काठमाडौं। अघिल्लो आव २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा राजस्व संकलनको वृद्धिदर खुम्चिएको छ। अघिल्लो आवमा १०.४८ प्रतिशत रहेको राजस्व वृद्धिदर गत आवमा ५.६८ प्रतिशतमा सीमित भएको हो।
गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ८४.१३ प्रतिशत कुल राजस्व संकलन भएको छ। सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखे पनि आवको अन्तिम दिनसम्म १२ खर्ब ४५ अर्ब ७ करोड रुपैयाँ संकलन भएको हो।
जुन अघिल्लो आव २०८१/८२ को तुलनामा ५.६८ प्रतिशतलेमात्रै बढी हो। सरकारी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आवमा ११ खर्ब ७८ अर्ब संकलन भएको थियो। जुन आव २०८०/८१ को तुलनामा १०.४८ प्रतिशतको वृद्धि थियो। नेपालको पछिल्लो एक दशकको औसत राजस्व वृद्धिदर १२ प्रतिशत छ।
सरकारको तथ्यांकअनुसार गत आवमा बाँडबाँड गरिसकेपछि संघीय सरकारलाई २ खर्ब ४८ अर्ब ५८ करोड भ्याट प्राप्त भएको छ।
कर राजस्व ११ खर्ब २१ अर्ब अर्थात् लक्ष्यको ८४.५७ प्रतिशत संकलन भएको छ। अन्य राजस्व १ खर्ब २३ अर्ब संकलन भएको महालेखाको तथ्यांक छ। गत वर्ष सरकारले आयाततर्फ ४९ अर्ब अन्त:शुल्क संकलन गरेको छ।
सरकारलाई गत आवको लक्ष्यको ४०.४४ प्रतिशतमात्रै अनुदान प्राप्त भएको छ। ५३ अर्ब ४४ करोड अनुदान लिने लक्ष्य राखिए पनि २१ अर्ब ६१ करोडमात्रै प्राप्त भएको हो।







