालमा जलविद्युत्, प्रसारण पूर्वाधार र ऊर्जा-आधारित उद्योगमा दीर्घकालीन लगानीका लागि थप विश्वासको वातावरण सिर्जना गरेको छ।
संघले विद्युत् निर्यातसँगै आन्तरिक खपत विस्तारलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। भरपर्दो र किफायती विद्युतको उपलब्धताले उद्योग, डाटा सेन्टर, सूचना प्रविधिमा आधारित सेवा, विद्युतीय सवारी, रेल, हरित हाइड्रोजन तथा अन्य आधुनिक ऊर्जामा आधारित उद्योगको विकासमा टेवा पुग्ने संघको धारणा छ।
आन्तरिक खपत र विद्युत् निर्यात एकअर्काका पूरक उद्देश्य भएको उल्लेख गर्दै यसबाट नेपालको जलविद्युत् स्रोतको अधिकतम आर्थिक उपयोग हुने विश्वास व्यक्त गरिएको छ।
संघले भारतका सार्वजनिक तथा निजी क्षेत्रका कम्पनी, संस्थागत लगानीकर्ता र ऊर्जा विकासकर्तालाई नेपालको जलविद्युत्, प्रसारण पूर्वाधार र ऊर्जामा आधारित उद्योगमा थप लगानी गर्न पनि आग्रह गरेको छ। लगानीमैत्री र स्थिर नीतिगत वातावरण, समयमै प्रसारण पूर्वाधार निर्माण तथा दुवै सरकारबीचको निरन्तर समन्वयले आगामी वर्षहरूमा भारततर्फ नेपालको विद्युत् निर्यात उल्लेखनीय रूपमा बढ्ने विश्वास संघले व्यक्त गरेको छ।
नेपाल-भारत उद्योग वाणिज्य संघले नेपाल-भारत आर्थिक तथा ऊर्जा सहकार्यलाई अझ सुदृढ बनाउन आफ्नो निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्याउँदै जलविद्युत्, प्रसारण पूर्वाधार, नवीकरणीय ऊर्जा प्रविधि तथा ऊर्जामा आधारित उद्योगमा निजी क्षेत्रको सक्रिय सहभागिता बढाउन आवश्यक सहजीकरण गर्ने जनाएको छ।







